काठमाडौँको कोलाहल अझै पुरानै छ तर म भित्रको सन्नाटा पहिलाभन्दा फरक छ। स्नातकको अन्तिम परीक्षा सकेको केही महिना भएको छ— रिजल्ट पर्खिरहेको छु। बिहानदेखि साँझसम्म विश्वविद्यालयको परिणाम पोर्टल जाँच गर्ने बानी परे जस्तो भएको छ। लोक सेवाको तयारी गर्दै छु, किताबका पाना पल्टाउँछु तर कहिलेकाहीँ त्यो अक्षरहरूसँगै उसका अनुहारहरू पनि पल्टिन्छन्— ममता।
ममता, त्यो नामको मिठास अझै मनमा उस्तै छ। उसलाई मैले पहिलो पटक देखेको थिएँ नयाँ बानेश्वरको एउटा पुस्तक पसलमा। उसको हातमा 'राज्य व्यवस्था तथा शासन प्रणाली' थियो, आँखामा 'म यो देश बदल्छु' भन्ने सपना। त्यही सपना मैले पनि देखेको थिएँ— आफ्नै आँखा, उसकै आँखाबाट।
हामी दुवै लोक सेवा तयारी गर्नेहरू थियौँ। सँगै पढ्न थालेका थियौँ, सँगै खाना, सँगै चिया। हाम्रा चासोहरू साझा थिए— राजनीति, समाजशास्त्र, विकास र ती सबैका बिचमा एउटा अदृश्य प्रेम पनि अंकुरिएको थियो। तर त्यो प्रेम कहिले खुलेर फुल्न पाएन।
'तिमी साँच्चै लोक सेवा पास गर्न चाहन्छौ?' ममताले एक दिन सोधिन्।
'हो, मलाई लाग्छ यो नै हो— यत्रो वर्षको पढाइ, संघर्ष, यहीँ देशमा केही गर्ने सपना,' मैले भनेको थिएँ।
उसको अनुहार मलिन भयो।
'तर म थाकेँ,' उनले भनिन्, 'हरेक पटक चुनाव हुँदा आस गरिन्छ, फेरि निराशा। ठुला-ठुला योजना आउँछन् तर हामीजस्ता मध्यम वर्गीयहरूका लागि केही पनि बदलिँदैन। म अब विदेश जान चाहन्छु— कम्तीमा त्यहाँ श्रमको मूल्य त हुन्छ।'
म चुप लागेँ। मलाई उसका आँखामा देखिएको निराशाले झस्कायो। त्यो आँखा जसमा सधैँ मैले उज्यालो देखेको थिएँ, आज त्यही आँखामा अँध्यारो थियो।
'तिमी त मेरो जस्तै सपना देख्थ्यौ, ममता,' मैले भनेको थिएँ।
'सपना त थिए तर यथार्थ भयानक छ, सुशान्त। यो देशमा हामी जस्ता मान्छेहरूले आफूलाई प्रमाणित गर्नकै लागि जीवन बिताइरहनु पर्छ। मलाई जीवन चाहिएको छ, प्रमाण होइन।'
त्यो रात म धेरै बेरसम्म सोचिरहेँ— उसको हरेक शब्द, उसका डर, उसको आक्रोश।
सात दिनपछि ममताले खबर पठाइन्— 'बिहीबार जाँदै छु, अस्ट्रेलियाको भिसा लाग्यो।'
मेरो हातबाट मोबाइल खस्यो। झ्यालबाट बाहिर हेरेँ— पक्षीहरू खुला आकाशमा उडिरहेका थिए र म भने एक कोठाभित्र थुनिएको थिएँ, किताबका चाङहरू माझ।
बिहीबार आयो। म नयाँ बानेश्वर गेट अगाडि उभिएँ। उ आउँदा मैले उसको अनुहारमा खुसी खोजेँ। तर मलाई थाहा थियो त्यो खुसी होइन, एउटा बचेखुचेको निर्णय थियो।
'तिमी जानै पर्छ?' मैले सोधेँ।
'तिमी बस्नै पर्छ?' उसले उल्टै सोधी।
मैले केही भन्न सकिनँ। हामी एक अर्काको आँखामा हेर्यौँ, त्यहाँ प्रेम थियो तर त्यो प्रेम यो देशका विडम्बनाहरू जित्न सक्ने बलवान् थिएन।
'शुभकामना,' उनले भनिन्, 'तिमी लोक सेवा पास गर। सायद तिमी त्यो परिवर्तन ल्याउने मान्छे हौ, जुन तिमी अरूभन्दा फरक छौ, जसमा मैले मेरो प्रेमको मन्दिर बनाएको थिएँ, तिम्रो ती आँखाहरू र हाँसो त साँच्चै लोक सेवाको यात्रामा मात्र सीमित छैन, तिमी एक अविस्मरणीय पात्र हौ जसलाई मैले हरपल सम्झिरहने छु।'
हामीले एक अर्काको आँखामा हेर्यौँ। त्यहाँ प्रेम थियो तर त्यो प्रेम देशका संरचनागत समस्यालाई जित्न सक्ने शक्ति थिएन।
उनले फेरि भनिन्, 'तिमी लोक सेवा पास गर। सायद तिमी त्यो परिवर्तन ल्याउने मान्छे हौ, जुन म विश्वास गर्न छाडिसकेको छु।'
