बझाङमा गत सोमबार राति अविरल वर्षाका कारण पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये शनिबार थप एक जनाको शव फेला परेको छ।
कात्तिक २ गते थलारा गाउँपालिका-४ डिखलामा पहिरोले कलक पार्कीको घर पुरिँदा उनकै परिवारका १८ जना र छिमेकी नरे पार्कीका ५ जना बेपत्ता थिए।
बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसअघि बेपत्तामध्ये ३ जनाको शव फेला परिसकेको छ।
मृत भेटिनेमा आयुष पार्की, विकास सार्की र सीता सार्की छन्। शनिबार फेला परेको शवको भने सनाखत भइसकेको छैन। शवको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। अझै १९ जना बेपत्ता छन्।
घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी करिब ४० जनाको सुरक्षाकर्मी टोलीले बेपत्ताको खोजी कार्य गरिरहेको छ।
लगातारको पानीले डिखला गाउँको जमिन अहिले पनि कमजोर छ। त्यहाँका १ सय ८५ घरपरिवार पहिरोका कारण प्रभावित बनेका छन्।
उनीहरूले आफूहरूको सुरक्षित ठाउँमा बसोबास मिलाउन सरकारसँग आग्रह गरेका छन् ।