यात्रामा उस्तै उस्तै दुरुस्तै म जस्ता मान्छेहरू भेटिन्छन्। रिङरोडको बसमा म पछाडिको सिटमा बसेका एक जना मेरै उमेरका मानिस आफ्नो छेउको अर्को मानिसलाई सुनाउँदै थिए- ‘समस्या छ पन्ध्र लाखको, खातामा छ पन्ध्र सय!’
यसो सम्झेँ, मेरो पनि यस्तै हालत त छ नि।
दिउँसो काठमाडौँबाट नेपालगन्ज आउने जहाजमा मेरो सिट छेउमा म जतिकै उमेरका व्यक्ति बसेका थिए। प्राय: अहिलेका मानिसहरू आफ्नो छेउछाउ बसेको मानिसलाई बिलकुल बेवास्ता गर्छन्। धेरै लामा छोटा यात्राहरूमा मैले यो कुरा अनुभव गरेको छु। तर उनी फरक निस्किए।
उनले मेरो घर सोधे, पेसा सोधे। मैले जवाफ फर्काएँ र उनलाई पनि सोधेँ। उनको घर पश्चिम रहेछ। भारतमा रोजगारी गर्दा रहेछन्। छोरालाई स्टुडेन्ट भिसामा जापान पठाएर आफू घर फर्किँदै रहेछन्। अचेलका केटाकेटी देशमा बस्नै मान्दैनन्। उनले गुनासो पोखे। मेरो पनि त्यस्तै त हो नि। गइसकेका त छैनन्। जाने चाहाना प्रबल छ।
उनको अनुहारमा त्यति प्रफुल्लता थिएन। सायद आफूले सानैदेखि हुर्काएको बच्चा ठुलो भएर देशै छोडी जाँदा उनलाई नरमाइलो लागेको होला। आफूले विदेशमा बसेर गरेको दुःख र पाएको हन्डरले उनी बेचैन बनेका होलान्। तर गर्न नै के सकिने हो र! केटाकेटीहरूको बढ्दो आवश्यकता र आकांक्षा बा-आमाको मायाले मात्र पूरा नहुने!
देशमा विकास त नभएको होइन। पहिलेको तुलनामा भएकै छ। जहाजहरू यात्रुले भरिभराउ नै छन्। देशको ठाउँ-ठाउँमा हवाई मैदान छन्। छिनभरमै मानिसहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण जता पनि पुग्न सक्छन्। सडक सञ्जाल पनि जोडिएकै छन्। पहिले घोडा खच्चड हिँड्ने बाटाहरू कालोपत्रे भएका छन्।
हिलै हिलोले डुब्ने बसपार्कहरू हवाई मैदानझैँ चिल्ला कालोपत्रे र सफा सुन्दर छन्। मानिसहरूको लवाई खुवाई पनि बदलिएकै छ। समग्रमा जीवनस्तर उठेकै मान्नु पर्छ। बिस पच्चिस वर्ष अगाडि हिँडेका बाटाहरू, पुगेका सहरहरू, बसपार्कहरू अवश्य बदलिएका छन्।
धपधपी बल्ने गर्मी बिचमा धम्बोजी चोकबाट सुर्खेत जाने विद्युतीय गाडी चढेँ। गाडी पुरै खाली थियो। उसको हातमा खालि चलानी कागज थियो। ढोकामा झुन्डिएका सह-चालकले गाडीको ढोकामा ड्याम-ड्याम हान्दै चर्को स्वरमा बाटोमा हिँडिरहेका मानिसहरू तिर फर्केर तीन/चार पटक सुर्खेत सुर्खेत भनेर करायो। तर यात्रु कोही थपिएन।
हिँड्दा हिँड्दै ड्राइभरले सह-चालकलाई बाटोमा कोही मान्छे देखिने बित्तिकै सोध है सोध भनिरह्यो। खलासीले सोधिरह्यो। ड्राइभर हँसिलो र फरासिलो रहेछ। मसँग फलानो ठाउँमा यति जना मान्छे भेटेँ, यसरी लगेँ भनेर गफ गरिरहेको थियो। नभन्दै कारकाँदो चोकमा चार जना मान्छे झोला बोकेर उभिएका थिए। उनीहरू गाडीमा चढे। कोहलपुर पुग्दा नपुग्दै बाह्र/तेह्र सिटे विद्युतीय गाडी भरिसकेको थियो।
