बुकायो साकाको निर्णायक गोलको मद्दतले एथलेटिको मड्रिडलाई समग्रमा २-१ ले हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। आर्सनल २० वर्षपछि पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगेको हो।
गत सिजन सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनसँग पराजित भई बाहिरिएको आर्सनलले यसपटक भने त्यस्तो हुन दिएन। आर्सनल अब प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै उपाधि एकैसाथ जित्ने सम्भावना कायमै राखेको छ।
पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएकाले मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेल निकै तनावपूर्ण थियो। खेलको ४४औं मिनेटमा लियान्द्रो ट्रोसार्डको प्रहारलाई एथलेटिकोका गोलकिपर जान ओब्लाकले रोक्ने प्रयास गरे पनि फर्किएको बललाई बुकायो साकाले गोलमा परिणत गरे। यस गोलमा नयाँ खेलाडी भिक्टर ग्योकेरेसको पनि राम्रो भूमिका थियो।
एथलेटिको मड्रिडले गोल गर्ने केही अवसर पाएको थियो। पहिलो हाफमा जुलियानो सिमियोनको प्रहारलाई डेक्लान राइसले उत्कृष्ट ढंगले रोके भने दोस्रो हाफमा गोलकिपरलाई छक्याएर गोल गर्नै लाग्दा डिफेन्डर ग्याब्रियलले बचाउ गरे।
खेलको अन्त्यतिर आर्सनलका ग्योकेरेसले गोल गर्ने सुनौलो मौका गुमाएका थिए, तर त्यसले टोलीको जितमा कुनै असर पारेन। आर्सनलले सन् २००६ मा बार्सिलोनासँग फाइनल हारेयता पहिलो पटक फाइनलको यात्रा तय गरेको हो।
आर्सनलले अब मे ३० मा हंगेरीको बुडापेस्टमा हुने फाइनल खेलमा बायर्न म्युनिख वा पीएसजी मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आर्सनललाई पहिलो पटक च्याम्पियन्स लिगको ट्रफी जित्ने ऐतिहासिक अवसर छ।
आर्सनल अहिले प्रिमियर लिगको पनि शीर्ष स्थानमा छ। यस सिजन टोलीले युरोपमा निकै सन्तुलित खेल पस्किएको छ। प्रशिक्षक आर्टेटाले १९ वर्षीय युवा खेलाडी माइल्स लुइस-स्केलीलाई मैदानमा उतार्ने साहसी निर्णय गरेका थिए, जसले उत्कृष्ट खेल देखाए। त्यस्तै डिफेन्डर बेन ह्वाइट र फरवार्ड ग्योकेरेसको प्रदर्शन पनि तारिफयोग्य रह्यो।
एथलेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनका लागि यो हार दुःखद रह्यो। उनका छोरा जुलियानोले गोल गर्ने राम्रा अवसरहरू पाए पनि सफल हुन सकेनन्। सिमियोनले एथलेटिकोलाई अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि दिलाउन सकेका छैनन्। अब उनको ध्यान अर्को सिजनका लागि छनोट हुनेतर्फ केन्द्रित हुनेछ।
आर्सनल अहिले आफ्नो इतिहासकै उत्कृष्ट लयमा देखिएको छ। २२ वर्षपछि लिगको उपाधि र पहिलो पटक च्याम्पियन्स लिग जित्ने सपनाबाट आर्सनल अब मात्र ४ खेल टाढा छ।