गत मंसिर २३ मा सुरू भएको पाँच दिने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण २७ गते सकियो। चलचित्र विकास बोर्डको सभाकक्षमा उद्घाटन भएको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए।
महोत्सव शुभारम्भ चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए।
कोरोना महामारीका कारण लामो समय खुम्चिएको सार्वजनिक वृत्तमा किम्फले सिनेमाप्रेमी र दर्शकमा सकारात्मक उत्साह थपेको छ। महोत्सवमा दर्शकहरूको उत्साहजनक सहभागिता यसको कारण हो।
महोत्सव भौतिक उपस्थिति र अनलाइन माध्यमबाट मिश्रित शैलीमा आयोजना भएको थियो। नयाँ-पुराना तथा देश-विदेशका राम्रा फिक्सन र ननफिक्सन फिल्महरू हेर्न पाउनु किम्फको विशेषता हो।
यसपटक पनि महोत्सवमा थुप्रै सुन्दर फिल्म प्रदर्शन गरिए। फिल्मबारे अन्तर्क्रिया र अन्य गतिविधि पनि भए। जलवायु परिवर्तनका विषयमा केन्द्रित किम्फको यो संस्करणलाई 'क्लाइमेट कर्म' शीर्षक दिइएको थियो।
महोत्सव सकिए पनि किम्फको अफिसियल वेबसाइटमा अझै केही फिल्म डिसेम्बर १९ सम्म उपलब्ध हुने छन्। किम्फमा सर्वोत्कृष्ट बनेको 'एभरेस्टः द हार्ड वे' सहित केही फिल्म अझै हेर्न सकिन्छ।
तपाईंले यो महोत्सवका कति फिल्महरू हेरिसक्नु भयो होला। कति छुटेका पनि हुन सक्छन्। यहाँ हामीले किम्फमा अवार्ड जितेका मुख्य फिल्म हेर्न छुटाएका दर्शकका लागि हामीले छोटो जानकारी दिएका छौं।
यी हुन् किम्फमा अवार्ड जितेका उत्कृष्ट फिल्महरूः
एभरेस्टः द हार्ड वे
पाभ्लो बारबासले निर्देशन गरेको 'एभरेस्ट द हार्ड वे' अन्तर्राष्ट्रिय खण्डमा सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्यो।
एउटा सगरमाथा आरोहण दलको कथा देखाइएको फिल्मले सन् १९७५ दक्षिण–पश्चिम मोहोडाबाट सगरमाथा चढ्ने प्रयास गर्छन् जुन त्यस अघि कसैले गरेका हुँदैनन्।
यो रूटलाई त्यति बेला एकदमै कठिन बाटो मानिन्थ्यो। कम अक्सिजन, अप्ठ्यारा बाटा र शेर्पाहरूको सहयोग बिना त्यो रूटबाट उक्लन असम्भव जस्तै थियो। फिल्ममा त्यही कठिन यात्राको रोमाञ्चक कथा देखाइएको छ।
यो फिल्म हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्ः https://festival.kimff.org/watch-everest-najtazsia-cesta-the-hard-way/
बिटविन फायर एन्ड वाटरः
आदिवासीको एउटा परिवारले पालिरहेको अनाथ बालकको कथा भन्ने फिल्म हो, बिटविन फायर एन्ड वाटर।
त्यो गाउँको एक मात्र कालो वर्णको मान्छेका रूपमा हुर्केका ती बालक सधैं आफूलाई अरूभन्दा भिन्न सोच्छन्। ती बालकले आफ्नो वास्तविक कथा खोज्ने प्रयासलाई फिल्ममा देखाइएको छ।
कोलम्बियाकी निर्देशक भिभियाना गोमेजले निर्देशन गरेको यो फिल्म किम्फको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको थियो।
गड्ज बफ्यालोः
किम्फमा एक हजार अमेरिकी डलरको सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड र ७५ हजार रूपैयाँको नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको गड्ज बफ्यालो यसपटकको किम्फमा दर्शक र जुरीको मन जित्न सफल भयो।
यसको निर्देशन विष्णु कल्पितले गरेका हुन्। फिल्ममा उर्लिएको बाढीले बगाएको गर्भिणी भैंसीको कथा छ। शिवभक्तिले आमासरह मानी माया र पूजा गर्ने भैंसी आँखैअघि इन्द्रावतीको बाढीमा बेपत्ता भएको मार्मिक कथा छ।
गड्ज बफ्यालोमा हेलुम्ब-२ किउलबाट बगेको भैंसी चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, बाहुनेपाटीका गल्छेँडाहरु पार गर्दै कसरी सीमावर्ती काभ्रेपलाञ्चोकको फड्केश्वर पुग्छ र उद्दारकर्ताले त्यो गर्भिणी भैंसीको उद्दार गर्छन् भन्ने देखाइएको छ।
येट एनदर विन्टरः
नेपाल पानोरमा खण्डमा उत्कृष्ट आख्यान फिल्म बनेको यो फिल्म किरण श्रेष्ठले निर्देशित गरेका हुन्।
यसमा पाँच वर्षकी कान नसुन्ने छोरीले कान सुन्छिन् कि भन्ने आशामा एउटी आमाले गर्ने मनोवैज्ञानिक र भौतिक यात्राको कथा छ।
आस्था र अन्धविश्वासबीचको द्वन्द्वको कथालाई फिल्ममा संवादभन्दा दृश्यका माध्यमबाट कलात्मक रूपमा चित्रण गरिएको छ।
द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज
विभूषण बस्नेत र पूजा गुरुङले निर्देशन गरेको यो फिल्मले नेपाल पानोरमा 'खण्डमा स्पेसल मेन्सन' अवार्ड जित्यो। यसमा कलाकार खोज्ने क्रममा फिल्म निर्माण समूहले साेचेका-भोगेका विविध पक्षलाई प्रयोगात्मक शैलीमा देखाइएको छ।