पुस्तक समीक्षा
धेरै समयपछि कुनै उपन्यासले मलाई यति गहिरोसँग छोयो कि म केबल पाठकमा सीमित रहिनँ; मलाई यसबारे समीक्षा लेख्न पनि लाग्यो। प्रवासको व्यस्त जीवन, समयको अभाव र जिम्मेवारीको चापबीच लेखनलाई निरन्तरता दिनु आफैमा एउटा मौन संघर्ष हो। त्यसैले जब 'कम्पनी' हातमा आयो, मैले केवल कथा पढिनँ—मैले एउटा लेखकको धैर्यता, मौनता, घुटन र आत्मदाहको धुवाँ महसुस गरेँ।
कार्य व्यस्तताले गर्दा प्रवासमा निरन्तर साहित्य पढ्नु चुनौतीपूर्ण हुन्छ; त्यही परिवेशमा बसेर उपन्यास सिर्जना गर्नु अझ ठूलो साहस हो। 'कम्पनी' पढ्दा मैले कथाभन्दा बढी प्रवासी चेतनाको निरन्तरता देखेँ—जहाँ अतीत वर्तमानसँगै हिँडिरहेको हुन्छ र स्मृति कहिल्यै पूर्ण रूपमा छुट्दैन।
म आफै त्यही अवस्थाबाट गुज्रेर 'पेरिस्कानो' लेखेकी हुँ। आज पनि 'पेरिस्कानो' हातमा लिँदा जुन सन्तोष र आत्मीय आनन्द महसुस हुन्छ, त्यसलाई शब्दमा पूर्ण रूपमा उतार्न सक्दिनँ।
विमोचनका बेला मैले भनेकी थिएँ— 'यो मेरो पहिलो सन्तान हो।'
आमा–बुबाको माया हामी दिदीबहिनी र दाजुभाइबीच बाँडिन्छ; छोराछोरीको खुसी हामी श्रीमान–श्रीमतीले सँगै बाँड्छौँ। तर आफ्नै कृति भने नितान्त आफ्नै हुन्छ। त्यो अनुभूति कसैसँग विभाजन हुँदैन, त्यो स्वामित्व कसैसँग आधा हुँदैन। कृति केवल शब्दहरूको सग्रह होइन; त्यो आफ्नै समय, आफ्नै पीडा, आफ्नै खुसी, आफ्नै भोगाइ, आफ्नै महसुस, आफ्नै दृष्टि, आफ्नै चिन्तन मनन, आफ्नै सपनाको सार हो। त्यसैले आफ्नो पुस्तक हातमा लिनु भनेको आफ्नै संघर्षलाई छाम्नु जस्तै हो—त्यो स्पर्श निजी हुन्छ, गहिरो हुन्छ, र अविभाज्य हुन्छ।
त्यसैले प्रवासमा बसेर लेख्ने लेखकहरूप्रति मेरो सम्मान अझ गहिरो छ। म उनीहरूको लेखन पीडा बुझ्न सक्छु—किनकि शब्दहरू कहिल्यै सजिलै जन्मिँदैनन्; ती समय, तीतोपन, मिठोपन र सम्झनाको गर्भबाट जन्मिन्छन्। सायद यही कारणले प्रवासी लेखकहरूका कृतिहरू मलाई अझ बढी स्पर्श गर्छन्। म उनीहरूको मौन संघर्ष, समय र निन्द्रा चोरेर लेखिएको प्रत्येक वाक्य, र स्मृतिबाट निस्किएको प्रत्येक दृश्यको मूल्य बुझ्छु। उनीहरू केवल कथा लेख्दैनन् उनीहरू दूरी, समय र स्मृतिलाई शब्दमा रूपान्तरण गर्छन्। प्रवासमा लेख्नु भनेको केवल साहित्य सिर्जना गर्नु होइन—त्यो आफ्नै अस्तित्वलाई बचाइराख्ने प्रयास पनि हो। र कम्पनी त्यही प्रयासको एक सशक्त उदाहरण हो।
रिडर रेस्पोन्ज थ्योरीले भन्छ— लेखकले कृति समाप्त गरेपछि उसको भूमिका सकिन्छ, र त्यही क्षण पाठकको भूमिका सुरू हुन्छ। तर म थप्न चाहन्छु—जब किताबले पाठकको मनमा प्रश्न जन्माउँछ, व्याख्याको आग्रह गर्छ, र अर्थको बहस निम्त्याउँछ, त्यही क्षण समीक्षकको जन्म हुन्छ। सुरूमा कम्पनी मैले नितान्त पाठक भएर पढेँ—मनोरञ्जन लिएँ, अनुभूति सँगालेँ, पात्रहरूसँग हिँडेँ। तर पछि समीक्षक भएर पनि हेर्ने प्रयास गरेँ—किताबले के भनिरहेको छ? के मौन छ? के संकेत गरिरहेको छ?
- के यो केवल एउटा कामदारको कथा हो, वा श्रम र संरचनाबीचको गहिरो द्वन्द्व?
- के नायकको घुटन व्यक्तिगत असफलता हो, वा पुँजीवादी व्यवस्थाको अदृश्य दबाब?
- के लेखक आफ्नै अनुभव लेखिरहेका छन्, वा सामूहिक प्रवासी चेतनालाई स्वर दिइरहेका छन्?
- के धुवाँ केवल चुरोटको प्रतीक हो, वा अस्तित्वको निस्सासिएको सास?
- के महिलाहरू कथा भित्र केवल भावनात्मक आधार हुन्, कि आफ्नै संघर्ष र चेतना सहित प्रस्तुत पात्र? यदि पुरूष पात्रको घुटन देखिन्छ भने, महिलाको घुटन किन कम दृश्यात्मक छ?
- के धर्म यहाँ आत्मसान्त्वनाको माध्यम हो, कि सामाजिक संरचनाको अदृश्य नियन्त्रण?
- विदेश पुगेपछि के जात हराउँछ? कि त्यो केवल उच्चारण नगरिएको मौन पहिचान बनेर सँगै हिँडिरहन्छ पात्र हरिले हिँडाएको जसरी?
'कम्पनी' ले प्रत्यक्ष रूपमा यी विषयहरूमा घोषणापत्र लेख्दैन; तर यसको मौनतामै प्रश्नहरू लुकेका छन्। कहिलेकाहीँ साहित्यले बोल्नुभन्दा बढी नबोलेर अर्थ सिर्जना गर्छ।
साहित्यको काम सधैं उत्तर दिनु होइन; कहिलेकाहीँ असहज प्रश्नहरू छोडेर जानु नै यसको सबैभन्दा ठूलो शक्ति हो। यिनै प्रश्नहरूबाट एउटा कथा केवल कथा रहँदैन—संवाद बन्छ। र सायद त्यही संवाद नै साहित्यको वास्तविक उद्देश्य हो। सायद मेरा यी समीक्षा वा विचार भनौं लेखक कुमार शर्मा र उहाँका पाठकहरूले पनि आत्मीयतासाथ स्वीकार्नुहुनेछ भन्ने विश्वास छ—किनकि समीक्षा विरोध होइन, संवाद हो।
कम्पनी कुनै ठूला वाक्यको चमकधमक, श्रृंगारिक भाषाको आवरण, वा दार्शनिक जटिलताको प्रदर्शनमा अडिएको उपन्यास होइन। यो सोजु जस्तै लोकल छ—सिधा, पारदर्शी, तीतो, तर मिठो। यसको शक्ति चर्को साहित्यमा होइन; यसको सौन्दर्य अलंकारमा होइन, सरलतामा छ। सरल भाषाशैलीमा लेखिएको यो कृति एउटा कम्पनीको साधारण कामदारको जीवन पनि साहित्य बन्न सक्छ भन्ने ज्वलन्त प्रमाण हो। यसले साहित्यको परिभाषालाई विस्तार गर्छ—भव्य कथानक नभए पनि, गहिरो अनुभूति पर्याप्त हुन्छ।
साहित्यिक दृष्टिले, उपन्यासले एउटा सूक्ष्म तर गहिरो सन्देश दिन्छ—साहित्य असाधारण विषय खोजेर मात्र जन्मिँदैन; साधारण जीवनलाई असाधारण संवेदनाले हेर्दा जन्मिन्छ। जब लेखकले दैनिक जीवनको निस्सासिएको सास सुन्न सक्छ, त्यहीँबाट आख्यानको जन्म हुन्छ। अत्यधिक श्रृंगार, जटिल संरचना वा भावुकताको अतिरेक आवश्यक पर्दैन; यथार्थको निस्सासिएको धड्कन नै कहिलेकाहीँ सबैभन्दा ठूलो कथावाचन हुन्छ। यस अर्थमा कम्पनी केवल कथा होइन—यो साधारणताभित्र लुकेको असाधारणताको शान्त तर दृढ संकल्प हो।
सैद्धान्तिक दृष्टिले हेर्दा, कम्पनी सामाजिक यथार्थवाद को सशक्त उदाहरण हो। कथा एक युवकको अनुभवमा आधारित छ, जो रिसर्च र पिएचडी छात्रवृत्ति पाएर कोरिया जान्छ। केवल दुई महिना कोरियन भाषा सिकेर गएको युवकलाई एयरपोर्टबाटै भाषा बुझ्न संघर्ष गर्नुपर्छ, र यही क्षण नै असल संघर्ष र घुटनको सुरूआत बनिरहेको महसुस हुन्छ।
तर, आलोचनात्मक दृष्टिले भन्नुपर्दा, उपन्यासमा कोरियन भाषाका शब्दहरू केवल फाटफुट्ट मात्र प्रयोग भएका छन्। पाठकलाई अझै बढी वातावरणमा डुबाइदिने हिसाबले केही शब्द र संवाद थप्दा कथा अझ प्रामाणिक र आकर्षक बन्न सक्थ्यो। उदाहरणका लागि, 'हानाहासियो' (नमस्ते जस्तो साधारण अभिवादन) जस्ता शब्दहरू अनुपस्थित छन्। बरू 'ग्याम्साविन्दा' (धन्यवाद) चाहिँ कहीँकतै प्रयोग भएको पाइन्छ। कोरियन केही रमाइलो शब्दहरू अलिकति क्रमिक रूपमा उपन्यासभरि मिसाइएका भए, कम्पनीको माहोल अझ जीवित र वास्तविक महसुस हुने थियो र पाठकलाई वास्तविक कम्पनीको वातावरणमा पूर्ण रूपमा डुब्ने अवसर मिल्थ्यो।
