समय त्यस्तो पनि थियो, जब मानिस सबै दाजुभाइ दिदीबहिनी हौँ भन्थे। आध्यात्मिकताले देश भरिपूर्ण थियो र हामी ‘वसुधैव कुटुम्बकम्’लाई आत्मसात् गर्थ्यौं। वीर भनी कहलिएका हामी नेपालीको विश्वजगतमा बहादुरीको छुट्टै चिनारी थियो। फलस्वरूप, नेपालीहरू २०० वर्षअघि देखि नै बेलायत, म्यानमार, सिंगापुर, मलेसिया, भुटान, हिन्दुस्तान वा अन्यत्र जान थालेका रहेछन्। कतिपय त ती देशहरूमा पुस्तौँदेखि बसोबास गरिआएका छन्। तर, समय अब बदलिएको छ। जुन जुन देशमा रहेका भए पनि नेपालमा जन्मेका र नेपाली मूलका नेपालीहरू अब नेपाल फर्कनै पर्छ।
आज विश्वका शक्तिशाली देशहरू आफ्नै राष्ट्र निर्माणमा केन्द्रित छन्। अमेरिकाका ट्रम्प ‘अमेरिका पुनः विशाल बनाऔँ’ भन्छन्, भारतका मोदी ‘भारतमै बनाऔँ’ भन्छन्, दुबईका शेख ‘विश्वकै सबैभन्दा ठूला र अनौठा संरचना दुबईमा मात्र बनाउने’ दाबी गर्छन्।
चीन त यस्ता विकासका कुराहरूमा अझ बढी अग्रणी बन्दै छ। अन्यान्य देशहरू पनि सबभन्दा शक्तिशाली बन्ने होडमा छन्। यस्तो अवस्थामा हामी नेपालीले पनि अब दृढताका साथ भन्नै पर्ने भएको छ– नेपाली सबै नेपालमै फर्कौं।
वैदेशिक रोजगारीको तथ्यांक हेर्दा स्थिति भयावह देखिन्छ। फागुन १८, ०८२ को एउटा पत्रिकाअनुसार ५ वर्षमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा मात्र गएकाको सङ्ख्या ३५ लाख ८८ हजार बताइएको छ।
अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, मलेसिया, सिंगापुर लगायत अनगिन्ती देशमा धेरै नेपाली स्थायी रूपमा बसेकै छन्। गैरआवासीय नेपाली संघको मार्च १४–१६, २०२६ को सम्मेलनमा सुनिएअनुसार ९२ देशमा त यसको सञ्जालै छ र ८० लाखभन्दा बढी नेपाली विश्वमा छरिएर त्यहीँको नागरिक बनेर बसिरहेका छन्।
तीन करोड जनसंख्या भएको देशका लागि यस्तो तथ्यांक अत्यन्त संवेदनशील र चिन्ताजनक हो। आजको सूचना प्रविधिको जोडबलले विश्वलाई एउटै गाउँ त भनिन्छ, तर हाम्रा देशका सिमाना र अन्तर्राष्ट्रिय नियमहरूले त्यो कुरा मान्दैनन्। एक देशबाट अर्कोमा जान राहदानी खोजिहाल्छ। सिमानाले मात्र होइन, सोच, धर्म, सम्प्रदाय, वर्ग र राजनीतिले मानिसलाई अत्यन्त विभाजित गराएको छ। मानिस ‘म र मेरो’ भन्ने सङ्कुचित घेराभित्र बेस्सरी जकडिएको छ, समस्या यसैबाट सुरू भएको हो।
इतिहास साक्षी छ, विदेशी भूमिमा आप्रवासीहरू सधैँ सुरक्षित हुँदैनन्। बर्मा (हाल म्यानमार) बाट नेपालीहरू त्यहाँ भएका आफ्ना सम्पूर्ण श्रीसम्पत्ति सागको मूल्यमा बेचेर वा त्यसै छाडेर नेपाल फर्कनुपरेको थियो। भुटानबाट लखेटिएर नेपाल आएका शरणार्थीको ठूलो सङ्ख्या विभिन्न देशमा पुनर्स्थापित भए पनि केही त अझै नेपालमै बाँकी छन्। तर के थाहा, कुन दिन उनीहरू स्थापित भएका देशबाट पुनः लखेटिन्छन् र ‘पुनः मूषिको भव’ (जस्ताको तस्तै) हुने हुन्।
