काठमाडौं उपत्यकाको निकास विन्दुका रूपमा चिनिने चोभार गल्छी सरकारले मास्न लागेको भन्दै चोभारवासीहरू अहिले आन्दोलनमा छन्।
केही समयअघिसम्म यस्तो विरोध सामाजिक सञ्जालमा सीमित थियो। स्थानीय अभियन्ता, संरक्षणमा चासो राख्ने र संस्कृतिविदहरू चोभारको पुलमा उभिएर प्राचीन गल्छी देखाउँदै भिडिओ बनाउँथे। र, त्यो भिडिओलाई फेसबुक तथा माइक्रोब्लगिङ साइटहरूमा हालेर 'प्राचीन चोभार गल्छी मास्न पाइँदैन' भन्दै विरोध जनाउँथे।
मंगलबारबाट आन्दोलनको स्वरूप फेरिएको छ। उनीहरूले भौतिक उपस्थितिमै विरोध गर्न थालेका छन्। मंगलबार कीर्तिपुर नगरपालिकाको ६ नम्बर वडामा सार्वजनिक सुनुवाइसमेत गरियो।
कीर्तिपुर र चोभारका स्थानीय अहिले एक स्वरमा भनिरहेका छन्, 'हामीले 'न्हुछिकाप' भनेर चिन्ने चोभार गल्छी सरकारले मास्न खोजेको सुनिन्छ। काठमाडौं उपत्यकाको उत्पत्तिसँग जोडिएको यस्तो प्राचीन गल्छी हामी कुनै हालतमा मास्न दिँदैनौं।'
स्थानीयले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास मन्त्रालय समेतलाई आफ्नो मागबारे ध्यानाकर्षण गराइरहेका छन्।
सबभन्दा पहिला कीर्तिपुरवासीको भनाइ के हो, त्यो हेरौं।
त्यसको निम्ति हामीले चोभार कस्तो ठाउँ हो भन्ने बुझ्नुपर्छ। चोभार यस्तो ठाउँ हो, जहाँ दुई विशालकाय चट्टानसहितको डाँडो बीचको खोँचबाट बागमती नदी दक्षिणतर्फ लाग्छ। नदीको पिँधमा पनि विशालकाय चट्टानहरू छन्।
हजारौं वर्षअघि बनेको यो प्राकृतिक खोँच मञ्जुश्रीले काटेका हुन् भन्ने किम्बदन्ती छ। यही खोँच काटेपछि काठमाडौं उपत्यकामा जमेको पानी बाहिरिएको र यो ठाउँ बस्न लायक बनेको भूगोलविदहरू बताउँछन्।
त्यही भएर यहाँको भूबनोट मास्दा प्राकृतिक रूपमा अडिएर रहेका चट्टान खल्बलिने र त्यसले थप विपत्ति ल्याउने स्थानीयको भनाइ छ। यही आधारमा उनीहरू चोभार गल्छी छुन–चलाउन हुँदैन भनेर पैरवी गरिरहेका छन्।
यो बहसको सुरूआत गत जेठ १४ बाट भएको हो।
जेठ १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले चोभारको गल्छीमा रहेको अवरोध हटाउने निर्णय गरेको थियो।
त्यसको कारण के भने, गत वर्ष असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती नदीमा पानीको सतह बढ्यो। काठमाडौं उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खु लगायत भूभाग डुबानमा परे। चोभार गल्छी साँघुरो भएकाले नै बागमतीको पानी बहावमा अवरोध आएको र उपत्यका डुबानमा परेको हो भन्ने बैठकको ठहर रह्यो।
त्यसैले फेरि त्यस किसिमको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिएर चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको थियो। यही निर्णयलाई मनसुनपूर्व तयारी र प्रतिकार्यको कार्ययोजनामा पनि समेटियो।
तर उक्त निर्णय अमूर्त थियो। चोभारमा कस्तो प्रकारको अवरोध छ र त्यसले बागमती नदीको बहावलाई के–कसरी रोकेको छ भनेर कार्यकारी समिति बैठकले खुलाएको थिएन।
समितिकै केही अधिकारीले चोभार गल्छीमा रहेको गेग्रान हटाउन नेपाली सेनाको सहयोग लिन खोजेको भनेका थिए। केहीले चोभार गल्छीका ढुंगा फुटाउन खोजेको पनि बताएका थिए।
यस्तो फरक फरक टिप्पणीले निर्णयको यथार्थ उजागर गर्नुको साटो झन् अन्यौल थप्यो।
स्थानीयवासीमा अहिले पनि चोभार गल्छीका चट्टान फोडेर चौडा पार्न खोजिएको बुझाइ छ। त्यसैले उनीहरू प्रतिवाद गरिरहेका छन्।
दक्षिणपूर्वी कीर्तिपुर र खोकनावासी समेतको निद्रा खल्बल्याउने गरी चोभार चौडा पार्ने बहस किन भइरहेको छ र सरकारको तयारी के हो भनेर हामीले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपनिर्देशक उद्धव नेपाललाई सोधेका छौं।
उनले चोभार चौडा पार्ने बहसलाई हल्लाको संज्ञा दिए।
'अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति बागमती र यसका सहायक नदीहरूको उत्थान, विकास र सम्बर्द्धनका लागि गठित संस्था हो। बागमती नदीको सभ्यता जीवन्त राख्न र अक्षुण्ण राख्न स्थापना गरिएको निकाय हो,' उनले प्रतिप्रश्न गर्दै भने, 'त्यसैको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको चोभार गल्छीलाई हामी मास्छौं त? त्यसरी सोच्न सक्छौं त?'