त्यस्तै, उपन्यासमा केही हिन्दी र उर्दूका लवज तथा गीतका लाइनहरूको प्रयोगले लेखक भाषाको विविधता र सांगीतिक संवेदनामा रूचि राख्ने व्यक्तित्वको झलक दिन्छ। उदाहरणका लागि, तीर्थले आफ्नो प्रेमिकाको तस्बिर ट्वाइलेटमा फ्लस गर्दा हिन्दी चलचित्र जब वी मेट को प्रसङ्ग सम्झाउँछ। यसले लेखकको फिल्मप्रेमी व्यक्तित्वको संकेत दिन्छ र कथामा पप–कल्चर र व्यक्तिगत स्मृतिको रमाइलो मिश्रण प्रस्तुत गर्छ।
यदि भाषा प्रयोग अलिकति विस्तार, थप कोरियन शब्द तथा संवादसँग दरिलो रूपमा मिसाइएका भए, कथा प्रवासी जीवनको वास्तविकता अझ प्रभावकारी र आकर्षक रूपमा चित्रण गर्न सक्थ्यो। यसले पाठकलाई पात्रको अनुभवसँग अझ गहिरोसँग जोड्थ्यो र सांस्कृतिक बहुभाषिकताको अनुभूति अझ दरो बनाउने थियो।
लेखकले श्रम, घुटन, आर्थिक असुरक्षा र प्रवासी जीवनको क्लौस्ट्रोफोबिक अनुभवलाई बिना नाटकीयता प्रस्तुत गरेका छन्। उपन्यासमा व्यक्तिको संघर्ष केवल व्यक्तिगत अनुभव मात्र होइन; यो संरचनात्मक दबाब र पुँजीवादी प्रणालीभित्रको स्थानको प्रतिनिधित्व पनि हो। यस दृष्टिले कथा श्रम–पुँजी सम्बन्धको विमर्शसँग जोडिन्छ—जहाँ व्यक्ति संरचनाभित्र बाँधिएको हुन्छ, तर त्यही सीमाभित्र आफ्नो अस्तित्व र निर्णयको खोजी निरन्तर जारी रहन्छ।
'घुटन' र 'सफोकेसन' को अनुभूति अस्तित्ववादी संकटसँग पनि जोडिन्छ, जसलाई फ्राइडियन वा अस्तित्ववादी दृष्टान्तले व्यक्तिको स्वतन्त्रता र जिम्मेवारीबीचको द्वन्द्वका रूपमा व्याख्या गर्न सकिन्छ। लेखक भौगोलिक रूपमा अष्ट्रेलियामा बसेर लेखे पनि, मानसिक रूपमा कोरियाको त्यो जंगलभित्रको कम्पनीमै अडिएको चेतना प्रस्तुत गर्छन्। यसले स्मृति र अनुभवबीचको सम्बन्धलाई उजागर गर्छ—जस्तो कि अतीत वर्तमानमा निरन्तर प्रभाव पारिरहेको छ।
जब युवक नेपाल फर्किने निर्णय गर्छ, तीर्थले प्रश्न गर्छ— 'अचानक किन? अलि वर्ष बसेर पैसा कमाएर फर्किनु हुन्थ्यो कि?' यसै क्रममा लेखकले उदारहणको रूपमा दुई साथीको कथा प्रस्तुत गर्छ। पहिलो साथीको भारी खल्ती सजिलै नहर पार गर्छ, तर दोस्रो साथीको खाली खल्ती नहरको बीचमा पछारिन्छ। यस दृश्यले स्पष्ट देखाउँछ—सामाजिक र आर्थिक परिस्थितिले व्यक्तिको निर्णयमा प्रभाव पार्न सक्छ, तर युवकको निर्णय अडिग रहन्छ। भारी खल्तीले सुरक्षित यात्रा जनाउँछ भने खाली खल्ती असुरक्षा र चुनौतीको प्रतीक—तर अन्ततः युवकले आफ्नो मार्ग निर्धारण गर्छ, जसले स्वतन्त्रता र आत्मनिर्णयको महत्व पुष्टि गर्दछ।
लेखकले आमाबुबा र सन्तानबीचको सम्बन्ध केवल भावनात्मक प्रेमका आधारमा नभई आर्थिक संरचना र जीवन–पार्जनको वास्तविकतामा आधारित देखाएका छन्। नेपाल जस्तो पारम्परिक समाजमा, सन्तानका लागि जिम्मेवारी केवल माया मात्र होइन; परिवारको भविष्य र आर्थिक सुरक्षा सुनिश्चित गर्ने सामाजिक–सांस्कृतिक दायित्व पनि हो। अझ झन् छोराप्रति आमाबुबाको आश, भरोसा र बुढेशकालको सहाराको सोच हाबि हुन्छ। यस दृष्टिले, लेखकले प्रवासी जीवन र परिवार सम्बन्धको जटिलता अत्यन्त सूक्ष्म तर प्रभावकारी तरिकाले प्रस्तुत गरेका छन्—जहाँ व्यक्तिगत इच्छाशक्ति, सामाजिक संरचना, र पुँजीवादी अर्थ–सङ्गठनको द्वन्द्व एकैसाथ अनुभव हुन्छ।
