पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरूको जीवन कस्तो थियो?
हतियार उठाउँदा-उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए? त्यसमा बंगलादेशको उदय र सिक्किमको विलयको घटनाले के-कस्तो प्रभाव पारेको थियो?
बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए। तीमध्ये एक हुन्- इलामका धर्म गौतम।
गौतमले आफ्नो राजनीतिक एवं व्यक्तिगत संस्मरणलाई समेटेर लेखेको रोचक पुस्तक प्रकाशनमा आएको छ, जसमा नेपाली राजनीतिका थुप्रै अनुद्घाटित प्रसंगहरु छन्। 'बीपी र विद्रोहका ती दिन' शीर्षकको यो किताब एक व्यक्तिको जीवनकथा मात्र होइन, यसले मुलुकको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण कालखण्डलाई समेटेको छ।
‘मेरो इलामबाट सुरू भएको राजनीतिक यात्रा कसरी भारतको नक्सलबारी, बनारस, बिहार हुँदै काठमाडौंसम्म तन्केको थियो? त्यस क्रममा देखेका र भोगेका घटनाहरूलाई यस पुस्तकमार्फत फर्केर हेर्ने प्रयास गरेको छु,’ -लेखक गौतमले बताए।
गौतम २०२९ सालमा भारत निर्वासनमा गएपछि बीपी कोइरालाको निकट सान्निध्यमा पुगेका थिए।
बीपीले पञ्चायती व्यवस्थाको अन्त्यका लागि आह्वान गरेको सशस्त्र संघर्षमा सामेल भएका थिए। संघर्षका क्रममा उनी भारतको पूर्णियामा हातहतियारसहित पक्राउ परेका थिए। पछि बीपीकै निर्देशनमा २०३३ सालको कात्तिकमा स्वदेश फर्कने क्रममा पुनः पक्राउ परे र करिब चार वर्ष बन्दी जीवन बिताएका थिए।
'बीपी र विद्रोहका ती दिन' किताब पब्लिशर्सले प्रकाशित गरेको हो।