सन १९८५ मा इटलीका वैज्ञानिक मार्कोनीले विकास गरेको रेडियो तरङ्ग अहिले विश्वका सवै मुलुक र अधिकांश भ–ूभागमा पुगिसकेको छ।
अमेरिकाको पेन्सिलभानिया राज्यबाट औपचारिक रुपमा सुरू भएको रेडियोको इतिहास अहिले विश्वव्यापी भएको छ। फेव्रुअरी १३ अर्थात आजको दिन संयूक्त राष्ट्रसंघले रेडियो दिवस मनाउन सुरू गरेको पनि ९ वर्ष पुरा भएको छ।
नेपालमा रहेका ३ सय पचास भन्दा धेरै सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)ले प्रत्येक वर्ष विश्व रेडियो दिवस धुमधामका साथ मनाउँदै आइरहेको छ।
यस वर्ष अकोरावले सातवटै प्रदेशमा विश्व रेडियो दिवशको सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो। विश्वका अन्य मुलुकसँगै नेपालमा पनि रेडियो दिवस मनाइरहँदा नेपालका रेडियोहरुको बारेमा केही चर्चा गर्नु आवाश्यक भएको छ।
नेपालमा रेडियो
वि.स. २००७ सालमा राणा विरोधी आन्दोलन चलिरहँदा विराटनगरको जुटमिलबाट प्रजातन्त्र रेडियोको नाममा सुरु भएको रेडियो प्रशारण प्रजातन्त्रपछि सिंहदरवारमा सारियो। रेडियो नेपालको नाममा प्रशारण सुरू भएको थियो।
रेडियो नेपालको नाममा प्रशारण सुरू भएको पनि ६९वर्ष पुगेको छ। २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा प्रशारणको अनुमति लिएसँगै अहिले नेपालमा प्रशारण हुने रेडियोको सङ्ख्या ७५० नाघेको छ। सामुदायिक रेडियो प्रशारक संघमा आवद्ध हुने सामुदायिक रेडियोको सङ्ख्या ३५० भन्दा धेरै छ।
नेपालमा रेडियोको प्रभावकारिता
नेपालजस्तो अल्पविकसित मुलुकमा सूचना र सञ्चारको प्रभावकारी माध्यम बनेको छ रेडियो। काम गर्दा खेतको आलीमा होस् वा घाँस बोक्ने डालीमा होस् काम गर्दै सजिलै सुन्न सकिने माध्यम हो रेडियो।
हिजो रेडियो नेपाल, अल इन्डिया रेडियो र बिबिसीमा भर पर्ने स्रोताहरु अहिले आफ्नै आवाज, आफ्नै गाउाघरको रेडियोवाट सुन्न सक्ने भएका छन्। गोरू हराएको सूचनादेखि मेलापातका सूचनासम्म, आरनको विज्ञापनदेखि सोहृ श्राद्धसम्मको सूचना दिने काम सामुदायिक रेडियोले गरिरहेका छन्।
सञ्चार माध्ययमले गर्नुपर्ने शिक्षा, सूचना, मनोरञ्जन, अभिप्रेरणा र सामाजिकीकरणका कार्यहरू निरन्तर रुपमा गर्दै आइरहेको छ। त्यसका साथै सञ्चार माध्यमको मुख्य काम जनताको कुरा सरकारलाई अथवा नीति निर्माण तहमा बसेकालाई सुनाउने र नीति निर्माण तहमा रहेकाले गरेका कार्यहरु जनतालाई जानकारी गराउने सेतुको कार्य रेडियोहरुले गरिरहेका छन्।
अझ रेडियोमा केन्द्रित रहेर कुरा गर्दा व्यापारिक रेडियोको तुलनामा सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। तथ्याकंले भन्छ– विकासको हिसावले सबैभन्दा पछाडि पारिएको कर्णाली प्रदेशमा सञ्चालनमा रहेका ४२ वटा रेडियोमध्ये ४१ वटा रेडियो सामुदायिक रहेका छन्।
समुदायको आवाज प्रतिविम्वित गर्नका लागि सामुदायिक रेडियोहरु महत्वपूर्ण सारथी बनेका छन्। सामुदायिक रेडियो समुदायका मानिसहरुको दुख सुखका साथी बनेका छन्।
रेडियोहरूले बिहान झिसमिसेदेखि बेलुका निन्द्रा नपुरेञ्जेलसम्मको समयमा साथ दिइरहेका छन्। मानिसहरु स्वाभावैले आफ्नो नजिक भएको घटनाक्रमहरु देख्न चाहान्छ, पढ्न चाहन्छ र सुन्न चाहन्छ। त्यसको लागि पनि सामुदायिक रेडियो महत्वपूर्ण साधन बनेका छन्।
अझ विपद्को समयमा रेडियोहरूले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको समयमा होस् वा तराईमा आएको वाढीको समयमा जनताको सूचनाको हकलाई प्रत्याभुत गराउने सशक्त माध्ययमको रूपमा नेपालका रेडियोहरूले आ–आफ्नो भूमिका निर्वाह गरे।
भूकम्प गएको समयमा त नेपालका सामुदायिक रेडियोहरूले बारीको पाटाबाट समेत प्रशारण गरेर जनताको सूचनाको भोकलाई मेटाउने काम गरे। सञ्चारका अन्य माध्ययमहरुले प्रभावकारी काम गर्न नसकेको अवस्थामा समेत रेडियोहरुले अझै आफ्नो लोकप्रियता र महत्वलाई स्थापित गर्ने काम गरेका छन्।
