भनिन्छ, भाग्यले पनि बहादुरको साथ दिन्छ।
आइपिएल टिम दिल्ली क्यापिटल्सका ओपनिङ ब्याट्सम्यान शिखर धवनको हकमा यो भनाइ लागू हुन्छ।
शनिबार चेन्नई सुपर किंग्सविरुद्ध भाग्य नहुदो हो त उनले आइपिएलको इतिहासमा पहिलो शतक प्रहार गर्ने थिएनन्।
चेन्नईका खेलाडीले धवनलाई एक नभइ चार पटक जीवनदान दिएका थिए। धवनले २५ रन बनाएर खेलिरहदा चेन्नईले पहिलो क्याच छुटाएको थियो।
५० रन पूरा गरेपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनी धवनको अर्को क्याच छाडेका थिए। धोनीलाई धवनको क्याच लिने अरू दुई मौका मिलेको थियो।
९९ रन बनाएर खेलिरहदा धवनलाई फेरि भाग्यले साथ थियो। १९औं ओभरमा चेन्नईका साम कुरानको बलिङमा धोनीले धवनको क्याचको अपील गरेका थिए। लगत्तै अम्पायरले आउट भएको संकेत गरे।
दिल्लीसँग रिभ्यू बाँकी थियो। रिभ्यूमा धवनको क्याच नभएको देखिएको थियो। जसका कारण धवनलाई शतक पूरा गर्ने मौका मिलेको थियो।
शीर्ष टिम दिल्लीले ५ विकेटको जित हात पारेको खेलमा धवनले नटआउट १०१ रन जोडे। उनले ५८ बलमा १४ चौका र १ छक्का हिर्काए।
खेलपछि धवनले आउट हुन्छु भन्ने कुराले डर नलाग्ने बताए। 'म हौसलाका साथ खेल्छु। आउट हुन्छु कि भनेर डराउँदिन,' उनले खेलपछि भने।
अन्तिम ओभर पनि दिल्लीलाई भाग्यले साथ दिएको थियो। अन्तिम ओभरमा दिल्लीलाई जित निकाल्न १७ रन बनाउनु पर्ने स्थिति थियो।
अघिल्लो ओभरमा चेन्नईका साम कुरान बलिङमा दिल्लीले केवल चार रन मात्र बनाउन सकेको थियो। जसका कारण दिल्लीका लागि अन्तिम ओभरमा १७ रन बनाउनु मुस्किल जस्तै देखिएको थियो।
चेन्नईका दीपक चाहर र शार्दुल ठाकुरले आफ्नो कोटाको चार ओभर पूरा गरिसकेका थिए। यो अवस्थामा धोनीले अन्तिम ओभर ड्वायन ब्राभोलाई दिने विश्वास गरिएको थियो। ब्राभोले तीन ओभरमा २३ रन दिएका थिए। उनले प्रति ओभरमा आठ भन्दा कम रन खर्चिएको अवस्था थियो।
तर ब्राभो फिट थिएनन्। उनी त्यतिबेला मैदानमा पनि थिएनन्। त्यसैले धोनीले अन्तिम ओभरमा बलिङ गर्न रविन्द्र जडेजालाई बल सुम्पिएका थिए। अन्तिम ओभरअघि एक ओभर बलिङ गरेका जडेजाले १३ रन दिएका थिए।
जडेजाले अन्तिम ओभरमा पाँच बलमा २२ रन खर्चिए। जसमा तीन छक्काको मद्दतमा दिल्लीका अक्षर पटेलले २० रन जोडेका थिए।
धोनी खेलका दौरान क्याच कमैमात्र छाड्ने खेलाडीमा पर्छन्। यस्तै रणनीतिमा पनि धोनी अब्बल रहने गर्छन्। त्यसैले धोनीले अन्तिम ओभरमा १७ रन किन बचाउन सकेनन् भन्ने प्रश्न उठ्न सक्छ।
खेलपछि धोनीले भनेका छन्,'ब्राभो फिट थिएनन्। विकल्पमा रविन्द्र जडेजा र कर्ण शर्मा थिए। मैले जडेजाको मौका दिए।'
धवनको क्याच लिन नसकेको विषयमा धोनीले भनेका छन्,'हाम्रा लागि धवनको विकेट महत्वपूर्ण थियो। तर हामीले उनको क्याच ड्रप गर्यौ।'
चेन्नईका लागि १३ बलमा ३३ रन बनाएका जडेजा बलिङमा कमजोर देखिए। उनले बलिङमा ११ बलमा ३५ रन खर्चिए।
जारी आइपिएलमा लगातार तीन पटक ५० भन्दा बढी रन बनाएका धवन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो नम्बरमा पुगेका छन्। उनी जारी सिजनमा शतक बनाउने तेस्रो ब्याट्सम्यास समेत बने।
धवनले ९ खेलमा ३५९ रन बनाइसकेका छन्। ८ खेलमा ४४८ रन बनाएका किंग्स ११ पञ्जावका कप्तान केएल राहुल सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।