अर्जेन्टाइन सुपरस्टार लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) मा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।
मेसीले लगातार पाँचौं खेलमा एकभन्दा बढी गोल गर्दै कीर्तिमानलाई थप बलियो बनाएका छन्। यसअघि उनले लगातार चार खेलमा एक गोलभन्दा बढी गोल गरेर कीर्तिमान बनाएको थिए।
पछिल्लो खेलमा मेसीले अर्को 'डबल' (दुई गोल) गरेपछि इन्टर मायामीले न्यासभिललाई २-१ गोल अन्तरले पराजित गर्यो।्
अर्जेन्टिनाका विश्वविजेता फरवार्ड मेसीले खेलको पहिलो र दोस्रो हाफमा एक-एक गोल गरे।
खेलको १७ औं मिनेटमा मेसीले सटिक फ्रि-किक मार्फत गोलको खाता खोलेका थिए।
दोस्रो हाफको सुरुवातमै विपक्षी टोलीका लागि हानी मुख्तारले गोल गर्दै खेल बराबरीमा ल्याए। तर, खेलको ६२ औं मिनेटमा मेसीले आफ्नो जादु फेरि देखाए। उनले न्यासभिलका गोलकिपर जो विलिसले फुस्काएको पासलाई बीचमै खोसेर गोल गरे। जुन गोल खेलको निर्णायक गोल बन्यो।
योसँगै उनी १६ खेलमा १६ गोल गर्दै एमएलए को सर्वाधिक गोलकर्ताको सूचीमा न्यासभिलकै साम सरिजसँग बराबरीमा छन्।
मेसीले कीर्तिमानी बनाउने क्रममा पाँचै खेलमा दुई-दुई गोल गरेका हुन्। यो यात्रा मे महिनामा मोन्ट्रियल र कोलम्बसविरुद्धको जितबाट सुरु भएको थियो। त्यसपछि क्लब विश्वकपमा सहभागी भएर एमएलएसमा फर्किएपछि उनले फेरि मोन्ट्रियल, न्यु इंग्ल्यान्ड रिभोलुसन र अहिले न्यासभिलविरुद्ध लगातार 'डबल' गोल गर्दै आफ्नो कीर्तिमानी यात्रा पूरा गरेका हुन्।
यो जितसँगै मायामी पूर्वी क्षेत्रको अंक तालिकाको स्थानमा यथावत् छ। तर, अब उसले शीर्ष स्थानमा रहेको फिलाडेल्फियासँगको अंक दूरी मात्र ५ अंकमा झारेको छ। यद्यपी मायामीले तीन खेल कम पनि खेलेको छ।