सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले ऐतिहासिक जित हात पारेको छ।
नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा पहिलो जित हात पार्ने क्रममा शुक्रबार थ्रीस्टार क्लबलाई पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले थ्रीस्टार क्लबलाई १-० गोलले पराजित गरेको हो।
सातदोबाटोको जितमा सुदीप गुरुङले गरेको गोल निर्णायक बन्यो। उनले खेलको २९ मिनेटमा गोल गरेका थिए। डिबक्स बाहिरबाट उनले हानेको प्रहारले सिधै गोलपोस्टको दिशा लियो।
लिगमा पहिलो जित हात पारेपछि सातदोबाटोका प्रशिक्षक मेघराज केसी सन्तुष्ट देखिए। फिनिसिङमा अझ सुधार ल्याउनु पर्ने केसीको भनाइ छ।
यता थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले मिडफिल्डर हेमन्त थापामगर डाइरिया भएका कारण पहिलो रोजाइमा खेल्न नपाएकोमा खेलमा असर गरेको बताए। साथै थ्रीस्टारले बल होल्ड गर्न नसकेकाले हार बेहोरेको बताए।
जितसँगै सातदोबाटोले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा सातदोबाटोले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेलेको थियो। पहिलो खेलमा च्यासललाई ३-० ले हराएको थ्रीस्टारले भने पहिलो हार बेहोरेको हो।