आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ धुनिबेंसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाइलाबाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाले बताए।
लुइँटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई ‘नेपाल प्रहरीको सिआइबीमा कार्यरत डिएसपी’ भन्दै ठगेका थिए।
आफ्नो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ दिनु भनी पटक-पटक भेट तथा फोन गरी नगद १० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
अन्य रकम माग गर्दै गरेको भन्ने खबर आएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए।
उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ। पक्राउ परेका लुइँटेलउपर ठगी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ।