स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड रेलिगेसनको खतरामा रहेको काडिजसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
कोरोना संक्रमणका कारण रियल रोजाईका ६ जना खेलाडीविनै खेलेको थियो। लुका मोड्रिच, रोड्रिगो, मार्काे असेन्सियो, मार्सेलो, आन्द्रेय लुनिन र ग्यारेथ बेल काडिजविरुद्धको खेलमा अनुपस्थित थिए।
खेलभर काडिजमाथि दबाब जमाएको रियलले तीन दर्जन पोस्ट् प्रहार गरेको थियो। ८२ प्रतिशत बल पोसेसन राखेको रियलले गोल गर्न भने सकेन। रक्षात्मक खेल खेलेको काडिज आफ्नो रणनितिमा सफल भयो।
बराबरीसँगै शीर्षस्थानमा रहेको रियलले १८ खेलबाट ४३ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको सेभियाको ३७ अंक छ। सेभियाले एक खेल कम खेलेको छ। रियललाई रोकेको काडिज १४ अंक सहित १९औं स्थानमा छ।
आइतबार रातिनै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले तेस्रो स्थानमा रहेको रियल बेटिसलाई ३–२ गोलले स्तब्ध बनायो।
जितसँगै बिल्बाओ नवौं स्थानमा उक्लिएको छ। बिल्बाओले १८ खेलबाट २४ अंक बनाएको छ। ३३ अंक बनाएको रियल बेटिस तेस्रो स्थानमा यथावत छ। अर्को खेलमा ग्रानाडाले मालोर्कालाई ४–१ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरेको छ।