ए डिभिजन लिग नियमित हुनु पर्छ भन्दै हामीले सडक आन्दोलन सुरु गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्ताका लागि हामीलाई आह्वान गर्नुभयो।
वार्ताका लागि आह्वान गर्नु सकारात्मक पक्ष हो भनेर हामी एन्फा आयौं। सम्पूर्ण खेलाडीको समस्याको सम्बोधन हुन्छ र त्यसको सार्वजनिक रूपमा सबैले सुन्नुपर्छ, बुझ्न पाउनुपर्छ भन्ने हाम्रो कुरा थियो।
त्यसैले हामीले प्रत्यक्ष प्रसारण गर्न उहाँहरूलाई आग्रह पनि गरेका थियौं। तर उहाँहरूबाट प्रत्यक्ष प्रसारण नहुने कुरा आयो। त्यसैले हामीले वार्ता सम्भव छैन भनेका छौं।
एन्फा महासचिवले प्रत्यक्ष प्रसारण नगरी कुरा गरौं, छलफल गरौं भन्नुभएको थियो। तर हामी सबैलाई प्रत्यक्ष नदेखाई वार्तामा बस्न सक्दैनौं।
किनभने सबै सरोकारवालालाई हामीले के गर्न खोजिरहेका छौं, किन गर्न खोजिरहेका छौं, हाम्रो वास्तविक कुरा के हो र यहाँको वस्तुस्थिति के हो भन्ने कुरा बुझ्ने अधिकार हुन्छ।
यो अब मुद्दा खेलाडीको मात्र नभई सार्वजनिक सरोकारको मुद्दा भइसकेको छ। यो मुद्दालाई पूर्ण रूपमा हामीले सबैलाई बुझाउनुपर्छ भनेर प्रत्यक्ष प्रसारण मागेका हौं।
प्रत्यक्ष प्रसारण नगर्ने विषयमा विस्तृत जानकारी एन्फाले दिनुभएन। तर हामी गर्न सक्दैनौं मात्र भन्नुभयो।
संस्थागत कुरा नै हामी संस्थागत रूपमा नै गरौं, प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने उहाँहरूले आग्रह गर्नुभयो। त्यो कुरालाई हामीले स्वीकार गरेनौं। हामी च प्रत्यक्ष प्रसारण नै हुनुपर्छ, नत्र भने यो वार्ता सम्भव छैन भन्ने कुरामा अडिक छौं।
हामीलाई पारदर्शिता चाहियो, यो पहिलो हाम्रो माग हो। हामीले जस्तो जुन मुद्दामा उठिरहेका छौं र आवाज उठाइरहेका छौं, त्यो मुद्दा सबैको हो। हाम्रो वास्तविक कुरा के हो भन्ने कुरा देखाउनुपर्ने हुन्छ। हामीसँग छलफल गर्नु भनेको त फुटबलमा केही न केही समस्या भएर उहाँहरूले लिग गर्न सक्नुभएको छैन भन्ने होला नि।
सम्पूर्ण स्टेकहोल्डर लगायत सबैले उहाँका र हाम्रा खास कुरा के हुन भन्ने थाहा पाउनुपर्छ। बन्द कोठामा बसेर जुनसुकै किसिमको सम्झौता हुन सक्छ, त्यो सम्झौतालाई सबैले नमान्न पनि सक्नुहुन्छ।
पूर्ण रूपमा निष्पक्ष छौं, हामी सही छौं भन्ने कुरा छ भने किन लुकाउनु पर्यो? त्यो कुराहरू सबैलाई थाहा पाउनुपर्छ भनेर हामीले माग गरेका छौं।
घरेलु फुटबल विगत लामो समयदेखि चलायमान छैन। साढे दुई वर्षदेखि टप टायरका लिग सञ्चालन हुन सकिरहेको छैन। तीन वर्षमा एउटा मात्र लिग भएको छ।
यो कुराले गर्दा प्रत्यक्ष रूपमा खेलाडी नै घाटामा छन्। खेलाडीलाई व्यक्तिगत रूपमा मात्र नभई प्रदर्शनको कुरामा पनि घाटा छ। नतिजाको बेफाइदा राष्ट्रिय टोलीलाई छ।
यो कुराहरू गलत हुन्। २०-२२ वर्षदेखि नै गतल कुरा हुँदा हामीले बेथिति भोगिरहेका छौं।
प्रतियोगिता निरन्तर रूपमा हुनुपर्छ। प्रतियोगिता यो-यो कारणले हुन सक्छ भन्ने कुराहरूको हामीले डाटा नै बनाएर छौं। ती तथ्य उहाँहरूसँग आज छलफल राख्ने र तपाईंले यो गर्नुपर्छ भनेर पहल गर्ने हाम्रो उद्देश्य थियो। प्रतियोगिताहरू तपाईंले गर्न सक्नुभएको छैन, यसरी गर्नुस् भन्ने कुरा हामीले छलफलमा राख्ने योजना बनाएका थियौं। हामीले हाम्रा कुरा अहिले एन्फामा दर्ता गरेका छौं। आशा थियो यो कुरा प्रत्यक्ष प्रसारण हुन्छ। हामीले दर्ता गरेको कुराले पनि काम गर्छ भन्ने हाम्रो आशा थियो।
