नेपालको जटिल भूगोल, हिमाली संरचना तथा उच्च पहिरो जोखिमका कारण परम्परागत सतही सडक पूर्वाधार दीर्घकालीन रूपमा अस्थिर रहँदै आएको छ। पछिल्ला वर्षहरूमा सुरुङ प्रविधिको प्रयोगले यातायात पूर्वाधारमा नयाँ सम्भावना सिर्जना गरेको छ। यस सन्दर्भमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालमा सडक सुरुङ विकासको ऐतिहासिक परियोजनाका रूपमा स्थापित भएको छ।
नेपाल जस्तो पर्वतीय देशमा सडक विकास सधैँ ढलान अस्थिरता, भू-स्खलन र मौसमी अवरोधसँग जुध्दै आएको छ। यस्ता चुनौतीहरूको दीर्घकालीन समाधानका लागि भूमिगत यातायात पूर्वाधार अपरिहार्य बन्दै गएको देख्न सकिन्छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यसै आवश्यकताबाट जन्मिएको एक रणनीतिक परियोजना हो, जसले काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारलाई सुरक्षित, छिटो र भरपर्दो बनाउने लक्ष्य लिएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग केवल एउटा सडक परियोजना मात्र नभई नेपालले आधुनिक भू–प्राविधिक र भूमिगत पूर्वाधार विकासको युगमा प्रवेश गरेको ऐतिहासिक प्रमाण हो।
नेपालमा सुरुङ प्रविधिको प्रारम्भिक प्रयोग मुख्यतः जलविद्युत परियोजनाहरूमा केन्द्रित रह्यो। मेलम्ची खानेपानी आयोजना, अपर तामाकोशी जस्ता परियोजनाहरूले हेडरेस टनेल, डाइभर्सन टनेल तथा डिस्चार्ज टनेल निर्माणमा महत्त्वपूर्ण अनुभव प्रदान गरे। यही प्राविधिक अनुभव र संस्थागत क्षमता विस्तारको परिणामस्वरूप अब सडक सुरुङ परियोजनाहरू सम्भव भएका छन्। नागढुंगा सुरुङमार्ग यस सङ्क्रमणकालीन विकासको प्रत्यक्ष उदाहरण हो।
विगतमा नेपालका यातायात पूर्वाधारहरू मुख्यतः कट–एन्ड–फिल, हेयरपिन बेन्ड र पहिरोप्रवण ढलानमा आधारित थिए। यसले यात्रा समय, सुरक्षा, इन्धन खपत र आर्थिक लागत सबैमा नकारात्मक असर पार्दै आएको थियो। पछिल्ला वर्षहरूमा भने मेलम्ची खानेपानी सुरुङ, अपर तामाकोशी जलविद्युत सुरुङ र अब नागढुंगा सुरुङमार्गले नेपालमा सुरुङ प्रविधिको संस्थागत विकास हुँदै गएको स्पष्ट देखाउँछ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग त्रिभुवन राजमार्ग अन्तर्गत काठमाडौँ उपत्यकाको प्रमुख पश्चिमी प्रवेशद्वार हो। यहाँको पुरानो सडक खण्ड ट्राफिक बोटलनेक, ढलान अस्थिरता र भू-स्खलन जोखिमका कारण दीर्घकालीन रूपमा अस्थिर थियो। सुरुङमार्गको अवधारणाले यी सबै समस्याको इन्जिनियरिङ समाधान प्रस्तुत गरेको छ।
यो परियोजनामा करिब २.७ किलोमिटर लामो मुख्य सुरुङ र २.५६ किलोमिटर आपत्कालीन सुरुङ, पहुँच सडक, फ्लाइओभर, टोल प्लाजा, ड्रेनेज तथा सुरक्षा संरचनाहरू समावेश छन्। यो जापानको ‘हाजमा एन्डो कर्पोरेसन’ नामक निर्माण कम्पनीले सन् २०१९ निर्माण सुरु गरेको हो। करिब २२ अर्ब रुपैयाँ लागतको यो परियोजना जापान सरकार (जेआईसिए) को आर्थिक सहयोगमा निर्माण गरिएको हो जुन नेपालकै पहिलो यस्तो सडक सुरुङ हो जुन नियमित मोटर सवारी सञ्चालनका लागि डिजाइन गरिएको हो।