कथा अघि बढ्दा, युवक अर्थात् कमल र तीर्थको कहानीले आपसमा साटासाट गर्दै कथा अघि बढाउँछ। घरी तीर्थको कथा, घरी युवकको कथा—यसरी पढ्दा उपन्यासमा दुई पात्र प्रमुख छन् भन्ने महसुस हुन्छ। तर पाठकको दृष्टिले युवकको कथा अझ बढी केन्द्रित र विस्तार हुने भए कथा अझ प्रभावकारी हुने थियो। युवकको अतीत थोरै मात्र खुलाइएको वा भनौँ त्यति खुलाएकै छैन जसले गर्दा पाठकले कतै कतै कथाको च्याप्टरमा अधुरोपन महसुस गर्न सक्छ।
पात्रको नाम प्रयोगले पनि कथाको फोकसमा असर गर्छ। कमल नाम केही पछि मात्र खुल्छ, तर लेखक पटक–पटक 'युवक' शब्द प्रयोग गर्छन्। यसले पाठकलाई कहिलेकाहीँ भ्रममा पार्न सक्छ—'युवक' भन्नाले कमल हो कि अर्को नयाँ पात्र हो? यदि कमल नाम खुलाइसकेपछि निरन्तर 'कमल' वा 'उ' प्रयोग गरिएको भए, कथा अझ पढ्न सजिलो हुन्थ्यो, स्मरणीय हुन्थ्यो र पाठकलाई कमलको नाम विर्सिएर युवकको मात्रै नाम याद हुने डर हुँदैनथ्यो । कथाको पात्रको नाम के हो भनेर सोध्दा कमल भन्दा पनि पहिला युवक भन्न आउन सक्छ।
लेखकले भनेको छ—कोरियन खाना किम्चिको स्वाद सुरूमा एकदम कडा तथा अमिलो लाग्छ, तर समय बित्दै जाँदा नेपाली जिब्रोले त्यस स्वादलाई विस्तारै पचाउँछ। यहाँ लेखकले किम्चीलाई विम्ब र उपमाको रूपमा प्रयोग गरेका छन्। नेपालीलाई किम्चीको सुरुमा असहज अनुभव पछि गुन्द्रुक वा मुलाको अचारको झल्को दिन थाल्छ—नेपालबाट आउँदा भाषा, रहनसहन र जीवनशैली सुरूमा कठिन भए पनि समयसँग सहज र स्वीकार्य हुन्छ।
अर्कोतर्फ हेर्ने हो भने, नेपाली जहाँ गए पनि 'देश बोकेर' जान्छ, खानाको स्वाद, लिएर जान्छ र गुन्द्रुकको सिन्की, सबै आफ्नै पहिचानको प्रतीक पनि हुन्। किम्चीलाई नेपालीहरू गुन्द्रुक मानेर खान्छन् भन्नु नै प्रवासी जीवनको सांस्कृतिक र मनोवैज्ञानिक स्थायित्वलाई झल्काउँछ।
कम्पनीमा युवकको भेट तीर्थ, सोनाम र हरिसँग हुन्छ। नसोचेको ढंगले युवक तीर्थसँग अलि बढी नजिक हुन्छ—यति नजिक कि तीर्थको लागि उसको कोरियन गर्लफ्रेन्डको लुकेर फोटो खिच्न पनि जोखिम उठाउँछ। युवकले आफ्नो दोस्तीको मान राख्न यी सबै क्रियाकलाप फिल्मी तरिकामा गरिरहेको देखिन्छ।
तीर्थको कम्पनीमा दुर्घटना हुँदा दुई औँला काटिएर, युवक रगत पुछ्न र औँला प्लास्टिकमा हाल्न जान्छ। त्यसै क्षण भित्रको मनोविज्ञानले गला अवरूद्ध हुने अनुभव दिन्छ—यो दृश्य साह्रै भावुक छ। सुकेको रगत नजिकै थियो, एउटा औँला त्यसै नजिक, अर्को केही पर। लेखकले ती औँलालाई अत्यन्तै चिसो भनिएको छ—जसलाई कुमार नगरकोटीले आफ्नो काव्यमा 'फ्रोजन औँला'को रूपमा प्रयोग गरेका छन्, जीवन यात्रामा छुटेका अंशहरूको प्रतीक। पछि युवकले ती औँला खाल्टो खनेर गाडिदिन्छ, त्यसले मृत अंशको देहवासन र क्रियालाई महसुस गराउँछ। यस क्रियाले छुटेका भागको देहवासन र उनीसँग सम्बन्धित संवेदनशीलताको अनुभव पाठकसम्म पुर्याउँछ—मृत अंशसँगको अन्तिम बिछोड, र त्यसमा भावनात्मक अन्तर्विरोधको गहिरो प्रतिबिम्ब। यस दृश्यमा स्पष्ट देखिन्छ—युवकले मृत्यु र क्षतिसँग सामना गर्दा आफ्नो अस्तित्व, जिम्मेवारी, र स्वतन्त्रताको अर्थ बुझ्छ।
