कुनैबेला मस्तिष्कमा अचम्म अचम्मका दृश्यहरू पौडिन आउँछन्। कलिले अतीत छाउँछ त कहिले वर्तमान। स्पष्ट रूपमा म देख्न सक्छु मेरो बाल्यकाल, अनि हठात् सोच्न पुग्छु ओहो! कता गए ती स्वर्णिम पलहरू? खोई कता छ मेरो बालापन। खोई कता छन् मेरा सानासाना कोमल हातखुट्टाहरू। त्यो सानो शरीर। त्यो चुलबुले आँखा। त्यो निर्भीक पाइला। चञ्चलता बोकेको विवधतायुक्त समय खोई? आफूलाई स्थिर राखेर नियाल्छु, देख्छु आफैभित्र आफ्नै बाल्यकाल।
आश्चर्य लाग्छ भूमिहीन संसार मभित्र विराजमान छ। अनि सत्य र असत्य पनि मित्थ्या लाग्छ मलाई। हुनु र नहुनु पनि अपूर्ण। भौतिक रूपमा त्यो समय छैन अहिले तर नभएर पनि भएको आभासले पुलकित हुन्छु। घण्टौँ हराउन सक्छु त्यो अदृश्य संसारमा। भूगोलविहीन लोकमा।
समयलाई आफ्नै मस्तिष्कमा अवतरित गरेर रमाउन पनि सक्छु। कल्पनाको उडानमा भविष्यको नौलो संसार रच्न खोज्छु। सम्झना र कल्पनाको दोभानमा टोलाउँछु। उति नै खेर फोनको घन्टी बज्छ। मनोलोकबाट जुरूक्क उठेर फोन हेर्छु एक जना कविजीले केही प्रश्नहरू म्यासेन्जरमा पठाउँदै भन्नुभएको छ, ‘म्याम नमस्ते केही अध्यात्म सम्बन्धी प्रश्नहरूको उत्तर खोजिरहेको छु। हजुरको फुर्सदमा यी प्रश्नहरूको उत्तर आफ्नै ज्ञान र अनुभूतिका आधारमा दिनुहोला है। मलाई यी प्रश्नको उत्तर जान्ने मन छ ...।’
हतारिँदै प्रश्नहरू हेरेँ, ‘मन के हो? यो कहाँ हुन्छ? तपाईं को हो? किन यो संसारमा तपाईंको उपस्थिति हुनुपरेको होला? आत्मा र शरीर के हुन्? मोक्ष के हो? यो कसरी प्राप्त गर्न सकिन्छ? बुद्धि, विवेक र हृदय के हुन् यिनले कसरी कार्य गर्दछन्? दुःख के हो? मानिसले दुःखको अनुभूति किन गर्छ? के मानिस भएर जन्म लिएपछि पनि खाने, सुत्ने र वंश विस्तार गर्ने मात्र हो? यो त पशुले पनि गर्दछन् त? आखिर फरक के भयो त? जन्म के हो मृत्यु के हो? पुनर्जन्म के हो?’
प्रश्नको गहनता देखेर मेरा सतही उत्तरहरू विलुप्त भए।
‘अहो! बडो जटिल प्रश्नहरू छन् त! यी प्रश्नको उत्तर त मेरो वशमा छैन कविजी’ भन्न मन लाग्दालाग्दै भनेँ ‘किन र केका लागि यी प्रश्नको उत्तर दिनुपर्ने भयो कविजी मैले?’
