निलो आकाश अनि सेता बादलका धर्साहरू साथैमा घु-घु गर्दै उडिरहेको सानो चरा जस्तै आकारको के होला भन्ने हुन्थ्यो, लाग्थ्यो। उफ्रिएर त्यसलाई छुन पाए, हामी पनि त्यसरी नै माथि उड्न पाए, ती बादलहरू भित्र कार्टुनमा देखाए झैँ लुकिडुम खेल्न पाए, यस्तै कयौं रहरहरू एकपछि अर्को गर्दै उब्जिन्थे।
सानोमा के होला भनेर अनेक उत्साह जागेको वस्तु त हवाईजहाज पो रहेछ। पछि विद्यालय जान थालेपछि त्यसको अंग्रेजी नाम पनि थाहा भयो, अर्थात् 'एरोप्लेन' ।
अचम्म के लाग्छ भने जुन वस्तु सानोमा देख्दा मात्रै जति उत्साह जाग्थ्यो, आज त्यसैमा बसेर उडान गर्दा किन छैन?
किन ती रहरहरू पूरा भए झैँ लाग्दैनन्?
किन बादल माथि उडिरहँदा पनि खुसीका अनुभूति हुँदैनन्?
बालापनमा नजिकैबाट देख्न र छुन पाए भन्ने कौतुहुलता आज त्यसैमा बसेर लामो यात्रा गर्दा किन भेटिँदैन?
हामी तल भुइँमा बसेर ऊ जहाज आयो भन्दै उफ्रिरहँदा माथि जहाजभित्र त अनेकौं ठाउँबाट आएका, कोही घर छाडेर आउनु परेका अनि कोही वर्षौंपछि घर जाँदै गरेका, कोही केही समयका लागि घुम्न गएका यस्तै मानिसहरू हुने रहेछन्। अहिले जब आफूले यात्रा गरेँ, तब मात्रै त्यो क्षण कस्तो हुने रहेछ भन्ने महसुस भयो।
हामी भुइँमा खुसी भइरहँदा माथि जहाजमा कोही मौन हुन्छन्, कोही टाढा सबै छाडेर आउनु परेको पीरमा हुन्छन्। कहिलेकाहीँ हावाको सन्तुलन नमिल्दा जहाज हल्लिँदा लौ न के भयो, के हुने हो, ए भगवान् सबै राम्रो भए हुन्थ्यो यस्तै वाक्यहरू पनि सुनिन्छन्। साँच्चै नै घर छाडेर अनि सिङ्गो आफू जन्मेको हुर्केको देश नै छाडेर टाढा आउनु भनेको आफ्नै मनसँग छुट्टिएर आउनु जस्तै रहेछ। जति माथि-माथि उड्यो, त्यति टाढा आइने रहेछ र सबैबाट टाढा नै भइने रहेछ।
आएको कति समय भइसक्दा पनि आँखा अघि उही घरको चार कुना, बा-आमाको माया, साथीभाइको साथ कहाँ त्यति सजिलै बिर्सेर अघि बढ्न सक्नु र? यी भनेका न त भुलिन्छन् न त भुल्न नै हुन्छ। बा-आमाको माया र आर्शीवाद अनि असल साथीको साथले जहाँ गए पनि हिम्मत दिन्छ।
आज यो बिरानो सहरमा कसैले नेपाली बोल्दा पनि कति धेरै खुसी लाग्ने रहेछ। जहाँ जाँदा पनि एउटा मात्रै भए पनि नेपाली भइदिए हुन्थ्यो भन्ने लाग्ने रहेछ। त्यसै मन आत्तिए झैँ हुने, केही उत्साह नलाग्ने, नचाहेर पनि हाँस्नुपर्ने अनि कहाँ पाइन्छ आफ्नोपन भनेर खोज्ने सायद यस्तै हुँदो रहेछ बिरानो सहर जसलाई विदेश भनिन्छ।
घरमा हुँदा आमाले पकाएर खान आऊ भन्दा नि ‘के हो र तरकारी? ह्या, कसले खान्छ यस्तो तरकारीसँग नि’ भनेको वाक्य विदेश आएपछि समयमै भोक लाग्दा पनि खान नपाउँदा झलझली याद आउँछन्। सबै भन्दा बढी याद त आमाकै आउने रहेछ। हिँड्ने बेलामा राम्रोसँग बस्नु है भन्न खोज्दा पनि मुखबाट वाक्य नै नफुट्ने रहेछन्।
बिदाइ गर्दै गर्दा एयरपोर्ट बाहिर बसेर रुँदै गरेकी मेरी आमाको अनुहार कसरी भुल्नु?
