सप्तरीको पुरानो गाउँ हो हनुमाननगर जुन कुनै बेला सदरमुकाम थियो। कोशी नदीले असर नपुर्याउँदो हो त आजसम्म पनि सदरमुकामै हुन्थ्यो।
बर्सेनी बाढी गाउँसम्मै पुगेपछि सदरमुकामसँगै हनुमाननगरले प्रमुख कार्यालय, अस्पताल, मन्दिर–मूर्ति लगायत आफ्ना सबै प्रमुख सम्पत्ति राजविराजलाई सुम्पियो।
एउटा मन्दिर भने त्यहीँ रह्यो- हनुमान मन्दिर, जसले यो गाउँलाई हनुमाननगर भनेर चिनाएको छ।
हनुमाननगर पुगेर यो मन्दिर नपुग्ने हो भने हामीले एउटा विशेष हनुमानको मूर्ति हेर्न छुटाउछौं, जुन अन्त कतै नभएको स्थानीय दाबी गर्छन्। धेरैजसो सिन्दुरे रङको हनुमान देखेका हामीले कालो पत्थरको मूर्ति यहाँ देख्नेछौं।
काला हनुमानको आकार सानो छ। सुनौला आँखा भएका हनुमान मुकुट र गरगहनाले सजिएका छन्। छेउमा उनको हतियार गदा छ। मूर्तिका दुवै हात आशीर्वाद मुद्रामा छ। यस्तो मुद्रा भएकालाई संकटमोचन वा मनोकामना हनुमान पनि भनिने मन्दिरका पूजारी गोविन्द मिश्रले बताए।
६७ वर्षीय मिश्र ६४ सालदेखि यहाँका पूजारी हुन्। नित्यकर्म, पूजाआजादेखि रेखदेख गर्ने उनकै जिम्मा।
'भारतको उज्जयनमा पनि यस्तो स्वरूपको हनुमान मूर्ति छ तर त्यो मान्छेजत्तिकै अग्लो छ,' उनले भने, 'यति सानो स्वरुपको भने हाम्रो हनुमाननगरबाहेक कतै छैन।'
पुरातात्विक अन्वेषण गर्दा हनुमानको मूर्ति हजार वर्षभन्दा पुरानो भएको फेला परेको थियो। सिम्रौनगढका राजा शक्रसिंह देवको पालामा यहाँको मूर्ति निर्माण भएको हुनसक्ने मिश्र अनुमान गर्छन्। यो भनेको ११ औं शताब्दीतिर हो। अन्वेषणक्रममा सिम्रौनगढ र सर्लाहीको मूर्तियामा पनि त्यही समयका मूर्ति फेला परेको उनी बताउँछन्।
इतिहासअनुसार सन् १०९७ मा भारतको कर्नाटकमा मुस्लिमहरूले आक्रमण गरेपछि राजा नान्यदेव सिम्रौनगढ आएका थिए। राजा शक्रसिंह उनकै पाँचौं पुस्ता हुन्। उनी सिम्रौनगढबाट सप्तरी आएको र बाँकी जीवन त्यहीँ बिताएको इतिहास छ।
सिम्रौनगढ नगरपालिकाका पुरातात्विक सल्लाहकार तारानन्द मिश्रका अनुसार सिम्रौनगढका राजाहरूको राज पूर्वमा सप्तरी, पश्चिममा गण्डकी, उत्तरमा चुरे-महाभारत र दक्षिणमा गंगासम्म फैलिएको थियो। त्यो समयमा सिम्रौनगढबाटै काला पत्थर र माअप्पा (प्राचीन इँट्टा) लगेर धेरै ठाउँमा मन्दिर-मूर्ति बनेका थिए।
'आफ्नो सीमाको पूर्व क्षेत्रमा राजाले हनुमानजी स्थापना गरेको हुनसक्छ,' मन्दिरका पूजारी मिश्र पनि यसमा सहमत हुँदै भन्छन्, 'तर यो गाउँ जहिलेदेखि छ, त्यो बेलादेखि नै नाम हनुमाननगर हो र त्यही मूर्तिबाट रहेको हो। गाउँपालिका, पञ्चायत, नमुना गाविस र अहिले नगरपालिका हुँदासम्म पनि यहाँको नाममा हनुमानजी जोडिनुभएको छ।'
मिश्रका अनुसार हनुमाननगर पहिले सप्तरी, सिराहा र आधा सुनसरीसम्मको सदरमुकाम थियो। त्यति बेला लहान, राजविराज लगायत ठाउँ थिएनन्। कोशीका कारण यहाँका कार्यालय र अरू मन्दिर-मूर्ति राजविराज सारियो। यी हनुमानलाई भने केही नभएको मिश्र बताउँछन्।
'पानी आयो, गयो तर हनुमानजी यहाँबाट जानुभएन। कोशीले आजसम्म हनुमानजीलाई क्षति पुर्याउन सकेको छैन,' उनले भने।
मन्दिरमा हरेक बिहान ८ बजेतिर पूजा–आरती हुन्छ। राती ७ बजेतिर फेरि रात्री आरती। हरेक बुधबार महिलाहरूको सत्संग हुन्छ भने शनिबार साधुसन्तको। एकादशीमा महिलाहरूले भजन–कीर्तन गर्छन्। त्यसैगरी, प्रत्येक शनिबार र मंगलबार विशेष भजन–कीर्तन हुन्छ। त्योसँगै, प्रत्येक पूर्णिमामा रामायण पाठ हुन्छ।
भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ आउँछन्। भाकल पूरा भए पचास किलोको लड्डु चढाउँछन्। पूजारी मिश्रका अनुसार यो लड्डु हनुमानका लागि विशेष हो र वर्षमा १५-२० वटासम्म मन्दिरमा चढेकै हुन्छ।
मन्दिरको महिमा नेपालमाभन्दा भारतमा धेरै फैलिएको रहेछ। सीमावर्ती भारतीय गाउँदेखि दिल्ली, जयपुर, कलकत्ता, राजस्थानसम्मका तिर्थारू यहाँ पूजा गर्न आउँछन्।
'यो राजस्थानका मान्छेले चढाएका,' नजिकैको बाजा देखाउँदै मिश्रले भने। साना हनुमानको माथि चाँदीका सानै छाताहरू घण्टी जसरी झुण्डाइएका छन्। यी सबै भक्तजनले चढाएका हुन्।
नेपालका भने धेरैलाई यो मन्दिरबारे थाहा नै नभएको मिश्रको गुनासो छ। यद्यपी, राजपरिवारका सदस्य भने यहाँ पूजाका लागि आउँथे रे।
'त्रिभुवन, महेन्द्र, वीरेन्द्र सबै आउनुभएको थियो। केही वर्षअघि मात्रै ज्ञानेन्द्र पनि आउनुभएको थियो,' उनले भने।
हामीले देख्दा सुनौलोमा नीलो किनार भएको झिलीमिली लुगा लगाएका, गरगहना र श्रृंगारमा सजिएका हनुमानको रूप दैनिक फेरिने रहेछ।
पूजारी मिश्रले नजिकैको दराज खोलेर हनुमानका लुगा देखाए। कुनै मान्छेले लगाउने जस्तै ठूलो त कुनै यी साना हुनमानलाई ठिक्क हुने लुगाले दराज पूरै भरिएको थियो। ठूलो लुगा आकर्षक भए पनि लगाइदिन गाह्रो हुने भएकाले विशेष अवसरमा मात्रै लगाइने रहेछ। हनुमानजीका लुगा यति धेरै रहेछन्, दिनै फेरिदिँदा पनि एउटा लुगाको पालो आउन तीन-चार महिनै लाग्छ रे। श्रृंगार र फूल परिवर्तन पनि पूजारीले नै गर्छन्।
'यी लुगा पनि धेरैजसो भारतीय भक्तजनले नै चढाएका हुन्,' ठूलो लुगा दिल्लीबाट आएको बताउँदै उनले भने, 'पुरानो भएपछि हामी कोशीमा बगाइदिन्छौं। केही नजिकैको हनुमान मन्दिरमा दान गर्छौं।'
यस्तो विशेष मूर्तिको संरक्षण कसरी भइरहेको छ त?
मन्दिरको निश्चित सीमाभन्दा भित्र जान मनाही छ। पूजारीबाहेक मन्दिर संरक्षण र व्यवस्थापन समितिकै मान्छे पनि भित्र छिरेर मूर्ति पूज्न पाउँदैनन्। असर नपुगोस् भनेर मूर्तिमा पूजा सामग्री चढाइँदैन।
यो मन्दिर सप्तरीको सबभन्दा पुरानो गुठीअन्तर्गत पर्ने मिश्र बताउँछन्। उनका अनुसार मन्दिरको २२ विघा जग्गा सुनसरीमा छ जुन पहिले सप्तरीअन्तर्गत नै थियो। जग्गाबाट धान र करिब एक लाख रुपैयाँ बर्सेनी मन्दिरका लागि आउँछ। ३ विघा जग्गा भने बिजुली अफिसको टावरले अतिक्रमण गरेको उनले बताए।
गुठी संस्थानले हालै दिएको ५ लाख रुपैयाँले मन्दिरमा धर्मशाला थपिएको छ। हनुमान जोडिएर रामायणमा आउने भगवानका मन्दिर पनि नजिकै छ। शिव मन्दिर छेउमै छ भने प्रदेश दुई सरकारले रामजानकी मन्दिर बनाइरहेको छ।
हामी हनुमान मन्दिर पुग्दा राती भइसकेको थियो। साँझको आरती सकिइसकेकाले पूजारी मिश्रले बिहान आउन आग्रह गरे। हनुमानजीलाई ठूलो लुगा लगाइदिने पनि बताए।
बिहान पुग्दा आरती सुरू भइसकेको थियो। त्योभन्दा बढी ठूलो लुगामा हनुमानजी कस्ता देखिएलान् भन्ने उत्सुकता थियो। तर हनुमानजी आशीर्वाद मुद्राका दुवै हात देखिने सानो लुगा लगाएर बसेका थिए।
'लुगाले हनुमानजीको यो विशेष अवतार छेक्ने भयो। हातको मुद्रा देखिन महत्वपूर्ण भएकाले सानो लुगा लगाइदिएको,' पूजारी मिश्रले हामीलाई मूर्तिको विशेषता बुझाउँदै भने।
सबै तस्बिरः समिक्षा अधिकारी र सबिना श्रेष्ठ