त्यसैगरी, 'फ्रोजन औँला' केवल शारीरिक चोटको प्रतिनिधित्व मात्र होइन; यो जीवनको छुटेका अंश, स्मृतिका टुक्रा, र व्यक्तिगत यात्रामा अनुभव भएका क्षतिहरूको प्रतीक पनि हो। यसरी, उपन्यासको यो दृश्य केवल घटनाको यथार्थता मात्र प्रस्तुत गर्दैन; यो मानव संवेदना, अस्थायीता, र अस्तित्वको द्वन्द्वलाई गहिरो रूपले उजागर गर्छ, जसले पाठकलाई भावनात्मक र आध्यात्मिक दुवै स्तरमा छोइरहेको हुन्छ।
औँठीको दृश्य अझै भावुक र संवेदनशील छ। यस च्याप्टरमा भावनात्मक यथार्थता छ भने पनि घटनाको प्रस्तुति कहिलेकाहीँ अलि फिल्मि र सरल ढंगले अगाडि बढेको देखिन्छ। विशेष गरी, घटनास्थलमा युवकले तीर्थको स्वयम्बरको औठी फेला पारेर धोएर सुरक्षित राख्छ—पाठकलाई लाग्न सक्छ कि अब त्यो औंठी तीर्थ आएपछि युवकले फिर्ता दिनेछ। तर पछि, तीर्थले आफैँ प्रसङ्ग निकाल्दै 'मेरो याद जोडिएको औँठी देखेको छौ त?' भन्न खोज्दा, युवकले केवल 'थाहा छैन' भनेर ढाँट्छ। यसले कथाको भावनात्मक गहिराइमा केही कमी ल्याउँछ।
साँच्चै, युवकले तीर्थलाई सुझाव दिन सक्थ्यो—'तपाईं यसलाई अर्को हातमा अनामिका औँलामा लगाउनु, वा सिक्रीमा झुण्डाएर लगाउनु वा पर्सको कुनामा राख्नु, यसरी तपाईंको लागि अझ सुरक्षित र यादगार हुनेछ'—जसले औठीको प्रतीकात्मक महत्व र तीर्थसँगको भावनात्मक सम्बन्ध दुवैलाई सशक्त बनाउँथ्यो। यसले युवकको चरित्रलाई संवेदनशील, सुझबुझयुक्त र सक्रिय देखाउने मात्र होइन, पाठकलाई पनि तीर्थको चिन्ता र औठीसँगको गहिरो सम्बन्ध अनुभव गराउने थियो। यदि युवकले सल्लाह दिने माध्यमबाट तीर्थको भावनात्मक चिन्ता र औठीको आत्मीयता उजागर गरेको भए, कथाको विषयवस्तु अझ भावुक, यथार्थपूर्ण र पात्र–केन्द्रित बन्ने थियो। यसले पाठकलाई औठीको प्रतीकवाद, स्मृति र सम्बन्धको संवेदनशीलता अझ स्पष्ट अनुभव गराउने थियो।
पछि, जब युवक नेपाल फर्कन्छ, उ साावित्रिलाई त्यही औँठी लिएर भेट्न जान्छ । तीर्थ दाइले तपाईंलाई उपहार दिएर पठाउनुभएको भनेर युवकले औँठी दिन्छ, जुन तीर्थ पनि अनभिज्ञ हुन्छ। त्यतिखेर स्वंयम् सावित्रीले अलि शंकास्पद रूपमा सोच्न सक्छिन् —मैले लगाइदिएको स्वयम्बरको औंठी किन उहाँले उपहार स्वरूप पठाउनुभयो? तर कथा अनुसार, सावित्री खुसी देखिन्छिन् र उनको यो भावले पनि यो दृश्यमा तरकारीमा अलि बढी नुन चढेको जस्तो सानो असन्तुलन अनुभव गराउँछ। लेखकले यसमा अलि बढी सृजनात्मकता र भावनात्मक विस्तार गर्न सक्थे, जसले विषयवस्तु र कथाको मर्म, भावलाई अझै समृद्ध र समग्र दृष्टिले प्रभावकारी बनाउने थियो।
लेखकले धर्म र जातीयता सम्बन्धी संवेदनशील विषयलाई पनि सावधानीपूर्वक प्रस्तुत गरेका छन्। उदाहरणका लागि, सुरेन्द्र दाइले कामदारहरूमाथि चर्च जान गरिएको आग्रह—काम खोज्दै आएका मजदुरहरूलाई आइतबार चर्चमा जान बाध्य बनाउनु—सामाजिक शक्ति र धर्मको उपकरणको रूपमा प्रस्तुत भएको छ। यसले देखाउँछ कि धर्म कहिलेकाहीँ धार्मिक आस्था मात्र नभई, शक्ति र असमानता संरचना भित्रको नियन्त्रण र बाध्यता लागू गर्ने माध्यम बन्न सक्छ। लेखकको यो प्रस्तुतिबाट कतै कोरियनहरूले नेपालमा गरिब र कमजोर समूहहरूलाई लक्षित गरी इसाई धर्ममा रूपान्तरण गर्ने समाचारहरु, प्रक्रिया, सत्य त होइन भन्ने प्रश्न पाठकमा उत्पन्न हुन्छ। यसले धर्म र शक्ति, भौगोलिक र सामाजिक असमानता बीचको जटिल सम्बन्ध उजागर गर्छ।