मैले तिम्रो हात समात्न खोजेँ तर तिमी हिँडिसकेकी थियौ— विदेशतर्फ। र म? म बसेँ— देशप्रेम तर्फ।
तिमीलाई म दोष दिन सक्दिनँ। तिमी मात्र होइन, हरेक दिन हजारौँ ममताहरू यो देश छाडिरहेका छन्— कतार, कोरिया, अस्ट्रेलिया, अमेरिका। एउटै कारण—भविष्य। र म? मजस्ता हजारौँ सुशान्तहरू अझै यहीँ छौँ— भविष्यलाई यहीँ खोज्ने आशामा।
देश सुधार्ने सपना देख्न गाह्रो छ तर असम्भव होइन भन्ने विश्वास अझ बाँकी छ। ममता अब मेरो लागि केवल एक प्रेम पात्र होइन। ऊ अब भावना हो— सपना हो, जुन धेरैले देख्छन् तर थोरैले पूरा गर्छन्। उसको यादमा म एक्लै चिया पकाउँछु, प्रश्नपत्र हल गर्छु। कहिलेकाहीँ त्यो चियाको कपमा म उसलाई देख्छु— उसका आँखा, उसको हाँसो अनि त्यो अधुरो सपना।
उसको अन्तिम वाक्य आज पनि मेरो कानमा घन्किन्छ— 'तिमी त्यो परिवर्तन ल्याउने मान्छे हौ जुन म विश्वास गर्न छाडिसकेको छु।' र अब म लोक सेवा केवल जागिरको लागि पढ्दिनँ। म त्यो विश्वास पुनः जगाउने यात्रामा छु— जसले ममता जस्ता युवाहरू फेरि नेपालमै अवसर देखुन्।
सायद एक दिन म मन्त्रालयमा एउटा निर्णय लिन्छु, जसले हजारौँ युवाको जीवन बदल्छ। अनि सायद त्यो खबर ममताले सिड्नीको कफी शपमा पढ्छिन्— 'नेपालमा अब काम गर्न सकिने वातावरण बनिसक्यो।'
सायद त्यो दिन उनी भन्छिन्— 'सायद म पनि फर्कन्छु।'
एक्लोपनाको पनि शक्ति हुन्छ। म एक्लो छु तर यही एक्लोपनामा कर्मको बीउ छ र यही कर्म अब राष्ट्रसेवक बन्न गइरहेको छ। ममतालाई सम्झनु अब अधुरो प्रेम सम्झनु मात्र होइन— त्यो देशप्रेमको पुष्टि हो। उसले थाकेर छाडेकी थिई, मैले सम्हालेँ। उसले टाढा जान खोजी, मैले देशमै बस्ने निधो गरेँ। उसको छोडिएको सपना अब मेरो यात्राको लक्ष्य हो। यो केवल प्रेमकथा होइन— देशप्रेमको घोषणा हो।
ममतालाई माया गर्नु सजिलो थियो तर त्यस मायालाई देशप्रेममा बदल्नु गाह्रो। मैले त्यो गाह्रो बाटो रोजेको छु। किनकि म बुझ्छु— ममताको अन्त्य होइन, त्यो त एउटा सुरुआत हो। एक युवाको सपना— अब हजारौँ युवाको यथार्थ बन्न सक्छ। र म आज पनि बानेश्वरको चिया पसलको त्यो कुनामा बस्छु— देश बदल्ने आशा बोकेर। सायद म एक्लो छु तर एक्लोपनै कहिलेकाहीँ क्रान्तिको सुरुआत हुन्छ।
अन्ततः ममताको गन्तव्य विमान थियो र मेरो गन्तव्य संविधान। ऊ उडिन् उज्यालो खोज्न, म डुबेँ अँध्यारो सुधार्न। उसले भविष्यको ग्यारेन्टी खोजी, मैले भविष्यको निर्माण। देश छाड्नु उसको बाध्यता थियो, बाँकी रहनु मेरो सङ्घर्ष। हरेक झुपडी, हरेक चिया पसल, हरेक उकालो-बिलिनोमा म ममताको अनुहार देख्छु र सम्झन्छु, उसले छोडेको त्यो अधुरो सपना अब मेरो काँधमा जिम्मेवारी बनेर बसेको छ।
आज ममतालाई सम्झँदा आँखाभरि आँसु आउँदैन, बरु हिम्मत आउँछ। किनभने ऊ अब मेरो प्रेम मात्र होइन, मेरो प्रेरणा हो। लोक सेवा मेरो लक्ष्य होइन अब, त्यो त केवल एउटा बाटो हो— देशमा आशाको झिल्को फिर्ता ल्याउने। कहिल्यै नफर्कने जस्तो लाग्ने ममता, सायद भोलिको नेपाल हेरेर फर्किन्छिन्— त्यो नेपाल, जुन सपना हामीले एउटै किताब पल्टाउँदै देखेका थियौँ।
हो, म एक्लो छु तर यही एक्लोपनाबाट सुरु हुन्छ एउटा यस्तो क्रान्ति जहाँ प्रेमले देशप्रेमलाई जित्छ। ममता गइन् तर म अझै बाँकी छु। न केवल तिम्रा लागि, म अब सिंगो देशका ममताहरूका लागि बाँकी छु।