PLAYERS TO WATCH
फुटबलका हरेक प्रतियोगितामा सधैं एउटा नयाँ स्टारको खोजी भइरहन्छ।
राम्रो खेल्ने हरेक खेलाडीलाई ब्राजिलका पेले वा अर्जेन्टिनाका म्याराडोनासँग दाँज्ने काम संसारका हरेक फुटबलप्रेमीले गर्दै आएका छन्।
त्यसमाथि दुई दशकदेखि लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले फुटबल मैदानमा राज नै गरे। उनीहरूले मैदानमा आफ्नो खुट्टाको जादू देखाइरहँदा अब यी दुई जस्तो खेल्ने खेलाडी को होलान् भन्ने प्रश्न उठिरहन्थ्यो। यो प्रश्न धेरैका मनमा अहिले पनि छँदैछ।
मैदानमा कोही युवा खेलाडीले अलिकति राम्रो खेल्यो कि मिडिया र फ्यानहरूले तुरुन्तै 'अर्को मेसी' भन्दै दबाब दिइहाल्थे। धेरैजसो खेलाडी त यही दबाब खप्न नसकेर मैदानबाट हराए पनि।
तर स्पेनको साँघुरो गल्लीबाट अहिले एक यस्ता युवा खेलाडी निस्केका छन्, जसले मैदानमा बल नचाएको देखेर धेरैलाई भन्न कर लाग्छ — हो, यिनी हुन सक्छन् भविष्यका मेसी!
बिना कुनै दबाब मैदानमा ओर्लिने र कुशल जादूगरले जस्तो बल नचाउने यी १८ वर्षीय युवा खेलाडी हुन् — लमिन यमाल।
यही जुन-जुलाईमा हुने २०२६ फिफा विश्वकपमा स्पेनबाट खेल्न गइरहेका यमाललाई मेसीसँग दाँजिनुको एउटा कारण यो पनि हो, उनले बार्सिलोनामा मेसीले जस्तै १० नम्बर जर्सी लगाएर तहल्का मच्चाएका छन्।
त्यसबाहेक स्पेनलाई युरो कप जिताउन महत्त्वपूर्ण भूमिका पनि खेलिसकेका छन्।
त्यसैले यसपालि फिफा वर्ल्डकपमा विश्वकै नजर उनीतिर टिकेको छ।
यमालको कथा बुझ्न सन् २००७ को एउटा पुरानो तस्बिर हेर्नुपर्छ। त्यो तस्बिरलाई अहिले फुटबल इतिहासकै गज्जबको संयोग मानिएको छ।
तस्बिरमा लामो कपाल पालेका २० वर्षका मेसीले एउटा सानो बच्चालाई प्लास्टिकको बाथटबमा नुहाइदिइरहेका देखिन्छन्।
त्यो बच्चा अरू कोही नभएर तीन महिनाका यमाल हुन्।
एउटा च्यारिटी क्यालेन्डरका लागि खिचिएको यो तस्बिरलाई वर्षौंसम्म कसैले वास्ता गरेनन्। तर जब यमालका बुबाले त्यसलाई सामाजिक सञ्जालमा हाले, तब संसार अचम्ममा पर्यो।
फुटबलप्रेमीहरूले जिस्किँदै भने, 'मेसीले उति बेलै यमाललाई आफ्नो जादुको आशीर्वाद दिएका रहेछन्।'

तर यमालको यो यात्रा त्यति सजिलो थिएन।
उनी स्पेनको 'रोकाफोन्डा' भन्ने ठाउँमा जन्मे-हुर्केका हुन्। त्यो यस्तो ठाउँ हो, जहाँ धेरैजसो गरिब र आप्रवासीहरू बस्छन्। यो ठाउँलाई स्पेनको धनी समाजले त्यति राम्रो नजरले हेर्दैनथ्यो।
रोकाफोन्डाको त्यही गरिब बस्तीमा जन्मे-हुर्केर आज दुनियाँको नजरमा परेका भए पनि यमालले आफ्नो जरा कहिल्यै बिर्सेनन्। अहिले पनि उनी गोल गरेपछि आफ्ना औंलाहरूबाट '३०४' नम्बर बनाउँछन्, जुन रोकामन्डाको हुलाक कोडको अन्तिम तीन अंक हो।
उनी भन्छन्, 'म आज जतिसुकै ठूलो रंगशालामा खेले पनि, मेरो फुटबलको जग त्यही कंक्रिटको भुइँ र गल्लीहरू नै हुन्।'
पिछडिएको ठाउँबाट आए पनि यमालले सफलताको सिँढी उक्लिन भने लामो समय लागेन। उनले सिधै रकेटजस्तै उडेर सफलताको शिखर चुमेका हुन्। त्यही रकेट गतिलाई हेरेर नै समीक्षकहरू यमाललाई 'मेसीको आशीर्वाद पाएका खेलाडी' भन्छन्।
उनले फुटबल इतिहासमा थुप्रै रेकर्डहरू आफ्नो नाममा दर्ज गरिसकेका छन्।
उदाहरणका लागि —
उनी बार्सिलोना क्लबकै इतिहासमा सबभन्दा कम उमेरमा मुख्य टोलीबाट 'डेब्यू' गर्ने खेलाडी हुन्। यमालले पहिलो पटक बार्सिलोनबाट खेल्दा उनी जम्मा १५ वर्षका थिए।
