बुधबार नेपाली सागीतिक क्षेत्रका स्वर सम्राट नारायण गोपालको २८ औ स्मृति दिवसको अवसर पारेर गायक राम कृष्ण ढकालले उनै स्वरसम्राट नारायण गोपालको अन्तिम संगीत रहेको 'मेरो भुगोल त्यही नै हो जहाँ तिमी अटाउछौ' बोलको गीत रेकर्ड गरेका छन् ।
कमलपोखरीमा रहेको भोईस रेकर्डिङ स्टुडियोमा गायक ढकालले सो गीत रेकर्ड गराएका हुन् ।
बिष्णुबाबु देवोकोटाको शब्द, प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको यो गीतको संगीत नारायण गोपालले ३५ बर्ष अगाडि तयार पारेका थिए।
'जसको गीत सुनेर र गाएर मेरो सांगेतिक जीवनको आरम्भ भयो उहाँकै संगीतमा करिब ३५ वर्ष पछि त्यो पनि स्मृति दिवसको अवसरमा गाउँन पाउनु यो भन्दा ठुलो मेरो लागि के नै हुन सक्छ र?', ढकालले भावुक हुँदै भने, 'सायदै यो भन्दा ठुलो श्रद्धान्जली आदरणीय नारायण गोपालज्यु प्रति के नै हुन सक्छ र?'
यस्तै यस गीतका गीतकार बिष्णुबाबु देवोकोटाले नारायण गोपालको संगीतमा आफ्नो शब्द रहनु अविस्मरणीय पल भएको बताए।

'धेरै पहिला संगीत गर्नु भएको थियो तर शब्द थिएन र पछी मलाई त्यो संगीतमा शब्द भर्न एकदमै कठिन भएको थियो', उनले भने।
यस्तै गीतका संगीत संयोजक प्रदिप श्रेष्ठले धेरै पटक यसको संगीत संयोजन प्रयासपछि सोचेजस्तो भएकोमा खुशी व्यक्त गरे।
यस संगीतलाई खोजेका नेपाल कला संस्कृति बिकास केन्द्रका अध्यक्ष नवराज लामाले नारायण गोपालको निधन पछि बिस्तारै उनका गीत रेडियो, पत्र-पत्रिका तथा विभिन्न संचार माध्यममा कम हुँदै गएपछि २-४ जना साथीहरुसँग मिलेर स्वरसम्राट को स्मृति दिवस मनाउन सुरु गरेको स्मरण गर्दै सोही क्रममा उनका बारेमा खोज तलास गर्दै जाँदा संगीत भेटिएको खुलासा गरे ।
गायक ढकालले यो भन्दा पहिला पनि स्वरसम्राट नारायण गोपालको संगीतमा 'माया गर्नेको चोखो माया' गीत गाएका थिए ।