उहाँले पुनः लेख्नुभयो, ‘नारीहरूमा अध्यात्मको ज्ञान कति हुनेरहेछ र कसरी बुझ्नुभएको हुन्छ होला भनेर। ज्ञान लिन खोजेको मात्र हुँ। अरू केही हैन म्याम। मैले केवल तपाईंको हृदयले महसुस गरेको अध्यात्मिक ज्ञान जान्न चाहेको हुँ।’
उतिखेर मेरो मस्तिष्कमा भेँडिनी कान्छी, कर्किनी आमा, जङ्गबहादुरकी आमा आएर फिस्स हाँसे। डाक्टर नवराज केसीले भेट्नु भएका विभिन्न नारी पात्रहरू नाच्न थाले, जो शून्यको मूल्यमा निकै अमूल्य छन्। मलाई त यस्तो लाग्छ हामी सबैको हृदयमा अध्यात्मिक चेतना छ। अज्ञानमा पनि सोही चेतनाले हामीलाई सुरक्षा दिइरहेको हुनेरहेछ।
प्रकृतिले दिएका सम्पूर्ण कुराहरू ज्ञानको सागर हो। यो चराचर जगतमा हरेक जीवको आ-आफ्नो अस्तित्व छ। आ-आफ्नो मूल्य छ। आ-आफ्नो योगदान छ। मलाई यस्तो लाग्छ ‘पशुपन्छीले पनि खाने काम मात्र गर्दैनन्। प्रत्यक्ष र परोक्ष रूपमा यो धर्तीलाई योगदान नै दिएका छन् हरेक जीवले। कमिलादेखि भुसुनासम्मले पनि खाने मात्र काम गर्दैनन्। केही न केही योगदान यो धरालाई दिएकै हुन्छन्। भलै ती जीवलाई ज्ञात नहोला। तर बिडम्वना मानवको कुरा अलि बेग्लै छ। कमिलाको भन्दा मान्छेको मस्तिष्क उच्च भए अनुसार सायद मान्छेले यो जगतलाई सम्भावना भएजति योगदान दिन नसकेको हो कि! भन्ने प्रश्न मेरो मनमा पनि नउठेको हैन। तर म हर्षित भएँ कविजीको मनमा यी प्रश्न उठ्नु पनि खानपिउनुभन्दा माथिको कर्म हो र मैले यी प्रश्नहरूमा घोरिनु पनि खानपिउनुभन्दा माथिकै कुरा हो।
प्रश्नहरू दोहोर्याएर पढेँ। म छक्क परेँ। यी प्रश्नको उत्तर दिन साँच्चैभन्दा सजिलो त छैन। मैले मेरो मन कहाँ छ भनेर कसरी ठ्याक्क देखाऊँ। म किन यो धरामा छु भनेर ठ्याक्कै कसरी भनौँ। सांसारिक जीवन भोग्दै आएकी छु समय, परिस्थिति र उमेरअनुसार उद्देश्य पनि फेर्दै आएका छन्। मनको अस्तित्व स्वीकार्छु तर पनि मनलाई यी यहाँ छ भनेर आकारप्रकारमा देखाउन सक्दिनँ। मन निराकार छ। अदृश्य छ।
मन त भावनाको संसार हो, जुन बडो चञ्चल छ। मन गतिशील छ। मनको गति र मतिको भेद पाउन निकै साधना चाहिन्छ। मन रूपी लगामलाई वशमा राखेर इन्द्रीय रूपी घोडाहरू दगुराउन सकेमा मानव जीवन शान्तमय हुन्छ तर अभ्यास अपरिहार्य छ। मनमा विचार तरङ्ग बडो शक्तिशाली छ। मनको अवस्था मानवको संस्कार र साधनको अभ्यासमा निर्धारित हुन्छ। मन के हो भनेर ठ्याक्कै एकै शब्दमा म कसरी बुझाऊँ कवीजी?
