इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरू हुँदैछ।
यस संस्करणको आइपिएलमा पनि नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्।
तेस्रो सिजन आइपिएल खेल्न लागेका सन्दीप दिल्लीको पहिलो रोजाइमा पर्छन् कि पर्दैनन् भन्ने नेपाली क्रिकेटप्रेमीलाई चासो छ।
सन्दीपले पहिलो आफ्नो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। दोस्रो सिजनमा उनले ६ खेल खेल्न पाए। दुई सिजनमा गरी ९ खेल खेलेका उनले १३ विकेट लिएका छन्।
यसपटक पनि सन्दीपले दिल्लीको प्लेइन ११ मा पर्न कडा प्रतिस्पर्धा गर्नु पर्नेछ। सन्दीपले अनुभवी लेगस्पिनर अमित मिश्रासँगै रविचन्द्रन आस्विन र अक्षर पटेलसँग टिममा पर्न प्रतिस्पर्धा गर्नुपर्नेछ।
टिमले दुई जना मात्र स्पिनर खेलाएको अवस्थामा सन्दीपका लागि कठिन हुनेछ। किनभने आश्विन र मिश्रासँग अनुभव छ। पटेल ब्याटिङ पनि गर्न सक्छन्।
सन्दीपले मौका पाएको खेलमा आफूलाई प्रमाणित गर्न सके बाँकी खेलमा बलियो दाबेदारको रूपमा प्रस्तुत गर्न सक्नेछन्।
सन्दीपले आफूलाई दिल्लीका स्पिनरमध्येमा अब्बल बनाएर मात्र पुग्दैन, चार जना विदेशी खेलाडीको कोटामा पर्नलायक खेलाडीको रुपमा पनि उभ्याउन सक्नुपर्नेछ।
चार जना विदेशी खेलाडी कोटामा सन्दीपको सम्भावना अधिक देखिएको छ। ६ जना क्रिकेट विज्ञको भनाइ मान्ने हो भने सन्दीप विदेशी कोटाका लागि बलिया दाबेदार हुन्। ६ जना मध्ये ४ जनाले सन्दीप पहिलो रोजाइमा पर्ने विश्लेषण गरेका छन्।
भारतका पूर्व क्रिकेटर अजित अग्रकारले दिल्लीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडासहित सन्दीप लामिछाने, वेस्ट इन्डिजका ब्याट्सम्यान सिमरन हेटमायर र अस्ट्रेलियाका तीव्र गतिका ड्यानियल साम्सले स्थान पाउनु पर्ने विश्लेषण गरेका छन्।
भारतका पूर्व क्रिकेटर तथा दिल्लीका पूर्वकप्तान गौतम गाम्भिरले विदेशी खेलाडीको कोटामा सन्दीपको नाम लिएका छैनन्। उनले एनरिच नोर्टजे, रबाडा, हेटमायर र मार्कोस स्टोइनिसले विदेशी कोटामा स्थान पाउनुपर्ने बताएका छन्।
यस्तै भारतका पूर्वक्रिकेटर तथा विश्लेषक आकास चोपडाले एलेक्स केरी, हेटमायर, सन्दीप र रबाडालाई विदेशी कोटामा स्थान दिएका थिए।
पूर्व भारतीय क्रिकेटर दीप दासगुप्ताले स्टोइनिस, रबाडा, किमो पाउल र सन्दीप विदेशी कोटाको दाबेदार भएको बताए।
विश्लेषक डस्टिन सिलगार्डोले सन्दीपको नाम लिएनन्। उनले विदेशी कोटामा रबाडा, हेटमायर, स्टोइनिस र ड्यानियल साम्स विदेशी कोटामा पर्न सक्ने विश्लेषण गरे।
विश्लेषक तथा पत्रकार रौनक कपुरले सन्दीपले विदेशी कोटामा स्थान पाउने बताए। उनका अनुसार हेटमायर, रबाडा, सन्दीप र ड्यानियल विदेशी कोटाका दाबेदार भएको बताए।