त्यसपछि हामीले उनलाई यस्तो हल्ला कसरी फिँजियो त भनेर सोध्यौं।
उनले गत वर्षको बाढीपछि यो विषय बहसमा आएको बताए।
उनका अनुसार गत वर्ष काठमाडौं उपत्यकाभित्र ११ स्थानमा रेकर्ड ब्रेक वर्षा भयो। उपत्यकाका नदी किनार डुबानमा परे। बागमती, मनोहरा नदी निकासका बस्ती त डुबानमा पर्दै आएकै थिए। नख्खु खोला र बागमतीका अरू सहायक नदीले समेत तटीय क्षेत्र डुबाएपछि चोभार गल्छीनजिकैको ढिस्कोले नदीको प्राकृतिक बहाव रोकेको हो कि भन्ने धेरैलाई पर्यो।
'यसले स्वतन्त्र रूपमा चोभार चौडा पार्ने विकल्पबारे बहस सुरू भयो। कार्यकारी समितिको त्यो निर्णयपछि त झन् चोभार वरपरका स्थानीयलाई गल्छी नै फुटाउन लागे कि भन्ने शंका भयो,' उनले भने, 'तर हामीले त्यसरी गल्छी मास्न लागेका होइनौं।'
उनका अनुसार चोभार गल्छी नपुग्दै २० मिटर वर केही गेग्रान थुप्रिएका छन्। गेग्रान थुप्रिएको ठाउँभन्दा माथि पहिरो पनि खसेको छ। त्यही पहिरोका कारण गत वर्ष असोज याममा बागमती नदीको बहावमा केही रोकावट आएको त्यहीँका स्थानीयको भनाइ छ।
पहिरो झरेको स्थान कीर्तिपुर नगरपालिका–६ को सक्षम बस्तीमा पर्छ। बागमती नदीको बहावमा रोकावट आएकाले सक्षम बस्तीका केही घर डुबानमा परेका थिए। यस वर्ष पनि मनसुन आउन लागेकाले त्यही सक्षम बस्ती टोल सुधार समितिले उक्त पहिरो झरेर नदीमा रहेको गेग्रान हटाइदिन वडालाई पत्राचार गरेको थियो।

'गत सालको बाढीमा सक्षम बस्ती डुबेको र यसपटक पनि मनसुन आउन लागिसकेकाले चोभार गल्छीभन्दा २० मिटर वर नदीको साबिक सतहभन्दा दुई मिटर माथिसम्म गेग्रान थुप्रिएको पाइएकाले उक्त अवरोध हटाउन त्यहीँको टोल–सुधार समितिले वडालाई अनुरोध गरेको थियो,' वडाध्यक्ष खिरमानसिंह बस्नेत 'पृथ्वी' ले सेतोपाटीसँग भने।
त्यस स्थानमा बागमती नदीभन्दा माथि पहिरो गएको गेग्रान थुप्रिएकाले त्यसलाई हटाउन आफूले सहजीकरण गर्न खोजेको उनले बताए। त्यसका लागि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई सिफारिस दिएको पनि उनको भनाइ छ।
प्राकृतिक सम्पदा संरक्षण गर्दै सांस्कृतिक कुरालाई उच्च स्थानमा राखी मनसुन याममा आइपर्ने विपद् न्यूनीकरण गर्न खोज्दा 'राजनीतिकरण' भएको वडाध्यक्ष बस्नेतले बताए।
'पहिरो तथा खोला व्यवस्थापन गर्न अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निरीक्षण भइसकेको थियो। त्यहीअनुसार सिफारिस गरी पाऊँ भनी उहाँहरूबाट माग आयो। चोभार गल्छीभन्दा करिब २० मिटरमाथि झन्डै दुई मिटरसम्म माटोका ढिकाहरू जम्मा भएको भन्ने प्राविधिकहरूको प्रतिवेदन पनि थियो,' उनले भने, 'त्यही आधारमा वडाले नियमानुसार प्राकृतिक सम्पदा संरक्षण गर्दै सांस्कृतिक कुरालाई उच्च स्थानमा राखी भोलि आइपर्ने विपद् न्यूनीकरण गर्न नियमानुसार सिफारिस गरिएको हो।'
त्यस्तै सिफारिस ललितपुर महानगरपालिकाको १८ नम्बर वडाबाट पनि पाएको अधिकारसम्पन्न बागमतीका नेपालले बताए।
