लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास 'तेजस्' सार्वजनिक गरिएको छ।
शनिबार आयोजित एक कार्यक्रममा बुद्धविहार काठमाडौंका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रूपक अलंकारलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
कार्यक्रममा भिक्षु कोण्डन्यले उपन्यासमा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन, बौद्ध भिक्षुहरूलाई देशनिकाला गरिएको प्रसंग तथा पञ्चायतकालमा उनीहरूको स्वदेश फिर्तीको इतिहास समेटिएको बताए।
उपन्यासले भाषा, संस्कार र संस्कृतिको संरक्षणको सशक्त सन्देश दिएको उल्लेख गर्दै उनले विपश्यना र बौद्ध दर्शनका पक्षहरू पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताए।
आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बस्नेतले 'तेजस्' काठमाडौंको भूगोल र इतिहास बुझ्न अत्यन्त उपयोगी कृति भएको बताए। सेतो ख्याकको दृष्टिकोणबाट कथा भनिएकाले उपन्यास रहस्यमय बनेको उल्लेख गर्दै उनले बौद्ध धर्ममाथि विभिन्न कालखण्डमा राज्यले गरेको उपेक्षा र दमनलाई पुस्तकले गहिराइका साथ उजागर गरेको बताए।
'कान्तिपुर (काठमाडौं) को भूगोल र इतिहास बुझ्न यो एउटा टुर गाइडजस्तै पुस्तक बनेको छ,' उनले भने, 'संगठन नबनाई एक्लाएक्लै काम गर्दा बौद्ध समुदायले राज्यबाट कति दमन सहनुपर्यो भन्ने दस्तावेज पनि हो यो।'
रास्वपा नेता मिलन पाण्डेले असन, वसन्तपुर, नेवार समुदाय र ख्याकसँग सम्बन्धित कम सुनिएका कथाहरू उपन्यासमा समेटिएको उल्लेख गर्दै पुस्तकले काठमाडौंका सम्पदालाई हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन गरेको बताए।
संस्कृतिविद् नानीहेरा शाक्यले उपन्यासले नेपाल मण्डलकालीन कान्तिपुर, वसन्तपुर, कुमारीघरसम्मको परिवेशलाई जीवन्त रूपमा उतारेको बताइन्। नेवार समुदाय कसरी क्रमशः सीमान्तकृत भयो भन्ने विषयलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको भन्दै उनले नेपाल भाषाका केही शब्दमा सामान्य त्रुटि रहेको पनि औंल्याइन्।
कवि रूपक अलंकारले अध्ययनशील लेखकका रूपमा अधिकारीको प्रशंसा गर्दै 'तेजस्' कुनै एक पात्रको कथा मात्र नभई समयसँगै बदलिएको काठमाडौं, नेवारी संस्कृति र बौद्ध धर्मको रूपान्तरणको कथा भएको बताए। शाहकाल र त्यसपछिका राजनीतिक परिवर्तनले काठमाडौं र बौद्ध परम्परामा पारेको प्रभावलाई उपन्यासले प्रभावशाली रूपमा चित्रण गरेको उनको भनाइ थियो।
लेखक शैलेन्द्र अधिकारीले उपन्यास लेख्ने क्रममा नेपालबाट बौद्ध भिक्षुहरू देशनिकाला गरिएको इतिहासले आफूलाई गहिरो रूपमा छोएको बताए। नेवारी समुदायको जीवन र संस्कृतिलाई नजिकबाट बुझ्न आफूले लामो समय अध्ययन र सहकार्य गरेको उल्लेख गर्दै उनले इतिहास, मिथक र सामाजिक यथार्थलाई जोडेर 'तेजस्' तयार पारेको बताए।
शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मूल्य ७२५ रूपैयाँ निर्धारण गरिएको छ।