पुस्तक समीक्षा
नेपालय प्रकाशनले बजारमा ल्याएको सलह प्रशिद्ध गीतकार तथा कवि श्रवण मुकारूङको पहिलो उपन्यास हो। ४३४ पृष्ठको यो उपन्यास नेपालको पूर्वी राई गाउँबाट सुरू भएर काठमाडौंको यात्रा गर्दै धरानमा पुगेर टुङ्गिन्छ।
चार दशक समय कविता र गीतको यात्रामा रमाएका मुकारूङले लेखेको उपन्यास सलह पनि उनका गीत र कविता जस्तै सलल बगेको छ।
उपन्यासमा केन्द्रीय पात्र रहेकी छन् 'नायुमा'। उनी पूर्वी नेपालको राई गाउँमा जन्मिएकी एउटी बालिका हुन्। नायुमाले व्यतीत गरेको चार दशकको जीवन नै उपन्यासको मियो हो। बाँकी पात्र नायुमाकै सहायकका रूपमा उपस्थित भएका छन्।
राई गाउँदेखि काठमाडौ पुगेको केही वर्षसम्म नायुमाको जीवनमा उति धेरै उतारचढावहरू देखिँदैनन्। काठमाडौंको बैकुण्ठ कोलोनीमा जुद्धबहादुरको घरमा बाल मजदूर भए पनि उनले पढ्न पाएकी थिइन्।
नायुमाको नियमित यात्रा त्यतिखेर दुर्घटनामा पर्छ जब उनले आफ्नी साथी बर्दियाकी मङ्गली थारुमाथि प्रज्वलले गरेको अन्यायका विरूद्धमा आवाज उठाउने निर्णय गर्छिन्। लेखकले यसभन्दा अगाडि नै नायुमालाई विद्रोही देखाउनका लागि बासुदेवलाई हुल्लडबाजहरूले गरिरहेको आक्रमणबाट जोगाउने साहसिक काम गरेको चित्रण गरेका छन्।
प्रज्वलका विरूद्धमा प्रहरी कार्यालयमा गएर नायुमाले उजुरी गरेपछि उनी जुद्धबहादुरकी श्रीमतीको कुटाइमा पर्छिन्। त्यसपछि उनी बैकुण्ठ कोलोनी छोडेर अनिश्चित र अज्ञात यात्रामा निस्किन्छिन्। त्यसपछि उनको जीवनका विभिन्न चरणहरूको चित्रणले उपन्यासलाई विद्रोही, कारूणिक, स्तब्ध, रोचक र रोशपूर्ण भावमा डोहोर्याउँछ। नायुमाको जीवन संघर्ष, उतार-चढाव र अप्रत्याशित मोडहरूमार्फत उपन्यासले पाठकलाई तानिरहन सफल हुन्छ।
यो केवल एउटी युवतीको मात्र कथा नभई उनीसँग जोडिएका समग्र पात्रहरू (जस्तै: जुद्धबहादुर, चन्द्रकला, दिलमाया, कृष्ण, प्रभुहाङ आदि) को जीवन र संघर्षको चित्रण पनि हो।
मुकारूङले उपन्यासमा काल्पनिकता, अति यथार्थवाद, किराँती सभ्यता, पौराणिक कथा तथा लोककथाका तत्वहरू समेटेका छन्। पाठकलाई उपन्यास पढ्दा चलचित्र हेरे जस्तो अनुभव हुन्छ।
लेखक मुकारूङ आफै भोजपुरका हुन्। उनले व्याख्या गरेको राई गाउँ भोजपुरकै कुनै ग्रामीण इलाका हुन सक्छ। उनले उपन्यासमा मोङ र हाङ वंशका मौखिक इतिहासको प्रसङ्ग उप्काएर उपन्यासलाई थप रोचक र रहस्यमय पनि बनाएका छन्। उपन्यासमा व्यक्त भाषा, खानपान, संगीत र नृत्य, चाडपर्व र परम्पराहरूको जीवन्त चित्रणले उपन्यासलाई सजीव बनाएको छ।
उपन्यासले राजनीतिक घटनाहरूले सर्वसाधारणको दैनिक जीवन र जीविकोपार्जनमा पार्ने प्रभावलाई पनि स्वाभाविक रुपमा समेटेका छन्। कहीँ कतै राजनीतिक घटना क्रमलाई प्रवेश गराउँदा भने लेखकले सन्तुलन गुमाएका छन्। उपन्यासमा २०५२ सालदेखि २०६२ सालसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वका घटनाहरू पनि छिटफुट देखिन्छन्। द्वन्द्वकालमा भएका घटनालाई प्रवेश गराउँदा मुकारूङले माओवादी धारलाई बढी नकारात्मक रूपमा प्रस्तुत गरेका छन्।
तत्कालीन अवस्थामा राज्य पक्षबाट पनि उत्पीडन भएका थिए। लुटपाट राज्यपक्षका सुरक्षाकर्मीबाट पनि भएका थिए। तर उपन्यासमा प्रवेश गराइएका केही घटनामा माओवादी आन्दोलनमा देखिएका धनवादको प्रभाव, यौन विचलन, चन्दाबाट असुली सुनचाँदी तथा नगदको दुरुपयोग आदि कुरामा माओवादीलाई मात्र उनले बदनाम गराएका छन्। शान्ति प्रक्रियामा आएपछि अवसरवादी नेता नै माओवादीभित्र हालीमुहाली हर्ताकर्ता भएको देखाएर अन्य पक्षलाई छोएका छैनन्।
समग्रमा उपन्यासले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक सौन्दर्यको मिठो अन्तरघुलन गरेर यथार्थवादलाई उत्तरआधुनिक भावधार बोकेको छ।
सशक्त संवाद र मननयोग्य कथन
उपन्यासमा पात्र मार्फत गहन विचारहरू पनि व्यक्त गरिएको छ। उपन्यासमा आएका संवाद र प्रयुक्त कथनले उपन्यासको ओज बढाएको छ।
उपन्यासमा नायुमाले छिमेकी काकाकाकीको संभोग क्रिया देखेको र संवाद सुनेको प्रसङ्ग छ। त्यो प्रसङ्गलाई यहाँ किन उल्लेख गर्न आवश्यक छ भने उक्त घटनाले नेपाली समाजलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरेको पाइन्छ।
पृष्ठ २९२ मा नायुमाले सुकुम्बासी बस्तीमा मध्यरातमा छिमेकी काकाकाकीको संभोग क्रिया देख्छिन्। त्यहाँ काका काकीको संवादले न्यून मध्यम वर्गीय नेपाली चरित्रलाई चोटिलो रूपमा उजागर गरेको छ।
नेपाली विशेष गरी महिलाले रोमान्सको समयमा पनि कसरी व्यावहारिक कुराहरूमै दिमाग पुर्याउँछन् भन्ने कुराको यो एउटा प्रतिनिधि घटना हो। यहाँ काकीले गरेका प्रश्नहरू दैनिक जीवनका ती सानातिना समस्या हुन् जसबाट नेपाली समाजलाई चियाउन सकिन्छ। त्यस्ता प्रश्न गर्न पनि महिलाहरुलाई संभोगकै समय कुर्नु पर्ने बाध्यात्मक अवस्था हो वा आम चरित्र भन्ने कुराले रोचक तर तीतो सत्यलाई उजागर गरेको छ।
उपन्यासको अर्को सशक्त पक्ष भनेको यसभित्र शक्तिशाली संवाद समेट्नु पनि हो। पृष्ठ २८० मा नायुमाले व्यक्त गरेको संवादलाई उदाहरणका रूपमा लिन सकिन्छ। नायुमाले मनोहराको सुकुम्बासी बस्तीमा एक महिलाको झुपडीमा आस्रय लिएकी हुन्छिन्। ती महिलाले नायुमालाई अर्का श्रमिक कृष्णसँग बिहे गर भन्ने सुझाव दिँदा नायुमाले दिएको जबाफ यस्तो छ 'तिम्रो काखमा लुटपुटिँदै बालुवा मुछेर जीवन कटाउन पाए म लाखौँ जुनी बालुवा मुछ्न तयार छु ठुलीआमा! एउटा कठिन यात्रा पार गरेर भर्खरै त तिमीसामु आइपुगेको छु। केही बेर सही, धीत मरुन्जेल मलाई तिम्रो काखमा थकाइ मेट्न देऊ न ठुलीआमा! खास बिहे त संयोगले हुन्छ। योजनाले गरिने त लेनदेन हो, व्यापार हो। मलाई त्यस्तो बिहे गर्नु छैन।'
त्यसैगरी पृष्ठ २९० मा नायुमाले ठुली आमालाई भनेको अर्को संवाद पनि उद्धरणयोग्य छ। नायुमालाई स्कुल पढ्नुपर्छ भन्ने सुझावमा उनले दिएको जवाफ यस्तो छ 'म बुढी भइसकेँ ठुलीआमा! मैले मेरो यो छोटो जीवनमा चाहिनेभन्दा धेरै पढिसकेँ। स्कुलको कुनै पनि किताबभन्दा ठुलो किताब मेरा लागि तिमी हौ, म तिमीलाई पढ्छु, बरु म मेरै जीवनलाई किताब बनाउँछु र यो थाहा पाउन चाहन्छु कि म अरुका लागि पढ्न योग्य भएँ कि भइँन भनेर। म अब स्कुल जान्न ठुलीआमा!'