'दुवै वडासँग सिफारिस लिएपछि हामीले अध्ययन गर्यौं। त्यहाँ दुई मिटरसम्म गेग्रान थुप्रिएको पायौं। त्यही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले निर्णय गरी नेपाली सेनाको सहयोगमा हटाउने निर्णय गरेको हो,' उनले भने, 'तर चोभार गल्छी नै चौडा पार्न थालियो भन्ने हल्ला चल्यो। स्थानीयवासीको पनि त्यही बुझाइ भयो।'

ललितपुर महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दामोदर खड्काले पनि स्थानीयहरूको बुझाइमा समस्या भएको बताए। उनले गल्छीको दायाँबायाँ पहिरो खसेको र गेग्रान नदीको सतहमा जम्मा भएकाले झिक्न खोजिएको जानकारी दिए।
'यहाँहरूले पनि देख्न सक्नुहुन्छ। दायाँबायाँ पहिरो खसेको छ। ढुंगा तल जम्मा भएर रहेको छ। त्यही हटाउने विषयमा हामीले चरण चरणमा छलफल गर्यौं। नख्खु खोला सफाइका लागि त बजेट पनि छुट्टयायौं,' उनले भने, 'चोभार गल्छीमा रहेको गेग्रान हटाउन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई पनि भनेका हौं। तर स्थानीयबाट गल्छी नै चौडा बनाउन लागिएझैं कुरा आयो। गल्छीको प्राचीन संरचना, सांस्कृतिक, ऐतिहासिक महत्त्वमा त कसरी असर पार्न सक्छौं र? बुझाइमा फरक परेको हो।'
स्थानीयको विरोधपछि चोभार गल्छीभन्दा वरै रहेको उक्त गेग्रान हटाउने काम रोकिएको अधिकारसम्पन्न बागमतीका नेपालले बताए। उनले यसबारे नेपाली सेनाले पनि अध्ययन गरी नदीमा जम्मा भएको काठपात, गेग्रान मात्र हटाउने खोजेको जानकारी दिए।
'स्थानीयवासी नै विरोधमा देखिएपछि नेपाली सेना अघि बढ्ने कुरा आएन। अहिले हामीले पनि यतिकै थाती राखेका छौं,' उनले भने, 'एउटा काम गर्न खोज्दा मान्छेको बुझाइ अर्कै पर्यो।'
निरन्तर आन्दोलित हुँदै आएका चोभारका स्थानीयवासीले चोभार गल्छी माथिको पुलमा विरोधको व्यानर टाँगेका छन्। चोभार गल्छीभन्दा करिब ३०० मिटर वर नख्खु बागमतीमा मिसिन्छ। यो क्षेत्र प्राचीन कालदेखि नै डुबानको क्षेत्र भएको स्थानीयले बताउँदै आएका छन्।
उनीहरूले ६ वटा तर्क अघि सार्दै चोभार गल्छी चौडा पार्न नहुने बताइरहेका छन्।
पहिलो, गल्छीको बहाव थेग्ने क्षमता पोहोर सालको बहावभन्दा चार गुणा बढी छ।
दोस्रो, चोभार हजारौं वर्षको बाढीको प्रभावबाट निखारिएको गल्छी हो। त्यसैले यसको क्षमतामा खलबल गर्न आवश्यक छैन।
तेस्रो, यो गल्छी हजारौं वर्षपछि यो अवस्थामा खडा भएको प्रकृतिले सिर्जित अभूतपूर्व सम्पदा हो।
चौथो, बाढीको प्रकोप न्यून गर्न अरू नै उपायहरू अवलम्बन गर्नुपर्छ।
पाँचौं, विभिन्न सरोकारवाला र विज्ञहरूसँग परामर्शका आधारमा समाधान खोज्नुपर्छ।
छैठौं, बाढी क्षेत्रभित्र नयाँ संरचना बनाउन हतार गर्नु आवश्यक छैन।
'यो अद्वितीय सम्पदा संसारको अर्को कुनै ठाउँमा पाइँदैन। यसलाई जस्ताको तस्तै अवस्थामा संरक्षण गर्नुपर्छ,' संरक्षणविदको भनाइ छ।
***