नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवमा हरेक वर्ष सबैखाले सञ्चार माध्यमका प्रतिनिधिलाई बोलाउने गर्थ्यो। यस वर्ष भने निजी सञ्चार माध्यमका प्रतिनिधिलाई निषेध गर्दै सरकारी मिडियालाई मात्र बोलाएर वार्षिकोत्सव मनाइएको छ।
राष्ट्र बैंकले वैशाख १४ गते सोमबार आफ्नो ७१औं वार्षिकोत्सव समारोह आयोजना गरेको थियो। यो वार्षिक रूपमा हुँदै आएको कार्यक्रम हो।
हरेक वर्ष सरकारी, निजी सबै खालका सञ्चार माध्यमका प्रतिनिधिलाई बोलाइने यो कार्यक्रममा यसपालि पहिलो पटक निजी मिडियाका पत्रकारलाई निषेध गरिएको हो।
यस्तो किन गरियो भन्ने प्रश्न हामीले राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरू पौडेललाई सोध्यौं।
उनले यसपालि वार्षिकोत्सव कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र डाकिएको पुष्टि गर्दै भने, 'मेरो पनि जानकारीमा आए अनुसार सरकारी सञ्चार माध्यमलाई मात्र डाकिएको रहेछ।'
त्यसपछि हामीले उनलाई सोध्यौं, 'अन्य सञ्चार माध्यमलाई किन डाकिएन?'
जबाफमा उनले भने, 'यसबारे मलाई कुनै जानकारी छैन।'
संघीय सरकारले हालै सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन/प्रसारण गर्न रोक लगाएको छ। सरकारी विज्ञापन तथा सूचनाहरू गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्नू भनी संघीय मन्त्रालय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइएको छ।
यस अनुसार पछिल्ला केही दिनदेखि सरकारी विज्ञापन गोरखापत्रमा मात्र छापिँदै आएका छन्। नेपाल पत्रकार महासंघले यसको विरोध गर्दै आएको छ।
राष्ट्र बैंकले पनि संघीय सरकारको यही शैली अनुसरण गर्दै आफ्नो कार्यक्रममा पनि निजी सञ्चार माध्यमलाई निषेध गर्न खोजेको त होइन भन्ने प्रश्न उठेको छ। तर प्रवक्ता पौडेलले यसबारे केही बताएनन्।
निजी मिडियाका पत्रकारलाई निषेध गरिएको यस वर्षको वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंक कर्मचारी संघका पदाधिकारीले कालो तुल प्रदर्शन गर्दै विरोध गरेका थिए।
राष्ट्र बैंकका गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएको झन्डै एक वर्ष हुन लाग्दा पनि कर्मचारीलाई तोकिएको समयमा बढुवा नगरिएको भन्दै विरोध जनाइएका थियो।