प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न लागेका नेपाली महिला फुटबल टोलीलाई जीतको शुभकामना दिएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा उज्वेकिस्तानविरूद्धको खेलमा जीतका लागि उनले शुभकामना दिएका हुन्। नेपाली खेलाडीहरू उज्वेकिस्तानबाट भर्चुअल माध्यमबाट जोडिएका थिए।
‘हेल्लो! साम्बा एन्ड टिम विस यु अल द बेस्ट,’ प्रधानमन्त्री ओलीले भनेका थिए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबाट संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि भर्चुअल रूपमा नेपालबाट जोडिएका थिए।
नेपालले श्रीलंकालाई ८ गोल गरी फाइनलमा प्रवेश गरेको थियो।
‘देशको गौरव बढाउन तपाईंहरूले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु। नेपाली महिला फुटबलको ४० वर्षे संघर्षपूर्ण इतिहासमा अर्काे स्वर्णिम नतिजा प्राप्त हुनेछ। तपाईंहरूमा जितको मनोबल देखिएको छ। तपाईंहरुले जित्नैपर्छ। हामी जित्नेछौं। यसलाई हामीले टर्निङ पोइन्टका रुपमा लिनेछौं,’ उनले भने।
उज्वेकिस्तानको तास्केन्तमा शनिबार राति ९:१५ बजे नेपाल र उज्वेकिस्तान आमनेसामने हुँदैछन्। उज्वेकिस्तानको तास्केन्तमा शनिबार राति ९:१५ बजे नेपाल र उज्वेकिस्तान आमनेसामने हुँदैछन्।