भारतीय अभिनेता आमिर खानको बहुप्रतीक्षित फिल्म 'सितारे जमिन पर' को ट्रेलरले भारतमा निकै चर्चा पाइरहेको छ। यता नेपालमा भने फिल्मको ट्रेलरले भन्दा पोस्टरमा प्रयोग भएको टाइटल अक्षर बढी चर्चामा छ।
कुनै हिन्दी फिल्मको टाइटल अक्षरले नेपालमा चर्चा पाउनुको कारण के त?
कारण हुन्, उक्त अक्षरका ग्राफिक डिजाइनर आनन्द महर्जन।
आनन्दले हिन्दी फिल्ममा काम गरेको पहिलोपटक होइन। उनले आमिर खानको अघिल्लो फिल्म 'लालसिंह चड्डा' देखि शाहरूख खानको 'जवान', सलमान खानको 'ट्युबलाइट', अक्षर कुमारको 'सूर्यवंशी' लगायत ६०–७० वटा हिन्दी फिल्मको टाइटल अक्षर डिजाइन गरिसकेका छन्।
उनले काम गरेको पहिलो बलिउड फिल्म ऋतिक रोशनको 'काबिल' हो।
उनी भारतको वान–एच–वान कम्पनीसँग सहकार्य गरेर काम गर्छन्। त्यहाँ काम थालेको आठ वर्ष भयो। यति लामो समयदेखि बलिउड फिल्ममा संलग्न रहे पनि धेरैलाई जानकारी थिएन।
उनले नै केही दिनअघि सामाजिक सञ्जालमा 'सितारे जमिन पर' को पोस्टर राखेपछि एक जनाले प्रश्न गरे। त्यसपछि बल्ल यो कुरा बाहिर आयो।
आफ्नो काम सार्वजनिक नगर्नुको कारण सोध्दा आनन्दले भने, 'बलिउड फिल्महरूमा काम गरेको भए पनि आफ्नो पोर्टफोलियोमा त्यसबारे उल्लेख नगर्ने सर्त थियो। त्यही भएर म यस्तो काम गर्छु भन्ने धेरैलाई थाहा थिएन।'
बलिउडमा संलग्न भएको धेरैलाई थाहा नभए पनि नेपालमा भने फिल्मको पोस्टर डिजाइनदेखि टाइपोग्राफी (अक्षर डिजाइन) र विभिन्न फन्ट (कम्प्युटर अक्षर) डिजाइनमा आनन्दले ख्याति कमाइसकेका छन्।
उनले हाल प्रदर्शन भइरहेको 'जारी' देखि 'कबड्डी' (भाग ३ र ४), 'महाजात्रा', 'दिमाग खराब', 'मञ्जरी' लगायत नेपाली फिल्ममा काम गरेका छन्। उनले काम गरेको पहिलो फिल्म 'छड्के' हो। त्यो फिल्मको काम उनले सजिलै पाएका थिएनन्।
'छड्के' टिमले फिल्मको पोस्टर डिजाइन गर्न प्रतियोगिता राखेको थियो। त्यसमा आनन्दले बनाएको पोस्टरले सबैलाई जित्यो। त्यसपछि उनले लगालग फिल्मको पोस्टर बनाउने काम पाइरहे।
उनले किताबको कभर डिजाइनदेखि व्यावसायिक क्षेत्रका पोस्टर पनि बनाएका छन्।
आनन्दको करिअर ग्राफिक डिजाइनरका रूपमा सुरू भएको थियो। नौ वर्षयता उनी 'हाम्रो पात्रो' मा काम गरिरहेका छन्। उनले आफ्नै नाममा विभिन्न अक्षरका फन्ट डिजाइन गरेका छन् — आनन्द, आनन्द नमस्ते, आनन्द उकाली ओराली, यताउती, फन्को आदि।
'मैले आफ्नो व्यक्तिगत रूचिका कारण फन्ट डिजाइन सुरू गरेको हुँ। आनन्द शृंखला बाहेकका फन्ट पनि बनाएको छु,' उनले भने, 'ग्यालेक्सी टिभीका लागि मैले ग्यालेक्सी फन्ट बनाएको थिएँ।'
अहिले चर्चामा आएको हिन्दी फिल्म 'सितारे जमिन पर' को टाइटल अक्षर चाहिँ फन्ट नभएर टाइपोग्राफी भएको उनी बताउँछन्।
