नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले लेखेको ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङ: भुपरिवेष्ठितबाट भूजडित उडान’ पुस्तक विमोचन भएको छ।
सुदूरपश्चिम सरोकार मञ्च नेपालको २०औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तक विमोचन गरेका हुन्।
सुदूरपश्चिममा जन्मिएका ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै हाल निमित्त कार्यकारी प्रमुखको भूमिकामा छन्।
पर्यटन क्षेत्रको विकास, पूर्वाधार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी र नेटवर्किङलाई केन्द्रमा राखेर तयार पारिएको १८२ पृष्ठको पुस्तकमा नेपालको पर्यटन विकासका विभिन्न सम्भावना, चुनौती र नीतिगत पक्षलाई समेटिएको छ।
पुस्तकमा पर्यटनलाई आर्थिक तथा सामाजिक विकासको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै पर्यटकीय गन्तव्यको विकासदेखि क्षेत्रीय पर्यटन बजारसम्मका विषयमा लेखकले आफ्ना दृष्टिकोण र अनुभव प्रस्तुत गरेका छन् ।
पुस्तक सातवटा खण्डमा विभाजन गरिएको छ।
पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले नेपालको पर्यटन विकासका लागि सडक, हवाई तथा अन्य यातायात पूर्वाधारसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क विस्तार आवश्यक रहेको धारणा राखे।
उनले पर्यटनलाई केवल मनोरञ्जन वा भ्रमणको क्षेत्रका रूपमा मात्र नभई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।
लेखक ऐरले नेपालको पर्यटन विकासलाई गन्तव्यको प्रचारप्रसारमा मात्र सीमित नराखी कनेक्टिभिटी, नेटवर्किङ, नीति, पूर्वाधार, पर्यटन उत्पादन र बजार विस्तारलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
पुस्तकमा उनले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न विषयलाई आफ्ना अध्ययन, अनुभव र व्यावहारिक दृष्टिकोणका आधारमा प्रस्तुत गरेका छन्।
ऐरले पुस्तकमार्फत नेपालको पर्यटन विकासका सम्भावनालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडेर हेर्न खोजिएको बताएका छन्।