बालकथामार्फत सिमान्तकृत समुदायको आवाज, अनुभव र पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले लेखिएका सात बालपुस्तक सार्वजनिक गरिएका छन्।
आइतबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, अग्रज बालसाहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली तथा पुस्तकका लेखकहरू लगायतले सात पुस्तकको विमोचन गरेका हुन्।
पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैङ्गितासम्बन्धि कला कार्यक्रम 'जेन्डर आर्टस्: इक्वेल टुगेदर २०२५' अन्तर्गत 'अपराजिता कथा परियोजना'मा संयोजक तामाङको 'आइतीको बिहे', बिना थिङको 'नामको कथा', हंसावती कुर्मीको 'इन्द्रेणी', शान्ति सापकोटाको 'मितिनी', संजोग ठकुरीको 'ममीघर', अस्मिता वादीको 'हैतमाको हिम्मत' र संगीता उराँवको 'सुर्जीको उज्यालो' बालकथाका पुस्तकहरू सिर्जना भएका छन्।
परियोजनामा बाल वाङ्मय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थाहरूले समेत सहकार्य गरेका छन्। बालकथाका पुस्तकहरूमा चित्रकारहरू रबिन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गरेका छन्।
आयोजकका अनुसार बालसाहित्यमार्फत बालिका सशक्तीकरण, लैंगिक समानता तथा समाजमा विद्यमान छोरा-छोरीबीचको विभेद, जातीय, वर्गीय र सांस्कृतिक असमानताबारे सचेतना फैलाउने परियोजनाको मुख्य उद्देश्य हो।
कथाहरूमा सिमान्तकृत समुदायप्रति दयाभाव प्रस्तुत गर्नुको सट्टा उनीहरूको क्षमता, अनुभव, संघर्ष तथा सांस्कृतिक-सामाजिक जीवनलाई केन्द्रमा राख्ने प्रयास गरिएको छ।
कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले बालबालिकाको बौद्धिक क्षमता विकासका लागि लामो र गहन विषयवस्तु भएका पुस्तक पनि पढ्न प्रेरित गर्नुपर्ने बताए।
पढाइले ज्ञानको दायरा फराकिलो बनाउने भएकाले बालबालिकामा पढ्ने बानी विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो।
'प्रत्येक समुदायको आ-आफ्नो भोगाइ, सामाजिक तथा सांस्कृतिक जीवनका अनुभव, संघर्ष र अभ्यासहरु छन्,' परियोजनाकी संयोजक सुशीला तामाङले भनिन्, 'सात वटा बाल कथाहरूमा हामीले थोरै भएपनि समेट्ने प्रयास गरेका छौं। प्रत्येक सर्जकहरू समुदायभित्र छिर्न जरूरी छ। तब मात्र समानता, विविधता र समावेशीकरणको मुद्दालाई साहित्यमार्फत सम्बोधन गर्न सकिन्छ।'
सातै कथामाथि समीक्षा गर्दै अधिकारकर्मी गौरी नेपालीले परम्परागत नैतिक शिक्षा र आदर्श केन्द्रित बालकथाभन्दा फरक ढंगले समाजको यथार्थ चित्रण गरिएको बताइन्।
उनका अनुसार नेपाली बालसाहित्यमा मुख्य पात्रलाई पुरूष केन्द्रित बनाएर विभेदपूर्ण कथा लेख्ने प्रवृत्ति रहेकामा यी कथाले सिमान्तकृत समुदाय, पितृसत्तात्मक सोच र समाजमा स्थापित अभ्यासमाथि प्रश्न उठाएका छन्। यी कथा बालबालिकाका मात्र नभई वयस्क पाठकका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
कार्यक्रममा बालसाहित्यकार प्रमोद प्रधान, गंगा कर्माचार्य, प्रा. डा. तारानिधि भट्टराई, 'जेन्डर आर्टस्: इक्वल टुगेदर २०२५' का निर्देशक युक्ता बज्राचार्य, लेखक बिना थिङ र चित्रकार अनामिका गौतमलगायतले पनि पुस्तकहरूले नेपाली बालसाहित्यमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।