यसकारण पनि सञ्चारकाअन्य माध्ययमको तुलनामा रेडियो महत्वपूर्ण रहेको कुरामा दुईमत छैन। नेपालमा सामुदायिक रेडियोहरूको सङ्ख्यामा मात्र वृद्धि भएको छैन, यसले गुणात्मक फड्को पनि मारेको छ।
सामुदायिक रेडियोका चुनौतिहरु
नेपालमा सामुदायिक रेडियो को सङ्ख्यामा त उल्लेख्य वृद्धि भएको छ, त्यो सँगसँगै रेडियोमा चुनौति पनि थपिँदै गएका छन्। पहिलो संविधानसभाको निर्वाचनपछि राजनैतिक प्रतिस्पर्धाको आधारमा रेडियो खोल्ने क्रम तीव्र भयो, जसकाकारण एउटा सानो सहरमा पनि धेरै रेडियो स्टेसनहरु स्थापना गरिए।
रेडियो स्टेशनको सङ्ख्या धेरै, तर सीमित श्रोत र साधन, दक्ष जनशक्तिको अभाव, विजुलीको समस्या जस्ता कारणले गर्दा सामुदायिक रेडियोहरूको अवस्था दिनानुदिन धरासयी बन्दै गइरहेको छ। त्यसो त नेपालमा अझै पनि स्पष्ट रेडियो नीति बनेको छैन।
रेडियो नीतिको अभावका कारण कतिपयले स्वघोषित रूपमा व्यापारिक वा सामुदायिकको रुपमा आफूलाई व्याख्या गरिरहेको अवस्था छ।
विज्ञापन बजारको अभावका कारणले र अस्वस्थ प्रतिस्पर्धाको कारण पनि सामुदायिक रेडियोहरु समस्यामा छन्। रेडियोको व्यापार विस्तार गर्ने भनेर खोलिएका विज्ञापन एजेन्सीले समेत सामुदायिक रेडियोलाई ठग्ने काम गरीरहेका छन्।
एकातिर अत्यन्त सस्तो मूल्यमा विज्ञापन बजाउनुपर्ने, अर्कोतर्फ बेलैमा भुक्तानी नदिने समस्याले आक्रान्त छन् सामुदायिक रेडियोहरु। माथि उल्लेख गरिएका त वाह्य कारण भए, सामुदायिक रेडियोको बारेमा सोच्दा अब हामीले रेडियोले दिने ‘कन्टेन्ट’को बारेमा पनि सोच्नुपर्ने बेला भएको छ।
हामी नाममा आफूलाई सामुदायिक दावी गरिरहँदा हामीले दिने विषयवस्तु कत्तिको सामुदायिक छन् त? हामीले दिने विषयवस्तु समुदायका मानिसले कत्तिको रुचाएका छन्? एकपल्ट आफूलाई नियाल्नुपर्ने भएको छ।
विषयवस्तु र स्थानीय सहभागिताको आधारमा अब नेपालका सामुदायिक रेडियोले काम गर्नुपर्ने बेला भएको छ। त्यति मात्रै होइन, अहिलेको मुख्य समस्या भनेको विनाआधार र भौतिक पुर्वाधारविना खुलेका रेडियोहरु हुन्। जसले नेपालमा रेडियोको सङ्ख्यामा त उल्लेख्य वृद्धि गर्यो।
तर गुणात्मकतामा अझै पनि ध्यान दिन सकेको छैन। नेपालमा आमसञ्चार विधेयक पारित हुने क्रममा छ। त्यस विधेयकमा नेपालका रेडियो अझ त्यसमा पनि सामुदायिकलाई राज्यले स्पष्ट सम्वोधन गर्नुपर्ने जरुरी छ।
नेपालमा विधागत रेडियो
अब हामीले नेपालमा विधागत रेडियोको बारेमा सामान्य रुपमा छलफल र वहस मात्रै होइन, स्पष्ट कार्ययोजनको साथ सामुदायिक रेडियोलाई विधागत रुपमा काम गर्नको लागि प्रेरित गर्नुपर्ने समय भएको छ।
धादिङका किसान लक्षित कृषि रेडियो होस् वा पाल्पाको रेडियो मदनपोखरा। महिलाहरूले मात्र सञ्चालन गरेको रेडियो मुक्ति होस वा दलितहरुले सञ्चालन गरेको रेडियो जागरण होस्। यी नेपालमा नमुना रेडियोको रुपमा रहेका छन्।
रेडियो सञ्चालनको लामो समयमा पनि यी रेडियोहरु कार्यक्रम उत्पादन र सञ्चालनका क्षेत्रमा अगाडि रहनु एउटा विषय केन्द्रित रहेर नै भएको कुरामा दुई मत छैन।
यो विश्व रेडियो दिवस सँगसँगै राज्यले स्पष्ट रुपमा रेडियो नीति तयार पारी सामुदायिक रेडियोको वर्गीकरण गरी केही अनुदानको व्यवस्था गर्नु जरुरी छ।
स्थानीय स्तरमा सञ्चालन हुने सामुदायिक रेडियोहरुले अस्वस्थ प्रतिस्पर्धा होइन, एउटा वा दुईटा विषयमा केन्द्रित हुदै स्थानीय सहभागिता र स्थानीयस्तरले खोजेको सामाग्री उत्पादन र प्रशारणमा जोड दिएर प्रतिष्पर्धाको भावना हटाइ स्वच्छ समाजको निर्माण गर्न सकौँ। रेडियो दिवसको अवसरमा सबै रेडियो कर्मीहरुलाई हार्दिक शुभकामना .....
(लेखक सामुदयिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य तथा कृषि रेडियो धादिङका स्टेशन म्यानेजर हुन्।)