मनबाटै सञ्चालित छु म। मनको निर्देशनमा चल्छु। मन, बुद्धि र विवेकको साम्राज्यमा जकडिएको छ मेरो जीवन। मनभन्दा पर पनि अर्को संसार छ विवेकको, ज्ञानको, बोध र समाधिको तर म अभ्यस्त छैन समाधिको। समाधिको सौन्दर्यमा म पनि रमण गर्न चाहन्छु तर साधारण साधनाले त्यो विशाल संसारमा हराउन असमर्थ छु।
हो म विश्वास गर्छु मनको संसारलाई। जन्म र मृत्युको अवस्थालाई। ओशो भन्छन्- जन्म जिम्मेवारी हो, सम्भावना हो, जन्म मात्र हैन मृत्यु पनि उत्सव हो। तर मृत्युलाई उत्सव बनाउने कला सिक्नु छ मलाई पनि। जन्म त बेहोसी मै भयो तर मृत्यु होसमा होस् यही चाहना छ। अझ मृत्युभन्दा पछाडिको जीवन पनि बुझ्ने लालसा छ। देखिएको कुरा मात्र सत्य छैन यहाँ नदेखिएको कुरा असत्य पनि छैन। विराटताभित्रको म शीर्षकको कवितामा मैले लेखेकी छु मानव जीवनको व्यापकता।
अदृश्य संसारमा पनि म विश्वास गर्छु। विश्वास मेरो आस्था हो। विश्वास मेरो ईश्वर हो। विश्वास नै जीवन बाँच्ने आधार हो। विश्वास हराएको मान्छे त विक्षिप्त हुन्छ। म विक्षिप्त हुन चाहन्नँ त्यसैले विश्वासको आकाशलाई बलियो पार्ने कोसिसमा छु। विश्वास शान्तिको द्वार हो। आनन्दको सरोवर हो। म पूर्ण विश्वास गर्छु मनमै भित्र विराजमान छ। पुनर्जन्ममा पनि म विश्वासी छु। मलाई त मेरै जीवन आज आएर पुनर्जन्म हो कि जस्तो लाग्छ। गर्भभित्र नौ महिना बसेको सत्य हो तर मलाई ज्ञात छैन। ज्ञात हुनुमात्र सत्य होइन रहेछ नि ! त्यसैले म अज्ञात कुरा पनि विश्वास गर्छु। बाल्यकाल सत्य थियो। जवानी पनि सत्य थियो। तर आज आएर लाग्छ ओहो! न बाल्यकाल सत्य हो। न जवानी नै सत्य हो। प्रौढ अवस्था पनि श्वासको लहरो समातेर उकालिँदै छ बुढौलीतिर। श्वासको अन्त्यसँगै बुढौलीको पनि अन्त्य छ।
मलाई यस्तो लाग्छ समय मात्र सत्य हो। श्वास मात्र सत्य हो। श्वास रूपी शक्ति आमाको गर्भमा पनि चलायमान थियो, शिशुकालमा पनि उस्तैगरी बहन्थ्यो। श्वासकै मालामा झुल्दा मानव जीवन उज्यालो छ। श्वासको माला छिनालिएको दिन गुलावी मान्छे नीलो हुनेछ। श्वास नै जीवन हो। प्राण शक्तिलाई जान्नु पनि मानवको परम लक्ष्य हो। बाल्यकाल, युवा अवस्था हुँदै बुढौलीसम्म पनि मेरो श्वास उस्तै गतिमा चलिरहन्छ। अनि ढुक्क हुन्छु वास्तवमा श्वासलाई बुझ्न सके कति सरल हुने थियो हाम्रो जीवन। जब श्वासको मालामा मनलाई गाँसिन्छ तब सम्पूर्ण प्रश्नहरू आफै शान्त हुँदै जान्छन्। मान्छे मुक्तिको मार्गमा पुग्छ। आनन्दको उत्सवमा झुम्छ। जीवनको उपहारलाई भेट्न सक्छ। शान्तिको चौतारीमा बसेर शरीरभन्दा परको संसारलाई चिहाउन सक्छ।
मलाई यस्तो लाग्दैछ वास्तवमा म एउटा मात्रै तत्वले बनेकी छैन। मैले मलाई पूर्ण रूपमा जानेकी पनि छैन। शायद यो जीवनमा जान्न पनि सक्दिनँ होला। जन्मजन्मको कर्म लिएर आएकी छु जस्तो लाग्छ। नत्र मैले बनाएका सशक्त योजनाहरू अनायास नै किन भत्किन्थे होलान् र! विवेक पुर्याएर गरेको निर्णय किन असफल हुन्थ्यो होला र! म ज्ञान र विवेक मात्र भएको भए मेरा सपनाहरू सजिलै पूरा हुन्थे होलान्। त्यसैले मलाई लाग्छ मैले मलाई चिनेकै छैन।
मैले मलाई शारीरिक रूपमा बढी चिनेकी हुँला। वैचारिक रूपमा चिन्दै छु। भावनात्मक पाटोलाई नियाल्दै छु। अध्यात्मिक रूपमा चिन्ने कोसिस गर्दैछु। विराटताभित्र मलाई चिन्न इच्छुक छु। विविधताभित्रको मलाई नियाल्दैछु । मलाई लाग्छ म पनि आकाश जस्तै विशाल छु। मलाई लाग्छ म पनि अमापनीय छु। व्याख्यातीत छु। म शब्दमा सायद आउँदिनँ। मभित्र ब्रह्माण्ड विराजमान छ तर मैले पूर्ण रूपमा समेट्न सकेकी छैन। मैले बुझ्नु छ मलाई नै। सकेकी छैन भेट्न आफ्नै जीवनको शाश्वत लक्ष्य र उद्देश्य। म समयको दास हुँ। समयको छाल बाटोबाट म हिँड्दै छु। समयले मलाई कता कता डोर्याउँछ।