उपन्यासले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा पनि झटारो हानेको छ। विशेष गरी काठमाडौं उपत्यकाबाट सुकुम्बासी हटाएर मानव जीवनमा देखिएको असंवेदनशील सरकारी रवैया झल्झली आउँदा उपन्यासमा उही प्रकृतिको घटना देखिन्छ। नायुमा १२ वर्ष जेल बसेर फर्कँदा मनोहरा सुकुम्बासी बस्ती हटाइएको हुन्छ। त्यस्तो दृश्य देखेपछि नायुमामा परेको चोट र उनको हृदयबाट गुन्जिएको आवाज मननयोग्य छ।
पृष्ठ ३२६ मा लेखिएको छ 'कस्तो विवेकहीन हो यो सरकार? जिउँदा मानिसलाई लखेटेर मरेको मानिसलाई सालिक ठड्याउने! बच्चा खेल्ने आँगन भत्काएर साँढे चर्ने पार्क बनाउने! कि के उनीहरूको नजरमा सुकुम्बासी मानिस होइनन्! कसका लागि हो यो पार्क? यही हो लोकतन्त्र? कसका लागि हामी लडेका थियौँ?'
उही पृष्ठमा अर्को प्रसङ्ग पनि उल्लेखनीय छ। तिखारिएको बिचार र खिपिएका शब्दहरू यस्ता छन् 'मान्छे एक्लै बाँच्ने जात होइन। सुनाखरी फूलभन्दा परजीवी छ मान्छे। कम से कम सुनाखरीलाई त एउटै पहरा, एउटै रूख भए पुग्छ तर मानिसलाई त्यतिले पुग्दै उसलाई सीमातीत संसार चाहिन्छ। त्यसैले त दुःखी छ मान्छे।'
एक्काईसौँ शताब्दीमा मान्छे एकअर्काप्रति असहिष्णु बन्दै गएको र समाजमा असामाजिक गतिविधि बढेको कुरालाई पनि उपन्यासले ठाउँ दिएको छ। पृष्ठ ३४० मा शंका गर्ने र गलत हल्ला चलाएर मान्छेलाई असीमित पीडा दिने कुराको एकै लाइनमा लेखकले घन बजारेका छन्। उनी लेख्छन् 'एउटा मानिसलाई जिउँदै मार्न समाजलाई कुनै ठुलो हतियार नचाहिने रहेछ। उसको पूर्वाग्रही धारणा नै काफी हुने रहेछ।'
उपन्यासमा रहेका केही कमजोरी र त्रुटी
उपन्यासको पृष्ठ ७५ मा टेकनाथ पौडेलको घरमा सुरु भएको स्वस्थानीको पूजा पृष्ठ ७६ मा पुगेर सत्यनारायणको पूजामा कसरी परिणत भयो?
पृष्ठ १०२ मा टेकनाथ पौडेलले आफ्नो छोरा प्रज्वललाई हेरेर कल्पना गरेको प्रसङ्ग छ। पुस्तकमा उल्लेख छ 'हरेक वर्ष शिवरात्रिमा बिहारबाट आउने कुनै जोगी हो कि? मृत्युदण्ड दिनु अघिको सद्दाम हुने हो? छोराको सक्कल देखेर टेकनाथलाई चरक्क रिस उठ्यो तर उनी तत्काल सम्हालिए।'
पुस्तकमा यो प्रसङ्ग उल्लेख हुँदाको समय २०५७ सालतिरको हो। अनि इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई मृत्युदण्ड दिएको २०६३ पुस १५ गते हो। सद्दामलाई मृत्युदण्ड दिएको ६ वर्ष अगाडि नै टेकनाथ पौडेलले कसरी कल्पना गर्न सके?