खुला सिमाना र सजिलै काम पाइने प्रावधानले गर्दा भारतमा ठूलो सङ्ख्याका नेपाली घरबास नै गरेर बसिरहेका छन्। तर अचेल आ–आफ्ना देशवासीको भलाइ सोचेर, साना कमीकमजोरी हुँदा पनि जुनसुकै देशले आप्रवासीलाई जन्मदेश फर्काउन थालेका छन्। यो सामान्य देश हितको सिद्धान्तमा आधारित कुरा हो। हाम्रो जस्तो देशमा यदि भारत र चीनबाट एक–एक प्रतिशत जनसङ्ख्या मात्रै खुला सिमाना वा अन्य कुनै प्रकारले यहाँ सुटुक्क भित्रिए भने हाम्रो अवस्था के होला? अतः यस्ता विविध कुराहरू सोचनीय छन्।
यता केही दशकलाई नियालेर हेर्ने हो भने विश्वका धेरै देशले छिमेकी देशसँगको सिमाना अत्यन्त मजबुत र सुरक्षित बनाउँदै लगेको पाइन्छ। भारत–पाक मात्र होइन, अमेरिका–मेक्सिको लगायतका उदाहरण हामीसामु छँदै छन्। नेपालको त चारै तर्फको सिमाना एक प्रकारले खुलै छ, कुनै तारबार वा पर्खाल छैन। फेरि, जनता पनि कम छैनन्। एसिया मूलका अनगिन्ती मानिसहरू रूखमा डलर फलेका हुन्छन् र टिप्ने मात्र हो भन्ने भ्रममा परेर, ऋण गरेको ठूलो धनराशि बिचौलियालाई सुम्पेर ज्यान हत्केलामा राख्दै अवैध बाटोबाट अमेरिका पस्न छाडेका छैनन्। नेपाल जस्तो गरिब देशका सीमान्तकृत नेपालीहरूले यस्ता अवैध बाटोमा कति ठूलो धनराशि व्यय गर्ने गरेका छन् भन्ने कुरा छरपस्टै छ। अमेरिका मात्र होइन, यस्तो अवैध आप्रवासन अन्य देशमा पनि धेरथोर छँदै छ।
विश्वजगतमा हालै भइरहेका लडाइँले सम्पूर्ण मानव जातिलाई कहाँसम्म पुर्याउने हो थाहा छैन। निकट भविष्यमै युद्धहरू अन्त्य नभए के स्थिति हुने भन्ने आकलन सबै देशहरूले गर्न थालेकै हुनुपर्छ। यस्तो अवस्थामा हालसम्म त पिआर, ग्रीन कार्ड तथा आधिकारिक कागजात नभएका, नियम–कानुन उल्लंघन गर्दै रहेका, वा लुकिछिपी बस्दै गरेकाहरूको खोजी गर्दै सम्बन्धित देश फर्काउने कामहरू भइरहेका छन्।
सामाजिक सञ्जालले अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति भएदेखि सन् २०२६ को मे महिनासम्म ७०० भन्दा बढी नेपालीलाई अमेरिकाबाट फर्काइसकेको छ र अमेरिकी प्रशासनले अस्थायी संरक्षण स्थिति (TPS) अन्त्य गर्ने प्रक्रिया अघि बढाएकाले थप ७००० जति नेपाली यस जोखिममा परेका छन् भनी बतायो। यो त उचित हो, किनकि गैरकानुनी ढंगले कुनै पनि देशमा अर्को देशको मानिस बस्न मिल्दैन।
लडाइँ–झगडा बढ्दै जाने हो भने कुनै पनि देशले सर्वप्रथम आफ्नै देशका जन्मजात नागरिककै हेरविचार गर्नुपर्छ। त्यस्तो अवस्थामा स्थिति प्रस्ट्याउँदै, ‘देशमा जन्म नभएका तर विभिन्न प्रकारले राहदानी पाई बसोबास गरिएकाहरू कृपया आफू जन्मेको देश फर्कनुहोला’ भनेर सूचना जारी गरेमा कुन अधिकारले सोही देशमै बस्छु भन्न पाइएला र? सुनेको छु, अमेरिकामा नेपाली–अमेरिकन, भारतीय–अमेरिकन भनिन्छ। त्यसको अर्थ दोस्रो दर्जाको नागरिक भनिएको त होला नि! संकट परेको अवस्थामा हामी सानो परिवारमा पनि सबभन्दा पहिले आफ्नै निकटतम सदस्य– आमाबाबु, छोराछोरीको हेरविचार गर्छौं, होइन र?
