सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङले डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेटेका छन्।
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि कारागार रहेका महरा भेट्न गुरूङ बिहीबार बिहान पुगेका हुन्।
आफूले महरासँगको भेटमा मुख्यगरी दुई विषयमा कुराकानी गरेको गुरूङले सेतोपाटीलाई बताए।
‘उहाँलाई सञ्चो थिएन। बिरामी नै हुनुहुन्थ्यो। स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ,’गुरूङले भने,‘उहाँले कानुनी परामर्श खोजिराख्नुभएको थियो, त्यसबारे पनि कुरा भयो।’
महराको बिहीबार पनि स्वास्थ्य अवस्थाको परीक्षण भइराखेको उनले जानकारी दिए।
‘म जाँदा पनि उहाँको स्वास्थ्य परीक्षण भइराखेको रहेछ,’ उनले सेतोपाटीसँग भने, ‘धेरैबेर कुराकानी भएन। चिया पिउन्जेलसम्म म बसेँ। यसबीचमा सञ्चो बिसञ्चो सोध्ने कुरा भयो। कानुनी परामर्शबारे पनि कुराकानी गरें।’
महरा जिल्ला अदालत काठमाडौंको आदेश पछि सोमबारदेखि जेलमा छन्।
जेल परेकालाई महरालाई भेट्न जाने गुरूङ पहिलो नेता हुन्।