धेरै वर्ष अगाडि गाडी चढ्दा सार्वजनिक यातायातको मलाई तितो अनुभवहरू छन्। डिजेल गाडिएको नमिठो गन्ध। चुरोट, गुट्खा र मदिरा खाने यात्रीहरूको थप गन्ध त्यसैमा कतिपय सँगै सिटमा बसेको यात्रीलाई बान्ता भइदिँदा आफूलाई पनि उकउक भएको अनुभव छ। त्यसैले पनि म छोटो दूरीका यात्राहरू प्राय: बाइकबाट तय गर्छु। मलाई पनि डिजेल गाडी चढ्दा कहिलेकाहीँ बान्ता हुने समस्या छ।
झन्डै बिस वर्ष अगाडि नेपालगन्जबाट सुर्खेत आउने बस चढ्दा फलामको सिटमा पातलो सिट कभर भएको, अगाडिको सिटमा घुँडा ठोकिने अनि छेउको सिसाको झ्याल चर्केको र जति गरे पनि खुल्दै नखुल्ने खालको थियो। चैत्र महिनाको हपहपी गर्मी एक छिन गाडी रोकिँदा पनि खलखली पसिनाले निथ्रुक्क बनाएको थियो। यस्तोमा पनि यात्रुहरूको ठेलमठेल र कोचाकोच हुन्थ्यो। कतिपय ठाउँमा साँघुरो कच्ची सडक, थोत्रा गाडीहरू बग्रेल्ती हुन्थे। हिलै हिलोमा गाडिएका बसपार्कमा मैला झोला र पोका पन्तरा बोकेका यात्रुहरू बस कुरिरहेका हुन्थे।
तर यसपालि भने धेरै फरक महसुस गरेँ। समय बदलिएछ। गाडीहरू बदलिएछन्। सडकहरू बदलिएछन्। बसपार्कहरू पक्की कालोपत्रे भएछन्। यात्रुहरू पनि बदलिएछन्।
डिजेल गाडिएको स्थान विद्युतीय गाडीले लिएछ। बस्ने आरामदायी सिट भएको एसी गाडी झन्डै स्कार्पियो जतिकै सुविधायुक्त छ। चुकुल लगाउनु पर्ने फलामे ढोकाको ठाउँमा अटोलक सिस्टम अनि हातले यता र उता जबरजस्ती सिसा धकेल्नु पर्ने झ्यालको ठाउँमा बटन थिचेर सिसा तलमाथि गर्न मिल्छ।
आखिर समयसँगै सबै परिवर्तन हुँदै जाने न रहेछ। सडक, गाडी र मानिसहरू पनि परिवर्तन हुने रहेछन्।
बाटोमा ठाउँ ठाउँमा ट्राफिकको चेकिङ थियो। सडक छेउ लस्करै लगाएर बाइक र स्कुटर चेकिङ हुँदै थिए। तर लामो दूरीका गाडीहरू सरासर हुइँकिरहेका थिए।
‘कहिलेकाहीँ त हाम्रो गाडी पनि चेकिङ हुन्छ,’ छेउको ड्राइभर बोल्यो।
‘सबै डकुमेन्ट छँदै छ नि,’ पछाडि बसेको सहचालकले जवाफ फर्कायो।
‘कहिलेकाहीँ त्यतिकै दुःख दिन्छन्,’ ड्राइभर भुनभुनायो।
बाटोमा अघिल्ला यात्रुका विभिन्न कहानी ड्राइभरले सुनायो। एक पटक एक जना भारत जाने युवाले नागरिकता सहितको झोला आफ्नो गाडीमा बिर्सिएर लिन नआउँदा उसले प्रहरी चौकीमा झोला बुझाएको देखि उसको गाडीमा एक जना यात्रुले तेलको पेटी बिर्सिँदा तीन दिनपछि लिन आएको कुरा सुनायो। यस्तो समस्याबाट छुटकारा पाउन उसले समितिहरूले नाम नम्बरसहित यात्रुको विवरण राख्न पर्ने सुझाव समेत दियो।
वर्षाको मौसम छ। हरिया डाँडाकाँडाहरू बिचमा पानीले सफा पारेको कालोपत्रे नागबेली सडक छ। गाडीमा मिठो लोकगीत बजिरहेको छ। छिञ्चु नजिक नजिक आइपुग्दा छिञ्चुकै नाम प्रयोग भएको गीत बजिरहेथ्यो।
ड्राइभरले गीत बदल्यो। गीत अलि भावुक बनाउने खालको थियो। गाडीको पछाडि बसेका बूढा मानिस बोले- ‘ए बाबु, घर जाने बेला रुँदै जाने नबनाऊ न! अलि रमाइलो गीत बजाऊ!’
आखिर रमाइलो त सबैलाई मन पर्दो रहेछ!