जातीय संरचनाको प्रसंग पनि कथा भित्र स्पष्ट छ। हरि पात्रले तीर्थलाई नरूचाउनुको कारण उनी दलित हुनु हो। हरि आफू कथित माथिल्लो जातमा रहेकोमा गर्व गर्छ, जबकि तीर्थ दलित जातको प्रतिनिधित्व गर्छन्। तर जब त्यही दलित समुदायको शान्तिको कम्पनीमा प्रवेश हुन्छ्, हरि उनलाई पछ्याउँछ, ट्वाइलेटदेखि बेडरुमसम्म—यस्तो व्यवहारले पुरूष मानसिकता र सामाजिक असमानता बीचको द्वन्द्वलाई चित्रित गर्छ। यस्तै, शान्तिसँग शारीरिक नजिक हुने अनुभवले हरिको आन्तरिक द्वन्द्व—सामाजिक नियम, व्यक्तिगत इच्छा र यौनिकता—लाई स्पष्ट गर्दछ। यसमा सीग्मन्ड फ्राइडको 'मनको अवचेतन र इड, ईगो र सुपरइगोको द्वन्द्व' लागू हुन्छ।
यसले स्पष्ट रूपमा सामाजिक संरचना (जातीय असमानता) र व्यक्तिगत इच्छाशक्ति (यौनिक चाहना) बीचको द्वन्द्व उजागर गर्छ। यस क्रममा महिला पात्रलाई केवल एक सेक्सुअल प्रतीकको रूपमा प्रस्तुत गरिएको छ—उ हरिको ध्यान र लालसा केन्द्रित गर्ने माध्यम बनेको छ। मानौँ उनी कम्पनीमा फुल्नु भनेको भँमरालाई आकर्षण गर्नु हो र त्यो भँमरा हरि बनेको छ । यस दृश्यमा महिला पात्रको अवस्थितिले पुरूष मानसिकता, सामाजिक नियम र व्यक्तिगत चाहनाबीचको जटिल अन्तरक्रियालाई सूक्ष्म तर गहिरो रूपमा देखाउँछ।
त्यसैगरी, युवकले तीर्थलाई लगातार आग्रह गरेर तरकारी पकाउन बाध्य पार्ने दृश्य पनि महत्वपूर्ण छ। युवकको निरन्तर कचकच र अन्ततः तीर्थले खाना पकाएर सबैलाई पस्किनु र हरिपनि खान बाध्य हुनु एउटा सूक्ष्म विद्रोहको रूप हो—यो शक्ति, नियन्त्रण र आत्मनिर्णयको प्रतीक बनेको छ। खाना पकाउने क्रममा तेलमा जिरा पड्काउँदा उत्पन्न भएको गन्धले तीर्थलाई भावनात्मक रूपमा उत्तेजित गरेको दृश्य, वास्तविकता र संवेदनशीलता दुबैलाई मिश्रित गर्दै 'सानो क्रान्ति' वा व्यक्तिगत विद्रोहको सन्देश दिन्छ।
यस्ता दृश्यहरूले केवल पात्रहरूको अन्तरक्रिया देखाउँदैन; यसले सामाजिक संरचना, पुरूष मानसिकता र व्यक्तिगत स्वतन्त्रता बीचको जटिल सम्बन्धलाइ प्रस्तुत गर्छ। यसरी, लेखकले दैनिक जीवनका स–साना गतिविधिहरू—चुरोट खाने, वजार हिड्ने, सुट पाइन्ट अनि ल्यापटबको ब्याग बोक्ने, महिलाको अनुपस्थितिले कम्पनीको पुरूषमा ल्याएको नैराश्यकता र एक्लोपन, तरकारी पकाउने, खाना खाने, घटना दुर्घटना , औठी फेला पान तथा तमाम अरू कुराहरू मार्फत व्यक्तिको मनोवैज्ञानिक अवस्थालाई सूक्ष्म र यथार्थवादी ढंगले चित्रण गरेका छन् ।
त्यसैगरी, उपन्यासभरि आदर्श, जिम्मेवार र परिवारमुखी पुरूषको रूपमा प्रस्तुत गरिएको तीर्थको चरित्र अन्तिम पृष्ठतिर आएर अप्रत्याशित मोड लिन्छ। घरमा श्रीमती र तीन जवान छोराहरू हुँदाहुँदै पनि उनले गुप्त रूपमा एक कोरियन युवतीसँग सम्बन्ध राखेको तथ्य उद्घाटित हुन्छ। केही समय उनीहरू भावनात्मक रूपमा नजिकिन्छन्, तर परिस्थितिवश छुट्टिन्छन्।
महत्त्वपूर्ण कुरा के छ भने, तीर्थले यो प्रसंग युवकसँग कुनै अपराधबोध होइन, बरू एक किसिमको गर्व र आत्मसन्तुष्टिको भावले सुनाउँछन्। यहीँ पाठक अलमलिन सक्छ—के तीर्थका लागि वैवाहिक सम्बन्ध भावनात्मक प्रतिबद्धताभन्दा शारीरिक सन्तुष्टिमा सीमित थियो? के उनले पत्नीलाई सहयात्रीभन्दा पनि दायित्वका रूपमा मात्र देखेका थिए?