फेरि दङ्गिन्छु समयभन्दा साधनाको डोरी बलवान छ। साधनामै सम्भावना छ। वास्तविक शान्ति छ। शाश्वत सुख देख्न थालेकी छु। साधनको अभ्यासमा निरन्तर लागेँ भने जीवनको केही रहस्यमयी पाटाहरूलाई भेद गर्न सक्छु कि! त्यसैले म यी अक्षरहरू कोर्दै छु। यी सबै हामीहरू नै हौँ। हाम्रो अस्तित्व अतुलनीय छ। यो जीवन अमूल्य छ। हामी त सम्भावनाको सागर लिएर पो आएका रहेछौँ।
मान्छेले मनबाट जे पनि गर्न सक्छ। इन्द्रीयहरूको राजा हो मन। म मनको गहिराइबाट मनको अस्तित्व उजागर गर्न खोज्दै थिएँ मनभरि तरङ्ग उठ्यो ‘राजेन्द्र थापाद्वारा लिखित, अरूणा लामाले गाएको गीत मस्तिष्कको रेडियोमा अनायास गुञ्जियो पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, त्यही साल माया फाट्टो त्यसलाई पनि मनले टालेँ, यसपालि त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो ... ।
आहा! मन कति शक्तिशाली तत्व रहेछ मानव जीवनमा। फेरि शाहिर लुधियानवी नजिकै आएर मलाई सम्झाउँछन्, अनिता तेरो मन ऐना हो। तैँले गरेका राम्रा र नराम्रा जम्मै कर्महरूलाई देख्छ र देखाउँछ। मन नै ईश्वर हो। मन नै देवता हो। मनभन्दा ठूलो केही छैन (तोरा मन दर्पण केहेलाए भलेबुरे सारे कर्मोको देखे और देखाए ...)।
साँच्चै शाहीरले भनेझैँ यो संसारबाट भाग्न सजिलै सकिन्छ तर मनबाट भाग्न कठिन छ। मनको आँखा सदैव महत्त्वपूर्ण हुन्छ। यो मन बडो चञ्चल छ। मनलाई वशमा राख्न निकै कठिन छ। साहित्यमा मनलाई कति स्पष्टसँग देखाएको छ। मन त कति व्यापक पो रहेछ। मनको अस्तित्व हामी सबै स्वीकार्छौं। त्यसैले म निर्धक्क भन्न सक्छु मन मैभित्र छ। हनुमानले झैँ छाती च्यातेर देखाउन सक्दिनँ मनलाई।
मलाई यस्तो लाग्छ जुन कुराको बोध आफ्नो जीवनमा छैन त्यो कुराको उत्तर कतैबाट पढेर, रटेर दिन त सक्छु तर ती उत्तरलाई मैले अभ्यास गरेकी छु? आफैलाई प्रश्न तेर्स्याउँछु। युगदेखि युगसम्म यिनै प्रश्नको उत्तर खोजिरहेको छ मान्छे। यी प्रश्नहरूको उत्तर फेला पार्न नसकेर भौंतारिरहेको छ मानव समुदाय। म को हुँ भन्ने प्रश्नको उत्तर कस्ता कस्ता विद्वानले पनि दिन सकेका छैनन्। प्रश्नको उत्तर दिए पनि अनुभव गर्न सकेका छैनन्।
सनातन भन्छ, ‘शरीर मात्र हैन मानव, आत्मा मुख्य हो।’ मैले रातदिन देखेकी छु मेरो शरीर। तर पनि शरीरका अङ्गलाई ‘म’ भन्दिनँ ‘मेरो’ भन्छु। थाहा छैन ‘म’ को हुँ तर पनि ‘मेरो’ भन्छु। अध्यात्मको अदृश्य संसारलाई स्वीकार्छ मान्छे। मैले मलाई देख्न सक्दिनँ। अनुभव गर्न सक्छु। मलाई लाग्छ म त प्राणवायु हुँ, शब्द छ, आकार छैन। हो मभित्रको ‘म’ शब्द हो, आकार हैन। मेरो विचार छ। मलाई दुःख छ। मलाई आनन्द छ तर म भन्दिनँ ‘म’ दुःख हुँ।
साधारण ज्ञानमा या अज्ञानमा पनि मानवले तत्वलाई इन्कित गर्दै आएको रहेछ। मेरो मेरो भन्ने आखिर को हो यो मान्छेभित्र। मलाई त लाग्छ कोइली चरी पनि आफ्नो शाश्वत स्वरूपको दर्शनको लागि लालायित छ। त्यसैले त ऊ सदैव भन्छे को... हो... को ...हो ? शायद कोइलीले झैँ हामीले पनि आफैलाई को... हो ...को ...हो ... भनेर आफैलाई प्रश्न गर्न सके ज्ञानको दायरा फराकिलो हुँदै जान्थ्यो कि!