त्यति बेला बार्सिलोनाका सिनियर खेलाडीहरूसँग ट्रेनिङ गर्न मैदानमा जाँदा १५ वर्षका कलिला यमाललाई देखेर सबै चकित परेका थिए। तर जब उनी मैदानमा ओर्ले, चकित हुने पालो संसारमै नाम कमाएका बार्सिलोनाका नामुद डिफेन्डरहरूको थियो।
जिन्दगीमा पहिलो पटक स्टार खेलाडीहरूसँग एउटा मैदानमा खेलिरहेका भए पनि उनले बिना कुनै दबाब बल कुदाएको देखेर ती स्टार डिफेन्डरहरू नै छक्क परेका थिए।
त्यसको अर्को वर्ष, अर्थात् १६ वर्ष उमेरमा उनले स्पेनको राष्ट्रिय टोलीबाट डेब्यू गरे र पहिलो गोल पनि हाले। यो पनि यमालले राखेको अर्को रेकर्ड हो।
त्यस्तै, उनले सन् २०२४ को युरो कपमा स्पेनलाई उपाधि दिलाएर विश्वकै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए। त्यति बेला उनी १७ वर्षका थिए।
युरो कपको सेमीफाइनलमा यमालले फ्रान्सविरूद्ध डि एरिया बाहिरबाट हानेको गोल आज पनि फुटबल फ्यानहरूको दिमागमा ताजा छ।
त्यसको अर्को वर्ष, अर्थात् १८ वर्ष उमेरमा यमालले बार्सिलोनाका लागि १०० भन्दा बढी आधिकारिक खेल पूरा गरेर रेकर्ड राखेका छन्।

सन् २०२५/२६ को सिजनमा बार्सिलोनाका प्रशिक्षक हन्सी फ्लिकको नेतृत्वमा यमाल अझ बढी आक्रामक देखिएका छन्। त्यसैलाई हेरेर उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा हुने २०२६ को विश्वकप खेल्न उनी मानसिक र शारीरिक रूपमा पूर्ण तयार रहेको समीक्षकहरू बताउँछन्।
स्पेनिस टोली पहिले 'टिकी-टाका' अर्थात् धेरै पास खेलेर विपक्षीलाई थकाउने खेलका लागि चिनिन्थ्यो। तर कहिलेकाहीँ धेरै पास खेल्दा गोल हुँदैनथ्यो। यमालले स्पेनको यो कमजोरी हटाइदिएका छन्।
उनी मैदानको दायाँ भागबाट बल लिएर सिधै विपक्षीको डिफेन्सभित्र पस्छन्। उनलाई रोक्न दुई-तीन जना डिफेन्डर एकैचोटि आउनुपर्छ। त्यसैबीच अन्य खेलाडीले गोल गर्ने मौका पाउँछन्।
महान् फुटबलर रोनाल्डिन्होले हालै यमालको तारिफ गर्दै भनेका थिए, 'खेलाडीहरू सामान्यतया २४-२५ वर्ष उमेरमा मात्र परिपक्व हुन्छन्। तर यमालले १८ वर्षमै जुन खेल देखाइरहेका छन्, त्यो पत्याउनै नसकिने खालको छ।'
यो विश्वकपमा यमालमाथि करोडौं फ्यानको नजर तेर्सिएको हुनेछ। विपक्षी टोलीहरू उनलाई रोक्ने रणनीति बनाइरहेका हुनेछन्। तर मैदानमा झेल्नुपर्ने दबाबलाई नै आफ्नो शक्ति बनाउन माहिर यी युवा खेलाडी यसपालि विश्वकपको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न मैदान उत्रिँदै छन्।
खेल कौशलका कारण सफलताको शिखरमा पुगेका कलिला यमाल हालै देखाएको परिपक्व राजनीतिक चेतले पनि आगामी विश्वकपमा केन्द्रविन्दुमा रहने पक्का भइसकेको छ।
विश्वकप सुरू हुनु एक महिना मात्रै बाँकी हुँदा गत साता उनले इसराइली अत्याचारमा पिल्सिएका प्यालेस्टिनीको समर्थनमा प्रदर्शन गरे।
चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराएर बार्सिलोनाले ला लिगा जितेको खुसियाली मनाउँदा मुस्लिम धर्म मान्ने यमालले बसको छतमा प्यालेस्टाइन राज्यको झन्डा फहराए।
इसराइल र अरू देशका दक्षिणपन्थीहरूले आलोचना गरे पनि उनको त्यो साहसिक प्रदर्शनको उनका समर्थक मात्र नभएर फुटबल खासै नहेर्ने संसारभरका मानिसहरूले समेत सराहना गरेका छन्।