नेपालको उमेर समूहका प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै चर्चाको शिखरमा पुगेका रौनक श्रीवास्तवले मंगलबार अर्को उत्कृष्ट ब्याटिङ गरेका छन्।
अन्तर्राष्ट्रिय उमेर समूहको खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्ने क्रममा रौनकले मंगलबार भुटानविरूद्ध १६८ रन जोडे।
मलेसियामा भइरहेको एसिसी यू-१६ इस्ट जोन कपमा रौनकले भुटानविरूद्ध १३२ बल खेलेर १६ चौका र ५ छक्का प्रहार गरे।
यो स्कोर नेपालले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय खेलमा प्रहार गरेको व्यक्तिगत उच्च हो। यसअघिको उच्च स्कोरको कीर्तिमान अर्जुन कुमालको नाममा थियो।
अर्जुनले सन् २०२३ मा एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४३ रन प्रहार गरेका थिए।
रौनकले घरेलु प्रतियोगिता पनि दोहोरो शतकको कीर्तिमान बनाएका छन्। गत जेठमा टीबी शाह मोमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका मध्यक्रमका ब्याट्सम्यान रौनक दोहोरो शतक प्रहार गरेका थिए।
सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा गण्डकीविरूद्ध रौनकले २१७ रन बनाएका थिए। उनले खेलमा ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे।
कपिलबस्तु कृष्णनगरका रौनक राष्ट्रिय टोलीका अलराउन्डर बसिर अहमदको प्रेरणाले क्रिकेटमा रमाएको बताउँछन्।
उनी भारतीय क्रिकेटर विराट कोहलीका फ्यान हुन्। त्यसो त उनले भारतको नौगढमा गएर क्रिकेट सिकेका थिए।
सामान्य परिवारका रौनक अहिले कक्षा ९ मा पढ्छन्। उनको किसान परिवारले क्रिकेट सिक्नका लागि उनको खर्च जोहो गर्दै आएको छ।