सँधैजसो व्यापार घाटा बढिरहह्यो भन्ने समाचारमात्र आइरहने नेपालमा पछिल्ला दुई महिनामा व्यापार घाटा अघिल्लो वर्षको यही समयको तुलनामा घटेको तथ्यांक आएका छन्।
वर्षको पहिलो महिना साउनमा स्वभाविक रुपमा आयात केही न्यून हुने भएपनि यो वर्ष भने घटेको छ।
त्यतिमात्र होइन र दसै र तिहारको अघिल्लो महिना नै आयात घटेको छ।
सामान्यता दसै,तिहार तथा छठजस्ता पर्वमा वर्षभरको भन्दा पनि बढी खपत हुने विभिन्न अध्ययनले देखाएका छन्।
उपभोग्य वस्तुको आयातमा कमी आएको छ भने मेसिनरीको आयात पनि त्यति धेरै बढेको छैन। समग्रमा भदौमा आयात १ प्रतिशतले घटेको हो।
भन्सार विभागका अनुसार चालु वर्षको २ महिनामा २ खर्ब २९ अर्बको वस्तु आयात भएको छ। अघिल्लो वर्षको यही अवधिमा २ खर्ब ३२ अर्बको आयात भएको थियो।
निर्यात भने २५ प्रतिशतले बढेको छ।
आयात घट्दा र निर्यातमा केही सुधार हुँदा व्यापार घाटा पनि ३ प्रतिशतले न्यून भएको छ।
व्यापार घाटामा सुधार भयो। तर यसको मतलब नेपालमा उत्पादकत्व बढेको हो कि उपभोगमा कमी आयो?
व्यापारी तथा उद्योगीहरुले गएको वर्षदेखि नै व्यापारमा मन्दी भएको बताउँदै आएका थिए। उनीहरुले भन्दै आएको कुरालाई बढ्दै गरेको आयात र बैंकको कर्जा प्रवाहले त्यसलाई पुष्टी गर्दैनथियो। तर यो पालि भने आयात घटेको छ।
यसको प्रत्यक्ष मार सरकारको राजस्वमा परेको छ। दसै पूर्वको समयमा सँधैजसो राजस्व लक्ष्य पूरा गर्ने भन्सार विभाग यो पालि भने असफल भएको छ।
तर पनि उपभोग घट्यो कि उत्पादन बढ्यो? २ महिनाकै तथ्यांकले सबै बताउँदैन। यसका लागि केही समय भने कुर्नपर्छ होला।