त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।
मंगलबार सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा नेपालमाथि जिम्बावेले ४० रनको जित हात पारेको हो।
यसअघि पहिलो खेलमा पनि जिम्बावले नेपाललाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गरेपछि नेपालले २ अंक जोडेको थियो। मंगलबार जिम्बावेसँग पराजित भएसँगै नेपालको सिरिज जित्ने लक्ष्य कमजोर बनेको छ।
अब नेपालले बुधबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा बिहीबार सिंगापुर र जिम्बावेबीच खेल हुनेछ। बुधबार नेपाल र बिहीबार सिंगापुर विजयी भए नेपालको सिरिज जित्ने सम्भावना हुनेछ।
मंगलबार जिम्बावेले दिएको १६१ रन पछ्याएको नेपालले खराब सुरुवात गरेको थियो। जसका कारण नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन मात्र जोड्न सक्यो।
ओपनिङको जिम्मा पाएका पवन सर्राफ शून्यमा आउट भएपछि मैदान छिरेका दीपेन्द्रसिंह ऐरीले पनि ४ रन भन्दा बढी जोड्न सकेनन्। पवनसँग ओपनिङ गरेका कप्तान पारस खड्का १२ रनमा आउट भएपछि नेपाल सुरुवातमै दबाबमा पर्यो। त्यसपछि आरिफ शेख २५ रन, कुशल मल्ल ५ रन र सोमपाल कामी ७ रनमा आउट भए।
विनोद भण्डारीले ३५ बलमा ३३ रन र करण केसीले १० बलमा १८ रन जोडेका थिए। सुसन भारी शून्यमा आउट हुँदा सन्दीप लामिछाने ५ रन र अभिनास बोहरा ३ रनमा अविजित रहे।
बलिङमा जिम्बावेका कप्तान सिन विलियम्सले ३ विकेट र मुटुम्बोजीले २ विकेट हात पारे।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन जोड्यो। जिम्बावेका लागि कप्तान सिन विलियम्सले ५३ रन जोडे। उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै रायल ब्रुलले २१ बलमा नटआउट २८ रनको योगदान दिए।
त्यसअघि सन्दीप लामिछानेले चार ओभर भित्र २ विकेट लिएपछि जिम्वाबे दबाबमा परेको थियो। सन्दीपले ४ ओभरमा २ विकेट लिन २७ रन खर्चिए। सोमपाल कामीले पनि २ विकेट लिँदा अभिनास बोहरा र पारस खड्काले १-१ विकेट लिए।