उहाँहरूले जुन किसिमले हामीलाई वार्ता बोलाउनुभयो, त्यो आग्रहलाई हामीले सम्मान गरेका हौं। हामी यस्ता कुरामा विचलित हुँदैनौं। हाम्रो उपस्थितिको लागि पनि यहाँ आएका हौं।
हाम्रो बटम लाइन भनेको घरेलु फुटबलमा निरन्तरता हुनुपर्छ, चाँडोभन्दा चाँडो हुनुपर्छ भन्ने हो। त्यो बाहेक त्यसको विकल्प केही पनि छैन। र यो विकल्पको लागि उहाँहरू तयार हुनुपर्छ।
हाम्रो सडक संघर्षको कार्य निरन्तर नै भइरहन्छ। जबसम्म यो कुराले न्याय पाउँदैन, तबसम्म हामी संघर्ष गर्न कहिले पनि पछि हट्ने छैनौं र हाम्रो कार्यक्रम पहिले नै तय भइसकेको छ।
संस्थाका कतिपय कुरा गोप्य हुन्छन्। तर जुन मुद्दा लिएर हामी आज छलफलमा आएका थियौं, त्यो मुद्दा गोप्य राख्नुपर्ने कुरा छ जस्तो मलाई लाग्दैन। किनभने यो पूर्ण रूपमा प्रतियोगिताका कुरा हुन्। प्रतियोगिता किन भएन भन्ने कुरा जान्ने अधिकार सबैमा रहन्छ। यति सानो कुरामा पनि लुकाइराख्नुपर्ने कुरा होइन। मन्त्रालयकै कुरालाई नमान्ने भन्ने कुरा चाहिँ अब निन्दनीय हो।
खेलाडीले खेल्ने नै हो, त्यसको लागि हामी तयार छौं। तर अभिभावक संस्था एन्फा भइसकेपछि एन्फाले यसलाई कुनै न कुनै रूपमा मिलाउन सक्नुपर्थ्यो। आफ्नो संस्थाभित्रका सदस्यहरूलाई एक ठाउँमा ल्याउन सकिँदैन भने कुनै पनि वर्गलाई न्याय गर्छ जस्तो मलाई लाग्दैन।
साधारणसभाले तोकेको प्रतियोगिता समयमा सक्दिन भन्नुहुन्छ, सायद उहाँहरूको कमजोरी पनि हो।
त्यसलाई उहाँहरूले स्वीकार्नुपर्छ। र प्रतियोगिता गर्ने वातावरणमा सक्ने भन्दा चाँडो लाग्नुपर्छ जस्तो लाग्छ। लिग नहुँदा कुनै पनि खेलाडीले पहिलो कुरा त आर्थिक समस्या भोग्नुपर्छ। ११ सयभन्दा बढी खेलाडीले ए डिभिजन लिग खेल्न पाउँछन्। बी र सी को गर्दा झन्डै १,८०० देखि २,२०० जना खेलाडी खेल्न पाउँछन्।
यी खेलाडीहरू यत्रो लामो समयदेखि बेरोजगार रहने भए। १४ महिना पछाडि जाँदा चार वर्षजस्तै खेलाडीहरू बेरोजगारअवस्थामा रहने भए। यो एकदमै जटिल कुरा हो।
विगतमा लामो समयदेखि हामी खेलाडीहरूले तथा अग्रज दाइहरूले पनि भोगिराख्नुभएको समस्या हो। यो जटिल कुरालाई हामीले उजागर गर्न खोजेका छौं र यो यस्तो हुनु हुँदैन भन्ने कुरा हो।
प्रदर्शनमा पनि खेलाडीलाई घाटा छ। सी डिभिजन खेलेकोले बी, बी खेलेकोले ए, अनि ए खेलेकोले राष्ट्रिय टोलीमा स्थान बनाउने इच्छा हुन्छ। राष्ट्रिय टोलीमा स्थान बनाइसकेपछि पनि अन्तर्राष्ट्रिय खेलमा प्रदर्शन गर्ने कुरा हुन्छ। त्यो कुरा फुटबल चलायमान नहुँदा सम्भव छैन। नतिजा हिसाबमा हेर्ने हो भने यसको घाटा राष्ट्रिय टोलीलाई नै हो। फुटबल खेलाडी मात्र नभई फुटबल प्रतियोगितामा जोडिएका व्यक्तिका रोजगारीदेखि लिएर विभिन्न कुरामा अप्ठ्यारो हुन्छ। शीर्ष डिभिजन लिगबाट समस्या भयो भने अरू लिग झन् असम्भव जस्तै हुन्छ।
- नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्रकारहरूसँग व्यक्त गरेको धारणा। यो वर्ष ए डिभिजन लिग नहुने भएपछि सडक आन्दोनलमा उत्रिएको खेलाडी संघलाई एन्फाले सोमबार वार्तामा बोलाएको थियो। तर उक्त वार्ता प्रत्यक्ष प्रसारण गर्नु पर्ने खेलाडी संघले माग राखेको थियो। एन्फा प्रत्यक्ष प्रसारण गर्न तयार नभएपछि सोमबार वार्ता हुन सकेन।