मधेस साहित्य महोत्सवको दोस्रो दिन पानी संकटको चर्चा भएको छ।
'गाउँ विकास भर्सेस विनाश' शीर्षकको छलफलमा बोल्ने वक्ताहरूले पानी संकटबारे चर्चा गरेका हुन्।
मनसुन सुरू हुन ढिलाइ भएपछि यस वर्ष मधेस प्रदेशले चरम पानी संकटको सामना गर्नुपरेको थियो। सहरी क्षेत्रमा मात्रै नभई गाउँमा पनि चापाकल सुकेपछि खानेपानीकै हाहाकार भयो।
लामो खडेरीका कारण पानी संकटको अवस्था आएपछि मधेस सरकारले असार २६ मा मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेश सरकारको सिफारिसमा संघ सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने व्यवस्था छ।
साउन ६ मा मधेस सरकारले संघीय सरकारलाई संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेपछि साउन ७ मा तीन महिनाका लागि संकटग्रस्त घोषणा गरियो।
वीरगञ्जकी दलित अभियानी निला रामले पानीको संकटमा दलित सीमान्तकृत समुदाय मारमा परेको बताइन्।
'पानीको समस्या गाउँ गाउँमा पुग्यो। दलित बस्तीमा एउटा–दुई वटा मात्रै धारा (चापाकल) हुन्छ। त्यो सुकेपछि निकै गाह्रो भयो,' उनले भनिन्, 'नुहाउन, कपडा धुन जाने सिर्सिया नदीमा पनि प्रदूषण गरिदिएका छन्।'
पानीको संकट समाधानका लागि डिप बोरिङ गाड्दा पनि विभेद गरिएको उनले सुनाइन्।
'डिप बोरिङ कहाँ गाडियो? जसको पहुँच छ, उसैको घर अगाडि गाडियो। सय–डेढ सय दलित समुदाय भएको बस्तीमा गाडिएन,' निलाले भनिन्, 'आवाजविहीनलाई नदिने स्थिति बन्यो। महानगरपालिकामा गएर भनेपछि बल्ल बोरिङ गाडियो।'
कमला बचाउ अभियानका संयोजक विक्रम यादवले पानीको मनपरी दोहनले संकट निम्तिएको बताए।
'कुन ठाउँमा कति पानी चाहिन्छ, कुन ठाउँबाट कति झिक्ने, कुन ठाउँबाट नझिक्ने, कुनै लेखाजोखा छैन,' उनले भने, 'पहिला सामूहिक रूपमा इनार र पोखरीको पानी प्रयोग हुन्थ्यो, सुविधाभोगी हुँदै जाँदा घर घरमा चापाकल चाहियो, अब छोराछोरीलाई बैंकमा पैसा होइन, पानी जोगाएर राखिदिए काम लाग्ने अवस्था बनेको छ।'

थोपा थोपा पानीको महत्त्व रहेको बताउँदै उनले हरेक व्यक्तिले कसरी पानी कम खर्च गर्ने भनेर अभ्यास नगरे पानी भेटाउन मुस्किल हुने बताए।
प्राकृतिक र सामाजिक जीवनमा असन्तुलन हुँदा मानिसको जीवनस्तर सुधार हुन नसक्ने उनको तर्क छ।
जलाधारविद मधुकर उपाध्यायले गलत विज्ञान बोकेर हिँड्दा पानी संकटको चुरोमा पुग्न नसकेको बताए।
'वन जोगाउँदा पानी जोगिन्छ भनेर भनियो, वन ३९ प्रतिशतबाट ४६ प्रतिशत नाघिसक्यो। निजी वन जोड्यो भने अझै बढी हुन्छ, खै त पानी जोगिएको ?' उनले भने, 'आधाभन्दा बढी मूल किन सुक्यो, बाढी–पहिरो कम भएको छैन, अझै बढ्दैछ किन?'
आधारभूत विज्ञानमा बाहिरको समाधान ल्याएर हालेर यहाँ समस्या खोजिएकोले यस्तो स्थिति बनेको उनको भनाइ छ।
जलवायु परिवर्तनको अवस्थाबारे बुझ्न नेपाल सरकारले नै मुलुकभरि ६५ सयभन्दा बढी मानिससँग गरेको सर्वे अनुसार मधेसमा पछिल्लो २५ वर्षमा ३० प्रतिशत मानिसले खोला सुकेको जानकारी गराए पनि सरकारले बेवास्ता गरेको उनी बताउँछन्।
'जलस्रोत मन्त्रालयले पानीको स्रोत संरक्षण गर्ने कुरा हेर्छ। खानेपानी मन्त्रालय भएको पानीलाई पाइप जोडेर घरमा कसरी ल्याउने भनेर ध्यान दिन्छ। संरचनागत रूपमा पानी सुकेको हेर्ने निकाय खै ?' उनले भने, 'यो २५ औं वर्षदेखिको समस्या हो, झन् गहिरिँदै गएको छ।'

