एउटा 'हात्ती गोजीमा' भन्ने बित्तिकै प्रायः सबै नेपालीको दिमागमा १००० रुपैयाँको नोट आउँछ।
कतै 'कति वटा हात्ती छ?' भनेर सोधियो भने त्यसको अर्थ कति हजार रुपैयाँ छ भन्ने नै बुझिन्छ।
नेपाली समाजमा १००० को नोट केवल मुद्रा मात्र होइन, यसलाई अनेक नाम र अर्थले चिनिन्छ।
आजको डिजिटल युगमा, जहाँ मोबाइल वालेट र अनलाइन कारोबारले नगदको स्थान लिँदै गएका छन्, त्यही कागजले बनेका नोटहरूको प्रयोग पनि बिस्तारै घट्दै गइरहेको छ। तर ती कागजका नोटहरू केवल कागजमै सीमित हुँदैनन्, तिनले जीवनका अनेक कथा र अनुभूतिहरू बोकेका हुन्छन्। यही सन्दर्भमा, मनको गहिराइमा बसेका धेरै सम्झनाहरूमध्ये मेरो जीवनकालमा कहिल्यै नबिर्सने एउटा स्मृति यहाँ सबैसँग बाँड्न चाहन्छु।
केही दिनअघिको कुरा हो। एटिएमबाट पैसा निकालेँ र पैसा हातमा आएपछि, प्रायः नेपालीको बानी जस्तै, मैले पनि नोट गनेँ र ठिकठाक आएको छ कि छैन भनेर यकिन गरेँ।
पैसा गनिसकेपछि गोजीमा राख्नासाथ, त्यो क्षणले एकाएक मलाई अनायासै मेरो अतीततर्फ तान्यो। एटिएमबाट निस्किएको त्यो रकम, मेरो बाजे जीवित हुँदा उहाँले अन्तिम पटक मलाई दिनुभएको पैसासँग मिल्दोजुल्दो थियो।
एकाएक मन भारी भयो। पुराना दिनहरू सम्झिँदा आँखा रसाए। बाइक स्टार्ट गरेँ, छेउको चिया पसलमा रोकिएर एक कप चिया खाएँ, र एकछिनको विश्रामपछि घरतर्फ लागेँ।
कुरा लगभग २०६६ सालतिरबाट सुरू भएको थियो।
पढाइ सकाएर पहिलो पटक जागिर पाउँदाको खुसी साँच्चै शब्दमा व्यक्त गर्न गाह्रो हुँदो रहेछ। मनभित्र नयाँ सपना थिए, काम गर्ने जोश थियो, जीवनमा केही गर्ने अठोट थियो। आफूले चाहेको सामाजिक क्षेत्रमा काम गर्न पाउँदा अझ बढी जिम्मेवारीको अनुभूति भयो। समाजका आवश्यक विकासका क्षेत्रहरू सम्झिँदै म बिस्तारै अघि बढ्दै गएँ।
पहिलो महिना बितेपछि जब पहिलो पारिश्रमिक हातमा आयो, त्यतिबेला संसार नै जिते जस्तो लागेको थियो। सायद यो अनुभूति मेरो मात्र नभई, जीवनमा पहिलो तलब पाउने धेरैको साझा अनुभूति होला। त्यो पहिलो तलबबाट मैले घरका सबैका लागि केही न केही किनेर लगेँ।
आमा, बुवा, दाइ, बाजे र साना केटाकेटी सबैका लागि मन पर्ने सामानहरू किनेँ र साँझ सबैको आशीर्वाद लिँदै गएँ।
परिवारका सबै सदस्यहरू साह्रै खुसी थिए। तर ती सबैमध्ये सबैभन्दा बढी खुसी मेरो बाजे हुनुहुन्थ्यो। म घरको कान्छो भएकाले होला, उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। मैले उहाँलाई कपडासँगै एउटा हजारको नोट खाममा राखेर दिएँ। उहाँले मुसुक्क हाँस्दै जीवनमा धेरै प्रगति गर्नू भनेर आशीर्वाद दिनुभयो र त्यो खाम आफ्नै दराजमा सुरक्षित राख्नुभयो।
मेरो जीवन क्रमशः अघि बढ्दै गयो। हरेक महिना तलब आउँदा घरमा सबैलाई केही न केही किनेर लगिदिन्थेँ। तर बाजेलाई भनी म कहिल्यै बिर्सिनँ। हरेक महिना उहाँलाई एक हजार रुपैयाँ दिन्थेँ। उहाँ पनि त्यही खुसीका साथ लिनुहुन्थ्यो र सधैं दराजमै राख्नुहुन्थ्यो।
समय बित्दै गयो। जीवनले अर्को मोड लियो। मेरो बिहे भयो। भगवानले पहिलो सन्तानको रूपमा सुन्दर छोरी दिनुभयो। पहिलो पटक बुवा बनेको त्यो खुसी मेरो जीवनको अर्को अमूल्य क्षण बन्यो। जिम्मेवारी बढ्दै गयो, तर बाजेलाई हरेक महिना हजार रुपैयाँ दिने मेरो बानी कहिल्यै छुटेन।
केही वर्षसम्म जीवन राम्रै चल्यो। सायद मेरो खुसीमा कसैको आँखा लागेर होला, एक समय यस्तो पनि आयो जब म आर्थिक समस्याको चपेटामा पर्न थाले। तर म डगमगाइनँ र ती समस्याहरूलाई अटल भई सामना गर्दै अघि बढ्न थालेँ। यद्यपि, लगातारको दबाब र परिस्थितिले म अलि बढी गम्भीर बन्दै गएको थिएँ।
