जापान सांगीतिक यात्राको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँगै नेपथ्य टोली स्वदेश फर्किँदैछ।
भौतिक रूपमा ब्यान्ड फर्किए पनि प्रदर्शनस्थल 'जेप ओशाका बे साइड' मा भने नेपथ्य दीर्घकालसम्म रहनेछ। प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको 'वाल अफ फेम' मा राखिनेछ।
नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो हलमा आएर प्रस्तुति दिनेमध्ये गर्व गर्न लायक समूहको चिनारीलाई फ्रेमसहित भित्तामा सजाउने चलन विश्वभरिका प्रतिष्ठित हलहरूमा हुन्छ।
उनी भन्छन्, '१३ वर्षअघि लन्डनको वेम्बली एरिनामा उपस्थित हुनु नेपथ्यका लागि एउटा मानक थियो भने विश्वप्रसिद्ध सहर अनि जापानकै आर्थिक महानगरको प्रतिष्ठित हलले यसरी सम्मान गर्नु ब्यान्डका लागि अर्को मानक भएको छ।'
हलका प्रबन्धक एन्डो नाओसीले नेपथ्यको कन्सर्टमा अद्भुत अनुभव गर्न पाएको सुनाए।
'हामीकहाँ नेपालकै पनि अन्य धेरै कार्यक्रम आयोजना हुँदै आएका थिए,' उनले भने, 'तर नेपथ्यको आजको कन्सर्टमा देखिएको व्यापक सहभागिता, दर्शकको ऊर्जा र सबै गीतमा साथसाथै गाएर उनीहरूले देखाएको आत्मीयताबाट म प्रभावित भएँ।'
ओशाकाको प्रस्तुतिसँगै लोकरक ब्यान्ड नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध जापान यात्राबाट विश्राम लिएको छ। अघिल्ला दुई सहर नागोया र टोकियोजस्तै ओशाकामा पनि नेपथ्यको प्रस्तुतिलाई दर्शकको भव्य उपस्थितिले साथ दिएको थियो।
सोमबार बेलुकी ५ बजे ढोका खुलेपछि हलभित्र प्रवेश गरेका दर्शकले मञ्चमा कलाकार टोली देखिनासाथ चर्को हुटिङसहित स्वागत गरेका थिए। टोलीले पहिलो गीतका रूपमा 'हो रामा रामा' प्रस्तुत गरेको थियो।
कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका मुख्य गायक अमृत गुरूङले घरी नेपाल पुगेको बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरी नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए। उनले 'यो जिन्दगानी' गीत प्रस्तुत गर्नुअघि हाम्रो सामाजिक परम्परा परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आह्वान पनि गरे। विदेशमा कमाएको थोरै पैसा जोगाएर भए पनि नेपालमा पढ्न नपाएका केटाकेटीलाई शिक्षाको उज्यालो घाम देखाइदिन उनले अनुरोध गरे।
कन्सर्ट हेर्न ओशाकाका मात्र नभई टाढा–टाढाका दर्शक पनि उपस्थित थिए। तिनैमध्येका एक थिए, केही परको ग्रामीण भेगबाट आएका रविन श्रेष्ठ।
'जापानमा हामीले बाँचिरहेको जीवन, नेपाल अनि त्यहाँको कष्टकर अवस्थालाई जोड्ने गरी अमृत दाइले बोलेका कुरा असाध्यै प्रभावकारी लाग्यो,' कन्सर्ट हेरिसकेपछि रविनले भने, 'हेरून्जेल नेपालै पुग्दाको जस्तो आनन्द आयो । शोबाट पर्याप्त सकारात्मक ऊर्जा पाएको महसुस भइरहेको छ।'
कन्सर्ट दुई घण्टासम्म निरन्तर चलेको थियो। अन्त्यतिर पुग्दा 'गाउँ–गाउँबाट उठ' गीतले दर्शकलाई जताततै उफार्यो। त्यो गीत सकिनासाथ अमृतले आह्वान गरे– 'तपाईंका नातागोता मात्र होइन, कुरा मान्नेहरू सबैलाई फोन गरेर यसपालि हाम्रालाई होइन, राम्रालाई भोट हाल्नुस् भनिदिनुस् है।' दर्शकले चर्को आवाजसहित उक्त भनाइको समर्थन जनाए।
लगत्तैको 'जोगले हुन्छ भेट' गीतका क्रममा गितारवादक नीरज र दर्शकबीच रमाइलो संगम देखिएको थियो। पछि गायक अमृतले यस गीतको थालनी गर्दा सिंगो हल साथसाथै गाउने र नाच्ने अवस्थामा पुग्यो। सर्वाधिक लोकप्रिय 'रेशम' र 'तालको पानी' सम्म आइपुग्दा दर्शकको उल्लास चरम विन्दुमा पुगेको थियो। त्यस ऊर्जालाई अन्तिम गीत 'रातो र चन्द्रसुर्जे' ले थप उचाइ दियो।
हलभित्रका दर्शकमा जापानी नागरिकहरू पनि देखिन्थे। तीमध्येका ओकुयामा सिगेकीले आफ्नो अनुभव सुनाए, 'जापानी दर्शकको हिसाबले मञ्च र दर्शकदीर्घाबीचको संवाद अनि गायकसँगसँगै सबैले गाउने शैली मलाई नौलो लाग्यो। छ सदस्यीय टोलीले परम्परागत वाद्ययन्त्रसहित यति विविधता प्रस्तुत गरेको पहिलोपटक देखेँ।'
चार वर्षअघि धरानबाट आई अध्ययन गरिरहेकी शिला देवानको अनुभव भने बेग्लै थियो। 'एकातिर एउटै गीतमा तन्नेरी, अधबैँसेदेखि वृद्धसमेत नाचिरहेका देखिन्थे,' उनले भनिन्, 'अर्कातिर मञ्चमा कलाकारको आवाजभन्दा तल उपस्थित दर्शकले गाइरहेको आवाज चर्को थियो। गजब लाग्यो।'
कार्यक्रममा अमृतलाई सधैँझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
'दर्शकको भव्य उपस्थिति र उनीहरूको उत्साह देखेर एकदमै सन्तुष्टि महसुस भइरहेको छ,' आयोजक टोलीका पूर्ण गर्बुजाले भने 'यो अवसर प्रदान गरिदिएकामा नेपथ्य र नेपालयप्रति आभारी छौं।'
तस्बिरहरू:-दिपित राज/नेपालय