यस क्रममा, तीर्थले युवकलाई त्यो कोरियन युवतीले आफूलाई 'तिमीलाई छोरी पाउन रहर लाग्दैन?' भनेर सोधेको प्रसंग पनि सुनाउँछन्। यो प्रश्न सामान्य संवाद जस्तो लागे पनि त्यसमा गहिरो भावनात्मक संकेत लुकेको छ—त्यो सम्बन्ध केवल क्षणिक आकर्षण थियो कि भविष्यको सम्भावनासँग जोडिएको आत्मीय चाहना?
केही वर्षपछि हाटबजारमा ती युवतीसँग अकस्मात् भेट हुँदा तीर्थ बोल्ने साहस जुटाउन सक्दैनन्। मनभरि दबिएको माया बोकेर उनी युवकलाई टाढाबाट फोटो खिचेर ल्याउन अनुरोध गर्छन्। जब युवक फोटो ल्याउँछ, त्यहाँ करिब तीन वर्षकी एक बालिका देखिन्छ। यो खबर सुनेपछि तीर्थको भावुकता पाठकलाई झस्काउँछ। उनीहरू छुट्टिएको समय त्यस्तै चार वर्ष जति हुन्छ, र तीन वर्षजतिकी बालिका देखिनु—यी तथ्यहरूले पाठकलाई सहजै अनुमान गर्न बाध्य बनाउँछ कि त्यो बच्ची सम्भवतः तीर्थकै सन्तान हुन सक्छ।
लेखकले यहाँ कुनै प्रत्यक्ष उद्घोषणा गर्दैनन् तर मौन संकेतहरू यति सशक्त छन् कि कथा आफैं बोल्न थाल्छ। यही मौनताले यस प्रसंगलाई अझ प्रभावकारी बनाएको छ। एकातिर पारिवारिक आदर्शको मुखौटा, अर्कोतिर दबीएको प्रेम र सम्भावित पितृत्वको भावनात्मक कम्पन—यी सबैले तीर्थको चरित्रलाई कमजोर, द्वन्द्वात्मक र मानवीय बनाउँछन्। यही जटिलता नै यस अंशको साहित्यिक बल हो।
यस दृश्यले पुरूष स्वतन्त्रता र समाजले उसलाई दिएको विशेष स्वीकृतिलाई अत्यन्त स्पष्ट र प्रखर ढंगले देखाउँछ। तीर्थको चरित्रमा देखिएको यो 'मुक्तता'लाई कथाले प्रेम, संवेदना र मानवीय कमजोरीको आवरणमा प्रस्तुत गर्छ—मानौं यो कुनै स्वाभाविक, क्षम्य, र स्वीकार्य कुरा हो। तर यही व्यवहार यदि समान परिस्थितिमा कुनै महिलाले देखाएकी हुन्थिन् भने? के समाजले त्यसलाई यति सहजतापूर्वक बुझिदिन्थ्यो?
निश्चय नै होइन। त्यही सम्बन्ध, त्यही शारीरिक आकांक्षा, त्यही भावनात्मक द्वन्द्व—यदि पत्नीले अनुभव गरेकी भए, उसलाई तुरुन्तै 'चरित्रहीन' वा 'पारिवारिक मर्यादा तोड्ने'को आरोप लाग्थ्यो। पुरूषका लागि भने यस्तो सम्बन्धलाई 'यौवन', 'भावना', वा 'परिस्थितिको कमजोरी' भनेर सामान्यीकृत गरिन्छ।
यौनिकता र शारीरिक आवश्यकता केवल पुरूषको मात्र विषय होइन। शरीर र भावना दुबै लिङ्गका लागि समान रूपमा स्वाभाविक र मानवीय हुन्। यदि तीर्थले आफ्नो 'शारीरिक आवश्यकता' वा 'भावनात्मक खालीपन'लाई कारण बनाएर सम्बन्ध राख्न सक्छ भने, नेपालमा उनकी श्रीमती—जो दशकौ देखि प्रतीक्षा गरिरहेकी छिन्—उनको भावनात्मक र शारीरिक आवश्यकताको बारेमा किन सोचिँदैन वा त्यसको विषयमा चर्चा गरिदैन? यदि श्रीमतीले पनि त्यही एक्लोपन, त्यही शारीरिक अभाव, त्यही भावनात्मक रिक्तता महसुस गरेर कुनै सम्बन्ध बनाएकी भए, के तीर्थले त्यसलाई स्वीकार्थे? के समाजले त्यसलाई बुझिदिन्थ्यो अनि सुनिदिन्थ्यो त ?
