सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले विजयी सुरूवात गरेको छ।
सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २-१ गोलले पराजित गरेको हो।
मच्छिन्द्रको जितमा दुवै गोल सुनील बलले गरे। उनले खेलको १२ मिनेटमा पहिलो गोल गरेका थिए।
पहिलो हाफमा १-० गोलले पछि परेको एनआरटीले ५४ मिनेटमा बराबरी गोल गर्न सफल भयो।
उसका लागि एरिक विष्टले फ्रिकिकमार्फत बराबरी गोल फर्काएका थिए। करिब ३० यार्ड टाढाबाट उनले हानेको फ्रिकिकले सिधै जाली चुमेको थियो।
८० मिनेटमा मच्छिन्द्रले दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि मच्छिन्द्रका लागि सुनीलले गोल गरे।
उनले सब्सिच्युट खेलाडी विमल घर्तीमगरको पासमा उत्कृष्ट गोल गरेका थिए।
योसँगै जारी लिगको पहिलो चरणका खेल सकिएका छन्।
खेलपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले तीन अंक प्राप्त गर्न सकेकोमा खुसी व्यक्त गरे।