सुरुङको डिजाइनमा न्यु अस्ट्रियन टनेलिङ मेथड (एनएटीएम) अपनाइएको छ, जुन कमजोर र परिवर्तनशील भूगर्भीय संरचना भएका हिमाली क्षेत्रका लागि उपयुक्त मानिन्छ। एनएटीएमको मुख्य अवधारणा भनेको भूगर्भीय संरचनालाई नै सुरुङको लोड–बेयरिङ सदस्यका रूपमा प्रयोग गर्नु, निर्माण क्रममा निरन्तर इन्स्ट्रुमेन्टेसन र मोनिटरिङ गर्दै डिजाइन परिमार्जन गर्नु हो। यो सुरुङ ड्रिल एन्ड ब्लास्ट विधि प्रयोग गरी निर्माण गरिएको हो, जुन नेपालको भूगर्भीय अवस्था— विशेष गरी कमजोर चट्टान, भ्रंश र उच्च जलधारण क्षमता भएको माटोका लागि उपयुक्त मानिन्छ। निर्माणका क्रममा सटक्रेट लाइनिङ, रक बोल्ट्स, स्टील रिब सपोर्ट्स, ड्रेनेज पाइप्स, इन्भर्टेड आर्क जस्ता प्रविधि प्रयोग गरिएका छन्। यसले कमजोर भू–संरचनामा पनि सुरुङलाई सुरक्षित र दीर्घकालीन बनाउँछ।
परियोजना क्षेत्र कमजोर मेटासेडिमेन्टरी शैल, फोल्ड, फ्र्याक्चर र फाल्ट प्रणालीले भरिएको छ। भू–प्राविधिक दृष्टिले यहाँ शेयर जोन, जोइन्टेड रक मास, ग्राउन्डवाटर इनग्रेस जस्ता चुनौतीहरू विद्यमान छन्। यस कारण विस्तृत भूगर्भीय नक्सांकन, कोर ड्रिलिङ, प्रयोगशाला परीक्षण तथा रक मास क्लासिफिकेसन (आरएमआर, क्यू-सिस्टम) गरिएको थियो। यी अध्ययनहरूकै आधारमा सुरुङको सपोर्ट सिस्टम र निर्माण विधि तय गरिएको हो।
इन्जिनियरिङ दृष्टिले सुरुङको सफलताको मापन केवल निर्माण सम्पन्नतामा होइन, दीर्घकालीन सञ्चालनमा हुन्छ। सुरुङ सञ्चालनमा सुरक्षा सर्वोपरि विषय हो। यस सुरुङमार्गमा भेन्टिलेसन सिस्टम ,फायर डिटेक्सन र फायर फाइटिङ सिस्टम, सिसिटिभी र ट्राफिक कन्ट्रोल सिस्टम, इमर्जेन्सी एभ्याकुएसन मार्ग जडान गरिएका छन्, जसले अन्तर्राष्ट्रिय सुरुङ सुरक्षा मापदण्डसँग मेल खान्छ।
इन्जिनियरको दृष्टिकोणले हेर्दा, यो सुरुङमार्गले यात्रा समयलाई ३०–४५ मिनेटबाट घटाएर ७–१० मिनेटमा सीमित गरेको छ। यसले इन्धन बचत, कार्बन उत्सर्जन न्यूनीकरण, लजिस्टिक्स दक्षता, राष्ट्रिय उत्पादनशीलता वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउँछ। नौबिसे सडक खण्ड लामो समयदेखि अत्यधिक ट्राफिक जाम, तीव्र घुम्ती ,पहिरो र सडक भासिने समस्या, मौसमी अवरोधबाट ग्रस्त थियो। सुरुङमार्गको अवधारणाले यी समस्याको दीर्घकालीन र प्राविधिक समाधान प्रस्तुत गरेको छ। यो परियोजनाले केवल यातायात सहजताका लागि मात्र नभई राष्ट्रिय अर्थतन्त्र, आपूर्ति श्रृंखला, पर्यटन तथा आपत्कालीन सेवाका लागि पनि अत्यन्त रणनीतिक महत्त्व राख्दछ।
यो परियोजनाको उद्देश्य नागढुंगा–नौबिसे सडकको ट्राफिक जाम घटाउने, घुमाउरो र पहिरो जोखिमयुक्त बाटोबाट बचाउँदै यात्रा समय घटाउने तथा सुरक्षित र छिटो काठमाडौँ उपत्यका प्रवेश/निस्कने मार्ग उपलब्ध गराउने हो। हालको अवस्था हेर्दा संरचनात्मक काम लगभग सम्पन्न भइसकेको छ। अन्तिम तयारी र सञ्चालन व्यवस्थापनपछि २०२६ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यो टोल (शुल्क लाग्ने) सडक हुनेछ। पैदल यात्री, साइकल, मोटरसाइकल, र खतरनाक पदार्थ बोकेका सवारी प्रवेश निषेध गरिने छ। सुरुङको सञ्चालन र मर्मतका लागि छुट्टै सेवा प्रदायक रहनेछ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालका लागि एउटा 'टर्निङ पोइन्ट' हो। यसले देखाएको छ कि नेपाल अब केवल सतही सडकमा निर्भर रहने देश होइन, बरु भू–इन्जिनियरिङ ज्ञान, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय मापदण्ड आत्मसात् गर्दै अघि बढिरहेको राष्ट्र हो। यो परियोजना नेपालको सुरुङ युगको आधारशिला मान्न सकिन्छ। यसले भविष्यमा नागढुंगा जस्ता अन्य रणनीतिक कोरिडोरहरू, सहरी सुरुङ र द्रुत यातायात प्रणाली विकासका लागि स्पष्ट बाटो देखाएको छ।
(लेखक सिभिल इन्जिनियर हुन्।)