चर्चित संगीतकर्मी आशिष अविरलमाथि अमेरिकाको बाल्टिमोरमा निर्घात कुटपिट भएको छ।
उनकी श्रीमती गायिका सुशीला पाठकका अनुसार कामको सिलसिलामा उत्पन्न भएको सामान्य विवादपछि दुई स्थानीय व्यक्तिले कुटपिट गरेका हुन्।
आक्रमणका कारण आशिष अविरलको नाक तथा आँखामुनिको हड्डी भाँचिएको छ। उनको बाल्टिमोरस्थित ट्रमा सेन्टरमा शल्यक्रिया गरिएको सुशीलाले बताइन्। नेपाली समयअनुसार आइतबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको उनले जानकारी दिइन्। चिकित्सकले आशिषलाई केही साता घरमै आराम गर्न सल्लाह दिएका छन्।
उनको आँखामा समेत गम्भीर चोट लागेको छ। थप परीक्षणका क्रममा नाकको हड्डी बांगो देखिएकाले राइनोप्लास्टी शल्यक्रिया गर्नुपर्ने सम्भावना पनि रहेको चिकित्सकले बताएको सुशीलाले जानकारी दिइन्।
केही महिनाअघि पुत्रलाभपछि नेपाल आएका आशिष अविरल केही साताअघि मात्रै अमेरिका फर्किएका थिए।
उनी नेपालका चर्चित गायक तथा संगीतकार हुन्।