चितवन, नारायणघाटका बासिन्दाको विरोधपछि नारायणी नदी साँघुरो पार्नेगरी पानीजहाज कार्यालयले अघि बढाएको काम तत्कालका लागि रोकिएको छ।
नेपाल पानीजहाज कार्यालयले नारायणघाटको पुलदेखि देवघाटसम्म सहज रूपमा मोटरबोट चल्नेगरी नारायणीको पानी व्यवस्थापन गर्न 'स्पर' निर्माण गर्दै थियो।
नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस नजिक नदीमा भँगालो फाटेकाले हिउँदमा जल यातायातका लागि पर्याप्त पानीको व्यवस्था गर्न स्पर निर्माणको योजना ल्याइएको हो। दुई मिटर अग्ला तीन वटा स्पर निर्माण गरेर पश्चिमतर्फ बग्ने पानीलाई पूर्वतर्फ केन्द्रित गर्ने तयारी कार्यालयको थियो।
तर नारायणघाटका बासिन्दाले पानीलाई पश्चिम जान रोक्दा पूर्वतर्फ बाढीको खतरा बढ्ने भन्दै विरोध गरेका थिए।
नेपाल पानीजहाज कार्यालयका रजिस्ट्रार मणिराम भुसालले स्थानीयबासीको विरोधका कारण तत्कालका लागि काम रोकिएको जानकारी दिए।
'नारायणघाटमा अहिले अव्यवस्थित रूपमा मोटरबोट चलिरहेका छन्। ती मोटरबोटलाई हिउँदमा समेत सहज रूपमा देवघाटसम्म पुग्ने व्यवस्था मिलाउन हामीले प्रयास सुरू गरेका थियौं। तर स्थानीय बासिन्दाले नै विरोध गरेपछि काम अघि बढाउनुको अर्थ रहेन,' भुसालले भने, 'तत्कालका लागि काम स्थगन गर्ने निर्णय गरेका छौं।'
नारायणघाटका बासिन्दाले पहिले बाढीबाट सुरक्षित बनाएर मात्रै मोटरबोटको संरचना बनाउन आग्रह गरेको बताए।
'हुन त यो ठूलो काम होइन, सानो काम गर्न खोजेका थियौं। प्राविधिक अध्ययनबाट बस्तीमा असर नगर्ने देखिएपछि काम सुरू गरिएको हो। हिउँदमा स्परले छेकेर ५० सेन्टिमिटर जति पानी मात्रै ल्याउन सके मोटरबोट सहज रूपमा चल्न सक्थ्यो। वर्खामा स्परमाथिबाट पानी गइहाल्थ्यो। यति काम गर्न सक्दा यस क्षेत्रको पर्यटन विकासमा राम्रै हुन्थ्यो,' भुसालले भने।
उनले थपे, 'स्थानीयबासीले दुवैतर्फ तटबन्ध बनाएर बस्ती सुरक्षित बनाएपछि मात्रै मोटरबोटका लागि काम गर्नुपर्ने माग राखेकाले चित्त नबुझाई काम गर्न पनि भएन नि।'
दुई करोड ३९ लाख रूपैयाँ बजेटमा नारायणीमा स्पर निर्माण र मोटरबोटका लागि अवरोध हटाउने काम भइरहेको थियो। जेठभित्र काम सक्नेगरी निर्माण कम्पनीसँग चैत २८ गते सम्झौता गरिएको थियो। यो अवधिमा एउटा स्परको काम लगभग सकिएको भुसालले जानकारी दिए।


नारायणी नदीसँग जोडिएको दियालो टोल विकास संस्थाका अध्यक्ष रवि प्रधानले स्परले नदी साँघुरो बनाउँदा नारायणघाटमा बाढीको जोखिम बढ्ने बताए।
'हामीलाई गत वर्षको बाढीले नै झस्काएको थियो। नारायणघाटमा नै पस्ला जसरी बाढी आउँदा हामी तर्सिएका थियौं। नदीको दुईतर्फ तटबन्ध गरेर सुरक्षित बनाउनुपर्नेमा पानीलाई नारायणघाटतिरै केन्द्रित गर्नेगरी संरचना बनाउनु गम्भीर विषय हो,' प्रधानले भने, 'हामीले सुरूबाटै यो कामको विरोध गर्दै आएका छौं।'
नदीलाई प्राकृतिक रूपमा बग्न नदिई साँघुरो बनाएर धार नारायणघाटतिर केन्द्रित गर्न खोज्नु गलत भएको उनले बताए। पहिले दुवै किनारमा सुरक्षित तटबन्ध निर्माण गरेर मात्रै अरू काम सुरू गर्नुपर्ने माग स्थानीयबासीको छ।
पानीजहाज कार्यालयका अनुसार भविष्यमा देवघाटदेखि त्रिवेणीसम्म जल यातायात सञ्चालन गर्ने उद्देश्यसहित यो योजना आएको हो।
देवघाट–त्रिवेणी ८५ किलोमिटर दुरीमा जल यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइसकेको छ। आगामी वर्ष यसको डिपिआर तयार गरिँदैछ।
नारायणघाटमा मोटरबोट व्यवस्थित गर्न टर्मिनल भवन बनाउने योजना पनि रहेको रजिस्ट्रार भुसालले बताए। यसका लागि कार्यालयले अर्थ मन्त्रालयसँग साढे १३ करोड रूपैयाँ बजेट प्रस्ताव पनि राखिसकेको थियो।
तर स्पर निर्माणमा स्थानीयबासीले गरेको अवरोधको असर टर्मिनल भवनमा पनि पर्ने सम्भावना रहेको भुसाल बताउँछन्।
'हामीले त डिपिआर तयार गरेर बजेटको प्रस्ताव पेस गरिसकेका छौं। तर स्थानीयबासीको विरोध भयो भने यो काम पनि गर्न सकिँदैन। स्पर निर्माणमा भएजस्तै टर्मिनल भवनमा पनि विरोध हुनसक्ने भएकाले आगमी वर्ष बजेट विनियोजन हुने कुरा निश्चित छैन,' उनले भने।
