'९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३' मा निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति-ख) प्रथम भएका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटको विदुरमा भएको प्रतियोगितामा उनीहरूले १७ टोलीलाई पछि पार्दै उपाधि जितेका हुन्। विजेताले शिल्डसहित ३ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।
तीन दिन चलेको प्रतियोगितामा सरोज सिंखडा र जमुना विश्वकर्मा (बागमती प्रदेश -क) द्वितीय तथा मानव रावत क्षेत्री र भावना अर्याल (मधेश प्रदेश -क) तृतीय भए।
राजमान खत्री र शान्ता वली (लुम्बिनी प्रदेश-ख) ले सान्त्वना पुरस्कार प्राप्त गरे। द्वितीय, तृतीय र सान्त्वना विजेताले क्रमशः २ लाख, १ लाख र ५० हजार रूपैयाँ नगद पुरस्कार पाए।
जेठ २९ देखि ३१ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट कलाकारहरू पनि सम्मानित भएका छन्। उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नवगायक विक्रम गहतराज तथा उत्कृष्ट नवगायिका शीतल कल्पना विक घोषित भए।
त्यस्तै, अनुशासित गायक बेल बहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल र उत्कृष्ट भेषभूषा (महिला) सीता माझी बन्न सफल भए।
प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता अपेक्षाभन्दा भव्य र सफल भएको बताइन्।
करिब २० हजार दर्शकको सहभागिता रहेको प्रतियोगिताको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो भने विदुर नगरपालिका र टोखा नगरपालिका संरक्षकका रूपमा थिए।