घरबाट निस्किँदै गर्दा बिरामी बालाई गए है, आफ्नो ख्याल गर्नु भन्दाभन्दै आँखा भरिएर बोल्न नसक्नु, खै कसरी आफूलाई सम्झाउने जस्तो हुने रहेछ।
म एक नेपाली जब अङ्ग्रेज भूमिमा आएँ, तब मलाई लाग्यो, 'होइन, के राम्रो छ र यहाँ?' एउटा सिस्टममा चलेको भएर मात्रै आज विदेश जस्तो भनिन्छ। नत्र भने यहाँभन्दा कयौँ गुणा राम्रा प्राकृतिक सौन्दर्य हाम्रै देशमा छन् भन्ने हुने अनि झन् जब घरबाट अनि देशबाट टाढा आइन्छ नि, तब झन् त्यसको महत्त्व बढी लाग्ने रहेछ।
भनिन्छ नि, 'घर छाड्नु तर घरलाई नबिर्सिनू'। रहरले त खै को नै आउँछ होला र यो बिरानो सहरमा सबै छाडेर? तर जति पनि आए सबैले धेरै भोगे, धेरै बुझे, धेरै सहे, धेरै सोचे, धेरै रोए, धेरै आत्तिए, सायद धेरै कमाए, आफ्नो साहस र सफलतामा खुसी पनि भए होलान्। देशमा बसेरभन्दा विदेशमा बसेर भोग्नेले सायद समयको महत्त्व, भोकको पर्खाइ, आफ्नोपनको खोजी अलि बढी बुझेका छन् जस्तो लाग्छ।
विदेशी भूमिमा आएर यहीँ बच्चा पाउनु, हुर्काउनु अनि उनीहरू पनि सबै यहीकै जस्तै हुनु कस्तो नराम्रो लाग्ने रहेछ। बा-आमा नेपाली भएर छोराछोरीलाई हेर्यो, नेपाली अनुहार छ तर भाषा यहीँको खरर छ। यी सबै देख्दा पहिला म मेरो देश सम्झिन्छु अनि देशलाई चलाउने अनुहारहरू सम्झिन्छु अनि धिक्कार्छु ती भ्रष्टाचारीहरूलाई जसले कस्तो देशलाई कस्तो बनाए, किन आफ्ना नागरिकहरू आफ्नै देशमा राख्न सकेनन्? किन मान्छेलाई विदेश भन्न बाध्य बनायो? किन यो देशमा के छ र भन्नेमा पुर्यायो?
दिन बिते, महिना बिते, हेर्दा हेर्दै वर्ष बिते तर पनि देशमा समस्या रोजगारीकै छ। केही नहुनेलाई शिक्षाको समस्या छ, स्वास्थ्यको समस्या छ यस्तै कयौं छन् तर कहिलेसम्म? कहिलेसम्म देशले आफ्ना नागरिकलाई अड्याएर राख्न सक्दैन? कहिलेसम्म रेमिट्यान्सको लोभ गर्छ? कहिलेसम्म छोराछोरी बा-आमाबाट टाढा हुने? कहिलेसम्म आफ्नो जन्मस्थान छाडेर विदेशी भूमिमा रुमलिनु पर्ने? अनि कहिलेसम्म आफ्नोपनदेखि टाढा हुनुपर्ने?
हे सरकार, आजलाई नसोचे पनि भोलिलाई त केही सोच। हुर्किँदै गरेका कोपिलाहरूलाई आफ्नै भूमिमा राम्रोसँग फक्रिएर फुल्न सक्ने वातावरण बनाइदेऊ। स्वदेशी विदेशमा होइन विदेशी स्वदेशमा आउने वातावरण बनाऊ। विकसित राष्ट्र झैँ राम्रो काम गरेर तिमी पनि उच्च स्थानमा आउने बाटोको सिर्जना गर।