यी दुईबीच के फरक छ भन्ने प्रश्नमा आनन्दले भने, 'फन्ट बनाउँदा क देखि ज्ञ अक्षरसँगै आकार, उकार लगायत सबै एक–एक गरेर बनाउनुपर्छ। कुनै कुनै बनाउन त एक–दुई वर्ष पनि लाग्न सक्छ। तर टाइपोग्राफी भनेको एकछिनको काम हो। यसमा आफ्नै ढंगले निश्चित अक्षरहरू लेखिन्छ।'
'सितारे जमिन पर' को टाइपोग्राफी आफूले एक दिनमै बनाएको उनले बताए।
यसरी कुनै फिल्म वा व्यावसायिक कम्पनीका लागि टाइपोग्राफी बनाउँदा कतिपय एकैचोटिमा छनौट हुन्छ भने कतिपय छनौटमा नपर्न सक्छ।
उनले आफ्नो करिअरको सुरूआतमा यस्ता फन्ट र टाइपोग्राफी नि:शुल्क बनाइदिएका थिए। अहिले उनी पैसा लिएरै काम गर्छन्।

आनन्दले नेपालको सबभन्दा राम्रो लिपि मानिने रञ्जना लिपिमा पनि काम गरेका छन्। सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुँदा यो लिपिलाई नेपालको लिपि भनेर चिनाइएको थियो। अहिले यसलाई नयाँ पुस्तामाझ पुनः चिनाउने र प्रवर्द्धन गर्ने काममा आनन्द संलग्न छन्।
उनी नेपालका लिपि चिनाउने 'क्यालिजात्रा' का अध्यक्ष पनि हुन्। क्यालिजात्राले भारतको 'टाइप' भन्ने संस्थासँग मिलेर नित्या रञ्जना लिपि बनाएको थियो। यो काम सक्न दुई वर्ष लागेको उनी बताउँछन्।
यो लिपिले 'डिएन्डएडी यल्लो पेन्सिल अवार्ड' पाएको छ, जुन डिजाइनरहरूको निम्ति प्रतिष्ठित अवार्ड हो। त्यस्तै, कम्युनिकेसन आर्टस् टाइपोग्राफीको 'अवार्ड अफ एक्सिलेन्स' पनि पाएको छ।
क्यालिजात्राले स्थानीय लिपिहरू प्रवर्द्धन गर्न अभियान सञ्चालन गर्छ; जसअन्तर्गत प्याम्पलेट, पर्चा, किताब, एनिमेसन लगायतका काम भइरहेका छन्।
आनन्दले रञ्जना लिपिको एप बनाएका छन्। अनलाइनमार्फत् नेपाल भाषा पनि सिकाइरहेका छन्।
'भारतीय कम्पनीले विभिन्न ठाउँमा यो लिपि प्रवर्द्धन गरेको रहेछ र प्रतियोगितामा पनि सहभागी भएको रहेछ। उनीहरूको आफ्नै खालको प्राविधिक विशेषज्ञताले यो लिपि हेर्दा सुन्दर देखिएको छ,' आनन्दले भने, 'हामीसँग भने त्यस्तो विशेषज्ञता छैन। प्रचार गर्ने तरिका पनि जानेका छैनौं भन्ने लाग्छ।'
पछिल्लो समय 'एआई' ले पनि डिजाइन र टाइपोग्राफीमा चुनौती थपिदिएको आनन्दले महसुस गरेका छन्। तर त्यसको सही सदुपयोग गर्दा फाइदा नै भएको उनको भनाइ छ।
'अहिले एआई चलाउँदिनँ भन्यो भने आफै पछाडि परिन्छ। समय पनि बर्बाद हुन्छ। राम्ररी चलाउन जान्यो भने फाइदा लिन सकिन्छ,' उनले भने।
उनी अहिले नेपाल भाषाका साहित्यकार दुर्गालाल श्रेष्ठको हस्तलिखित अक्षरलाई कम्प्युटरमा टाइप गर्न मिल्ने फन्ट बनाउँदै छन्। केही दिनमै यो फन्ट सार्वजनिक हुने आनन्दले बताए।
'दुर्गालाल श्रेष्ठको हस्तलिखित अक्षर कम्प्युटरले टाइप गरेभन्दा मिलेको र सुन्दर भएको भनेर धेरैले वर्णन गर्दै आएका छन्। त्यही भएर मलाई उहाँको फन्टमा काम गर्ने इच्छा जाग्यो,' उनले भने।
यो फन्ट तुरून्तै प्रयोग गर्न भने पाइँदैन। सुरूमा त्यही फन्ट प्रयोग गरेर दुर्गालालका केही कविताका किताब छाप्ने योजना छ। त्यसपछि मात्र सार्वजनिक प्रयोगमा ल्याइनेछ।
***