तर दुर्भाग्य यति शक्तिशाली मान्छे यी तमाम प्रश्नहरूको उत्तर फेला नपारी आफ्नो आयु भोग्छ। तत्वको नै उत्तर सदियौँदेखि दिँदै आएको छ मान्छे। भन्दैनौँ म नाक हुँ। म कान हुँ। म हात हुँ। म टाउको हुँ। वास्तवमा म मेरो शरीर देख्न सक्छु। आखिर शरीरका अङ्ग देख्ने को हो? मेरो मेरो मेरो भन्नलाई म त हुनुपर्यो नि! म को हुँ त? मभित्र लुकेर बसेको छ म। तर बुझ्न बडो कठिन छ। विश्वासमा भेटिन्छ म। टाढा जानुपर्दैन मलाई खोज्न। म विचारमा छु। म हेराइमा छु। म बुझाइमा छु। म हिँडाइमा छु। म मेरो श्वासमा छु।
मैले चिनेको म त साधारण मान्छे हुँ। म को हुँ कहाँबाट आएँ। कहाँ जान्छु मलाई थाहा छैन। न जन्म मेरो हातमा छ न मृत्यु। बेहोसीमा मेरो जन्म भयो। न गर्भको अनुभव छ मसँग न जन्मको। माथि पनि भनेँ पक्कै पनि मेरो मृत्यु बेहोसीमा नहोस् । म विश्वासमा बाँचेकी छु। विश्वासको संसारमा शान्ति छ। अविश्वासको संसारमा तनाव छ। म शान्तिप्रिय मानव हुँ। तर्कको तराजुमा जोख्न चाहन्नँ अमूर्त कुराहरू। आफ्नो क्षमताभन्दा बोझिल भारी मलाई अप्रिय लाग्छ। मेरो ज्ञानको सीमा छ। मेरो ज्ञानको क्षितिजभन्दा पर परसम्म सत्य छ। मैले नबुझेरको संसार गलत छ भनेर म भन्दिनँ। मैले देखिको मात्र मेरा लागि सत्य हो। मैले नदेखेको संसार असत्य पनि हैन। म कसरी जन्मिएँ मलाई ज्ञात छैन। आमाको गर्भमा थिएँ रे मलाई स्मरण छैन तर सत्य हो सत्य विश्वासमा आधारित हुनेरहेछ। ज्ञानभन्दा ठूलो त विश्वास रहेछ।
अन्त्यमा, कुनै पनि कविलाई नारीमा अध्यात्मकको ज्ञान छ/छैन बुझ्नुपर्ला र? भन्ने प्रश्नले मलाई चिथोरिरह्यो।
नारीको अस्तित्व अध्यात्मबिना त कतै पनि केही छैन भन्ने बुझेकी छु मैले त। अध्यात्म के आँखा चिम्लेर हेर्ने विषय मात्र हो र? गुलियोको परिभाषा म कसरी बुझाऊँ गुलियो नचाखेको मान्छेलाई। जति भाषण गरे पनि गुलियोको स्वाद चखाउन सक्दिनँ म जिब्रो नै नभएको मान्छेलाई। अध्यात्म मेरो विचारमा व्याख्यातीत छ। यो अनुभवको संसार हो। यो साधनाको जगत हो।