पृष्ठ १५० मा नायुमालाई नुमाले हात समाएर लेख्न सिकाएको प्रसङ्ग छ। नायुमा कक्षा तीनमा भर्ना भएकी छन्। उनी अंग्रेजी र नेपाली राम्रोसँग लेख्न जान्दछिन् भन्ने कुरा पहिले नै पुस्तकमा जानकारी दिइएको छ। अंग्रेजी र नेपाली लेख्न जान्ने नायुमालाई फेरि हात समाएर लेख्न सिकाएको प्रसङ्ग अमिल्दो छ।
पृष्ठ १८१ मा एउटा लाइन यस्तो छ "आन्दोलनरत सहयोद्धालाई सडकमा यत्तिकै छोडिराखेर 'प्रतिगमन आधा सच्चियो' भने जसरी उनीहरुले यो निर्णय लिए।" पुस्तकमा आएको यो प्रसङ्ग ठ्याक्कै २०५८ साल जेठमा दरवार हत्याकाण्ड भएपछिको हो। नेपाली राजनीतिमा प्रतिगमन आधा सच्चियो भन्ने कथन चाहिँ २०६१ सालमा शेरबहादुर देउवाको प्रधानमन्त्री कालमा नेकपा एमाले सरकारमा सहभागी भएपछिको हो। यो प्रसङ्ग पनि घटना हुनुभन्दा तीन वर्ष अगाडि नै प्रयोग गरिनु त्रुटिपूर्ण छ।
पृष्ठ २०४ मा टेकनाथ पौडेललाई नेपाल सरकारका पूर्वउपसचिव भनिएको छ। हुनुपर्ने चाहिँ श्री ५ को सरकारका पूर्व उपसचिव हो। २०६३ सालमा लोकतन्त्र आएपछि मात्र श्री ५ को सरकारलाई नेपाल सरकार लेख्न थालिएको हो।
पृष्ठ २२६ मा आत्महत्या दुरुत्साहनको प्रसङ्ग छ। उक्त पृष्ठमा लेखिएको छ 'यहाँ अदालतको आदेशले अब यो केस आत्महत्याबाट आत्महत्या दुरुत्साहनतिर मोडिइसक्यो।' नेपालमा आत्महत्या दुरुत्साहन २०७५ भदौ १ गतेदेखि लागू भएको राष्ट्रिय दण्ड (संहिता) ऐनको धारा १८५ मा आत्महत्या दुरुत्साहनलाई पहिलोपटक समेटेको हो। पुस्तकमा चाहिँ १७ वर्ष अगाडि नै उक्त कानुनका बारेमा उल्लेख हुनु गलत हो।
पृष्ठ ३२५ मा नायुमा जेलबाट छुटेपछि क्षतविक्षत धराहरा देखेको कुरा उल्लेख छ। नायुमा जेल परेको समय पहिलो संविधानसभाको निर्वाचनपछि अर्थात् २०६५ सालतिर हो। उनी १२ वर्ष जेल परेर रिहा भएको समय २०७७ सालतिर हुनुपर्छ। २०७२ सालमा भूकम्पले ध्वस्त भएको धरहरा २०७५ सालमा पुनर्निर्माण सुरू भएर २०७७ सालमा निर्माण सम्पन्न भएको थियो। नायुमा जेलमुक्त हुँदा धरहरा ठडिएको हुनुपर्नेमा क्षतविक्षत देखिनु पनि पुस्तकमा भएको त्रुटि हो।
पृष्ठ ४०७ मा उल्लेख भए अनुसार धरानमा नायुमाको वासुदेव दाइसँग भेट हुन्छ। यी तिनै वासुदेव दाइ थिए जो २०५८ सालमा वैकुण्ठ कोलोनीमा घरघरमा दूध पुर्याउने गर्थे। वासुदेव दाइ र नायुमा बीचमा बीस वर्षपछि २०७८ सालमा धरानमा भेट हुन्छ। तर अचम्म यो बीस वर्षमै बासुदेवले बिहे गरेर, छोरा जन्माएर, त्यही छोरालाई कोरिया पठाएर, त्यही छोराले कमाएको पैसाले धरानमा घर बनाएको कुरा पाठकले पत्याउन सक्दैनन्।