यही पाठकहरूको प्रश्नले उपन्यासभित्रको दोहोरो मापदण्डलाई अझ स्पष्ट बनाउँछ। पुरूषको शारीरिक चाहनालाई 'स्वाभाविक' र 'समझदारीयोग्य' ठान्ने तर महिलाको त्यही चाहनालाई 'अवज्ञा' वा 'चरित्रहीनता' भनेर व्याख्या गर्ने सोच गहिरो रूपमा पितृसत्तात्मक संरचनाबाट निर्देशित छ। यसरी हेर्दा, कथा केवल एक पुरूषको गुप्त सम्बन्धको कथा होइन; यो समाजले कसलाई स्वतन्त्रता दिन्छ र कसको इच्छालाई नियन्त्रण गर्छ भन्ने प्रश्न पनि हो। शरीरको आवश्यकता मानवसुलभ हो—तर त्यसलाई समान रूपमा स्वीकार गर्ने नै वास्तविक समानताको परीक्षा हो।
उपन्यासमा महिला पात्रहरू प्रायः प्रतीकात्मक रूपमा मात्रै प्रस्तुत छन्। प्लेनमा भेटेको युवती रीता होस्, कारखानामा काम गर्ने शान्ति होस्, चर्चको सुरेन्द्र दाइको गर्लफेण्ड होस् वा तीर्थकी श्रीमती सावित्रि होस्—सबै पात्रहरूको उपस्थिति सीमित र कमजोर छ। उनीहरूको कथा पुरूष पात्रहरूको अनुभव र निर्णयसँग केन्द्रित छ, जसले महिलालाई सक्रिय, स्वायत्त र बहुआयामिक व्यक्तित्वका रूपमा प्रस्तुत गर्न असफल बनाएको छ। यस दृष्टिले, उपन्यासले फेमिनिस्ट दृष्टिकोणबाट महत्वपूर्ण प्रश्न उठाउँछ—के महिला पात्रलाई केवल पुरूषको कथा, इच्छाशक्ति वा संवेदनशीलताको परिप्रेक्ष्यमा मात्र प्रयोग गर्नु उचित हो?
सैद्धान्तिक रूपमा, यसलाई लौकिक र संरचनात्मक फेमिनिज्मका दृष्टान्तसँग जोड्न सकिन्छ, जहाँ पितृसत्तात्मक संरचना र सांस्कृतिक नियमहरूले महिलाको स्वतन्त्रता र भूमिका सीमित गर्छन्। पाठकले पुरूष स्वतन्त्रता र महिला सिमितताको द्वन्द्व स्पष्ट रूपमा महसुस गर्न सक्छन्, र यसले उपन्यासको कथा र पात्र संरचनामा असमानताको गहिरो विश्लेषण प्रस्तुत गर्छ।
उपन्यासमा संवादको तुलनामा वर्णनात्मक शैली बढी छ। कतिपय ठाउँमा संवाद अवश्य छन्, तर कतिपय अवस्थाहरूमा संवाद थप भए उपन्यास अझ जीवित र पात्र–केन्द्रित बन्न सक्थ्यो। यस प्रकारको निरन्तर स्मृति–प्रवाह पाठकलाई 'मनको भित्री यात्रा' को अनुभूति दिन्छ।
युवकको त्यतिखेर चुरोटको धुवाँले कथा बुनिरहेको थियो, आजको धुवाँले कथाको आकार लिएको छ—यहाँ धुवाँ केवल आदत वा क्रियाकलाप होइन; यो घुटन, अस्थिरता र भित्री उथलपुथलको दृश्य रूपान्तरण हो। पहिलो उपन्यासमै लेखकले आफ्ना व्यक्तिगत अनुभवलाई कथात्मक संरचनामा रूपान्तरण गर्नु, केही काल्पनिक पात्रहरू सिर्जना गर्दै यथार्थलाई साहित्यिक आकार दिनु—यो आत्मकथात्मक यथार्थवादको स्पष्ट संकेत हो।
व्यक्तिगत अनुभवलाई सामूहिक अनुभूतिमा बदल्ने लेखकको क्षमता नै यस कृतिको मुख्य शक्ति हो। यस अर्थमा, उपन्यासले कुनै ठूलो आकाशको कुरा गर्दैन; यो चुपचाप सास फेर्ने, तर मार्मिक गहिरो चोट दिने धर्तीको कथा भन्छ। यसको सौन्दर्य अलंकारमा होइन, सरलतामा छ; यसको शक्ति कथानकको शब्द जटिलतामा होइन, अनुभवको ईमानदारीमा छ। यथार्थ र संवेदनशीलताको संयोजनले यस उपन्यासलाई प्रभावकारी र स्मरणीय बनाएको छ। अन्ततः, कम्पनी यथार्थवादको उत्कृष्ट नमूना हो—सामान्य जीवनका पात्र र घटनालाई गहिरो संवेदनाको दृष्टिकोणबाट हेरेर जन्मिएको साहित्यिक उत्कृष्टता छ यसमा ।