एक बिहान, घरको भुइँतलामा भर्याङ मुनिको सानो चुलोमा बाजे र म सधैंझै चिया बनाउँदै थियौं। कुराकानी चलिरहेको थियो। अचानक बाजेले मलाई आफ्नो कोठामा बोलाउनुभयो। कोठामा पुगेपछि उहाँले केही हजारका नोटहरू हातमा थमाउँदै भन्नुभयो, 'सुशिल, यो थोरै पैसा छ। यसलाई आफ्नो आर्थिक अभाव कम गर्न प्रयोग गर।'
एकछिन म अचम्म परेँ, किनकि मैले उहाँलाई कहिल्यै आफ्ना समस्याबारे केही भनेको थिइनँ। तर पनि उहाँले सबै थाहा पाउनुभएको रहेछ। सायद यही नै फरक हुन्छ, एक युवा र एक अनुभवी बुजुर्गबीच। सुरूमा त म लिन मानिनँ। तर उहाँले बारम्बार आग्रह गरेपछि म त्यो रकम लिन बाध्य भएँ र नोट गन्न थालेँ। गन्दै जाँदा मन असाध्यै भारी भयो। आँखा पूरै रसाए। किनकि त्यो पैसा त्यही हजारका नोटहरू थिए, जुन मैले वर्षौंदेखि हरेक महिना आफ्नै पारिश्रमिक तलबबाट उहाँलाई दिँदै आएको थिएँ। हरेक नोटमा, मैले कुन मितिमा दिएको हो, त्यो मिति उहाँले आफ्नै हातले लेख्नुभएको रहेछ।
उहाँले शान्त स्वरमा भन्नुभयो, 'तैंले दिएको तेरो मेहनतको पैसा सबै जोगाएर राखेको थिएँ। कहिल्यै खर्च गरिनँ। कुनै दिन काम लाग्ला भनेर राखेको थिएँ। म त बुढो भएँ, तेरो जीवन त अझै पूरा बाँकी छ। यसले कत्तिसम्म तेरो समस्यालाई धान्न सक्छ, थाहा छैन। तर केही सहयोग गर्ला कि?'
मेरो मन अझ भारी भयो।
मैले भनेँ, 'बाजे, यो पैसा तपाईं नै राख्नुस्। म कतैबाट केही गर्छु।'
तर उहाँ मान्नुभएन। बरू भन्नुभयो, 'जीवनमा एउटा कुरा सधैं याद राख। कहिल्यै कसैसँग पैसा माग्ने काम नगर्नू। यसले जस्तोसुकै सम्बन्ध पनि बिगार्ने काम गर्छ। जीवनमा मानिसहरूले पैसाको लागि जे पनि गर्दोरहेछन्। बिस्तारै तँ यो कुरा अनुभव गर्छस्। तर कहिल्यै पनि कसैसँग पैसा माग्ने काम नगर्नू र हात नफैलाउनू।'
मन नचाहँदा नचाहँदै त्यो रकम लिएर म कोठाबाट बाहिर निस्किएँ। बाहिर निस्कने क्रममा फर्केर हेर्दा, उहाँ टाउको निहुराएर ओछ्यानमा बसिरहनुभएको थियो। त्यो दिनको त्यो घटना र क्षण आज पनि मनमा गहिरो र ताजा भएर बसेको छ। त्यसबेला उहाँले मलाई कहिल्यै नबिर्सने जीवनसम्बन्धी अमूल्य ज्ञान दिनुभयो। साथै, बचतले जीवनमा कति ठूलो भूमिका खेल्न सक्छ भन्ने कुराको पनि गहिरो आभास गराउनुभयो।
समय आफ्नो गतिमा अघि बढिरह्यो। बाजे उमेरले ७०–७५ नाघिसक्नुभएको थियो। स्वास्थ्य बिस्तारै कमजोर हुँदै गयो। अनि एक दिन, धेरै सम्झनाहरू हामीमाझ छोडेर, केही कुरा आफैसँग लिई, उहाँ यो संसारबाट सधैंका लागि बिदा हुनुभयो।
आज पनि उहाँको सम्झना आउँछ। सधैं बिहान घरको भर्याङ मुनि बसेर चिया खाँदै जीवनका अनेक कुरा गरेको, ठूला बडासँग गर्ने व्यवहारबारे सिकाएको, र समयले कसरी मानव जीवनलाई कहिले तल त कहिले माथि पुर्याउँछ भन्ने विषयमा उहाँले सुनाउनुभएको अनुभवहरू, ती हरेक क्षणहरू समय–समयमा स्मृतिमा आइरहन्छन्।
मैले जीवनको सुरूआतमा कमाएको पारिश्रमिकलाई उहाँले जसरी जोगाएर राख्नुभयो, कठिन समयमा मलाई थाहा नदिई सहारा दिनुभयो, र जीवनमा सधैं सत्य र इमानदार भएर बाँच्न सिकाउनुभयो। यी सबै कुरा आज पनि मनमा गुञ्जिरहन्छन्। आज पनि म उहाँले देखाउनुभएको बाटो र दिनुभएको मार्गदर्शनमै हिँडिरहेको छु।
मलाई विश्वास छ, उहाँ जहाँ हुनुहुन्छ, खुसी हुनुहुन्छ। म लगायत परिवारका सबै सदस्यलाई हेरिरहनुभएको होला। आज पनि जब सामान्य देखिने कागजले बनेको हजारको नोट देख्छु, त्यही स्मृतिहरू मनभरि आउँछन्।
मेरो यो लेख मेरो स्वर्गीय बाजेलाई समर्पित छ। उहाँको आत्मालाई बैकुण्ठवास प्राप्त होस्।
***