त्यस्तै कुरा पृष्ठ ४१२ मा पनि छ। उक्त पृष्ठमा नायुमाको प्रभुहाङसँग भेट भएको कुरा उल्लेख छ। उपन्यासको सुरूतिर फर्कँदा नायुमा काठमाडौँ जाँदा १४ वर्षकी थिइन्। त्यो समय २०५७ सालको थियो। त्यतिबेला प्रभुहाङ ३ कक्षामा पढ्दै गरेका थिए अर्थात् उनी ९ वर्षका थिए। धरानमा भेट भएको चाहिँ २०७८ सालतिर हुनुपर्छ। धरानमा नायुमासँग भेट हुँदा प्रभुहाङको उमेर ३० वर्ष आसपास अनुमान गर्न सकिन्छ। उक्त समयमा प्रभुहाङले बिहे गरेर जन्माएको छोरा (प्रकाश) भिडियो खिचेर भ्लगर जस्तै भइसकेको कुराले पाठकलाई बिझाउँछ। बीचमा समय चिप्लिएको अथवा खुम्चिएको कुरा न त लेखकले बिचार गरे न त सम्पादकले याद गरे।
उल्लिखित कमजोरी लेखक र सम्पादक दुवैका हुन्। यी कमजोरीलाई सुधारेर अर्को संस्करण प्रकाशन भएमा उपन्यास थप गहकिलो हुनसक्छ।
अन्तमा …
यो उपन्यासको नाम रहेको छ सलह। प्रतीकात्मक बनाउनका लागि नायुमा र अन्य संघर्षरत पात्रहरूलाई लेखकले सलहसँग तुलना गरेका छन्। वास्तवमा सलह सकारात्मक बिम्ब होइन। बालीनाली नस्ट गर्ने एक प्रकारको फट्याङ्ग्रा हो सलह। सहल आएको समयमा अनिकाल लाग्छ भन्ने विश्वास किसानहरूमा रहेको छ। एकै रातमा खेतका फाँटहरू रित्याइ दिन सक्छ सलहले।
जमिनदेखि धेरै उचाइमा नगइ सतहबाटै बालीनाली खाँदै अगाडि बढ्ने क्रममा सलह एक ठाउँबाट अर्को ठाउँमा पुग्छ। यो सधैँ समूहमा हुन्छ। उपन्यासका पात्रहरू पनि गरिबी, कठिनाइ, युद्ध र सामाजिक दबाबका कारण आफ्नो घरबार छोड्न बाध्य हुन्छन्। नायुमाको राई गाउँबाट काठमाडौं बसाइँ सर्नु जीविकाको खोजीमा भएको यो संघर्षको प्रतीक हो। सलहको जस्तै नायुमाको पनि कुनै निश्चित बासस्थान छैन र उनी एक स्थानबाट अर्को स्थानमा बसाइँ सर्दै हिँड्छिन्।
एउटी सङ्घर्षशील युवतीलाई सलहको प्रतीक र बिम्बमा प्रस्तुत गर्नु उपयुक्त नहुन सक्छ। नायुमामाथि पाठकले भरपूर समवेदना र सद्भाव राख्दाराख्दै पनि सलहप्रति सकारात्मक हुन सकिँदैन। त्यसमाथि लेखक आफै पनि सलहप्रति उति विश्वस्त देखिँदैनन्। त्यही भएर त उनी लेख्दालेख्दै सलहलाई कर्याङकुरुङ जस्तो देख्छन् र लेख्छन्। कतै आकाशभरि सलह उडेको देख्छन् भने कतै सलहको प्वाख खसेको देख्छन्। यहाँनेर लेखक सलह होइन कर्याङकुरुङको कल्पनामा हुन्छन्। जमिनको सतहबाट नजिकैबाट उड्ने सलहभन्दा आकाशका बादलमा लुकामारी गर्दै उड्ने कर्याङकुरूङप्रति लेखकको मोह देखिन्छ। बसाइँ सराइ र आफन्तबाट छुट्टिनुको पीडाका लागि सलहभन्दा कर्याङकुरूङ नै उत्कृष्ट प्रतीक र बिम्ब हुन सक्छ।