चौथो संस्करणको कोहलपुर गोल्डकपको उपाधि आयोजक रेसिङ साहारा क्लबले प्राप्त गरेको छ । कोहलपुर–२ स्थित फुटबल मैदानमा आज सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई ३–४ अन्तर गोलले हराउँदै रेसिङ साहाराले सो ट्रफी हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । खेल सुरू भएको पाँचौँ मिनेटमा रेसिङ साहारा क्लबका लागि चेतन चौधरीले गोल गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका धीरेन्द्र शाहले उत्कृष्ट गोल फर्काउँदै खेल बराबरीमा पुगेको थियो । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको हो ।
ट्राइब्रेकरमा नतिजा बराबर भएपछि खेल ‘सडेन डेथ’मा पुगेको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सञ्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए ।
प्रतियोगिताको विजेता रेसिङ साहारा क्लबले ट्रफीसहित रु आठ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको नेपाल पुलिस क्लबले ट्रफीसहित रु चार लाख प्राप्त गरेको छ । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बनेका कोहलपुर रेसिङ साहारा क्लबका मुकुन्द घर्तीमगरले रु ५१ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिएका नेपाल पुलिसका सञ्जिव लामाले ट्रफीसहित रू पाँच हजार प्राप्त गरे । प्रतियोगिताका विजेता र उपविजेतालाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले चेक, ट्रफी र पदक प्रदान गर्नुभएको थियो ।
यही वैशाख १९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका शत्रुधन चौधरी, उत्कृष्ट डिफेन्डर कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरी, उत्कृष्ट मिडफिल्डर नेपाल पुलिस क्लबका राम वाजी, उत्कृष्ट फरवार्ड नेपाल पुलिस क्लबका आशीष थारू, उत्कृष्ट प्रशिक्षक कोहलपुर रेसिङ साहारा क्लबका जनक केसी र राइजिङ प्लेयर अफ द टुर्नामेन्ट र कोहलपुर रेसिङसाहारा क्लबका लक्ष्मण राना भए । उनीहरुले जनही रु १० हजार प्राप्त गरे ।