चुरेलाई तराई–मधेसको 'वाटर टावर' भनेर गलत ढंगले परिभाषित गरिएको बताउँदै उनले तराईमा विद्यमान पानीको संकट समाधान चुरे संरक्षणबाट नहुने बताए।
'तराईमा पानी संकटको समाधान चुरे भन्छौं, चुरेमा वन विनाश भएकाले यहाँको पानी तल गयो भन्ने तर्क छ। तर यो गलत छ। यथार्थमा यहाँको पानी भनेको गंगा बेसिनको समुद्र हो, पहाडका नदीहरू यहाँ आएर मिसिन्छन्, यो संगमस्थल हो। भौतिक जटिल हुन्छ। नदी प्रणाली र भूमिगत प्रणालीलाई बुझ्नुपर्छ,' उनले भने।
उनले थप भने, 'हामीभन्दा बढी पानी बिहारले तान्छ, सिँचाइका लागि पैसा तिर्नुपर्दैन। उता जति तान्छन्, हाम्रो पानी घट्छ। माथिबाट आउने पानीले पनि गेग्रान बढी ल्याउँछ। सँगसँगै चार कोसे झाडी मासिएको बिर्सनुभएन। भावर क्षेत्रमा बस्ती बस्यो, यो सबै कुराको परिणति पानी संकट हो।'
विश्वव्यापी रूपमा पानीको संकट दिवालियापनको अवस्थामा पुगिसकेको बताउँदै उनले हामी ठूलो संकटको अगाडि उभिएको बताए।
चुरे आफै सुख्खा पहाड भएकाले पानी सञ्चय नगर्ने उनको तर्क छ।
'१४ वर्ष भयो काम भएको, चुनौती दिएर सोध्नुपर्छ, चुरेमा काम गरेर कहाँ पानी बढ्यो? अर्को १४ वर्षमा पानी बढ्दैन नि,' उनले भने, 'हिउँदमा पानी नआएको ४ वर्ष भयो, वर्षा ढिलो हुँदैछ, कात्तिकमा वर्षा हुन्छ, चुरेमा जंगल लगाएर हुन्छ भन्दैछौं, हुँदैन, चुरेले रिचार्ज गर्दैन।'

जलवायु परिवर्तनको असर सन् २०२७ मा झन् बढी देखिने विज्ञहरूले बताएकाले संकट अझै गहिरिने उनको तर्क छ।
मधेस साहित्य महोत्सवमा दोस्रो दिन प्रथम सत्रमा शिक्षा, स्वास्थ्य र समानता विषयक छलफल भयो। जसमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रञ्जन साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, बीमा प्राधिकरण मधेस प्रदेश प्रमुख आर्या रावल र आमोद प्याकुरेल सहभागी थिए।
दोस्रो सत्रमा गाउँः संघर्ष र संरचना विषयमा चर्चा भयो। जसमा विजयकान्त कर्ण, हरि शर्मा र रामपुकार महरा सहभागी थिए।
चौथो सत्रमा गाउँका खबर, खबरका गाउँ र पाँचौं सत्रमा गाउँ काल्ह र आज भन्ने विषयमा संवाद गरियो। साँझमा बहुभाषिक कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम राखिएको थियो।
महोत्सवमा शुक्रबार सांस्कृतिक नाच नेटुवा नाच पनि देखाइएको थियो।
भोजपुरी क्षेत्रमा विवाहमा कथा मटकोरका दिन, छठको परना र देवी स्थानमा मेला लाग्दा नेटुवा नाच देखाउने चलन छ।