आफू जन्मेको देश, रहनसहन र संस्कृतिको लगाव सदा रहिरहन्छ। गैरआवासीय नेपाली संघको २०८२ फागुन ३० देखि चैत २ गतेसम्म सम्पन्न १२ औं महाधिवेशनमा परराष्ट्रमन्त्रीले भन्नुभएको थियो– जहाँ रहे पनि नेपालीपन र नेपाली मन अद्वितीय हुन्छ। विश्वमा छरिएका नेपालीले आफ्नो जन्मभूमिको माया बिर्सँदैनन्। मन्त्रीज्यूले दुई वटा मार्मिक प्रसंग उल्लेख गरेका थिए।
पहिलो– म्यानमारको एउटा नेपाली गाउँमा एक ज्येष्ठ नागरिकले नेपालबाट आएका पुर्खाले ल्याएको एक मुठी माटो पोको पारेर जोगाएर राखेको देखाउँदै कथङ्कदाचित् नेपाल फर्कनु परेमा सो माटो नेपालमै मिसाउनु पर्छ भनेका थिए।
दोस्रो– अमेरिकाको टेक्ससमा एक सानी नेपाली बच्चीले पाहुनाका लागि मासु पाक्दा ‘आज एकादशी होइन, किन मासु पकाएको?’ भनी सोधेकी थिइन्। यही हो नेपालीपन र संस्कृतिको जगेर्ना। नेपाली जहाँ गए पनि आफ्नो परम्परा छाड्न सक्दैनन्।
जन्म, भाषा र संस्कृतिले मानिसलाई कति नजिक ल्याउँछ भन्ने उदाहरण भारतको पश्चिम बंगालमा नेपालीभाषी विशाल लामा राज्यमन्त्री बनेर ‘ढाका टोपी लगाएर नेपाली भाषामै शपथ लिएको’ घटनाबाट पुष्टि हुन्छ (कान्तिपुर, १९ जेठ, ०८३)। उनका पुस्ता धेरै अघिदेखि भारतमै बसेका भए पनि उनलाई नेपाली टोपी र भाषाले तान्यो, के यो हृदयमा रहेको आफ्नोपनको यथार्थता होइन र?
मैले एकपटक कतै पढेको थिएँ– भारत र बेलायतको खेलमा लन्डनमा रहेका भारतीय मूलका बेलायती दर्शकहरूले भारतले जित्दा ‘हुर्रे’ भनेछन्। तब एक बेलायतीले भने– संस्कार यति गहिरो हुन्छ कि यो पिँढीसम्म रहिरहन्छ। यिनका नाति/नातिनी पिँढीले मात्र बेलायतले जित्दा ‘हुर्रे’ भन्लान्। त्यसैले, विपद्को बेलामा सर्वप्रथम जो जो जुन देशमा जन्मेका थिए, तदनुरूप आ–आफ्नै देशमा फिर्ता हुने न हो।
हामीले सुन्दै आएका छौँ– 'एक पटकको नेपाली, सधैंको नेपाली।'
हो, यही अवधारणाको परिपालन गर्दै, नेपालको ऋण चुक्ता गर्न पनि गैरआवासीय नेपालीका विदेशमा रहेका ज्ञान एवं आर्थिक स्रोत साधनलाई नेपालमा भित्र्याउनै पर्छ।
तसर्थ, गैरआवासीय नेपालीका लागि चुस्त–दुरूस्त नीति बनाइदिएर उनीहरूलाई आकर्षित गर्ने र गैरआवासीय नेपालीले यसलाई सकारात्मक रूपमा लिई नेपाल विकासमा होमिने हो भने नेपालको कायापलट हुन कत्ति पनि समय लाग्ने छैन।
संघले भनेझैं ८० लाखभन्दा बढी गैरआवासीय नेपालीले जनही १०० डलर वार्षिक नेपाललाई छुट्याउने हो भने ८० लाख डलर हुन्छ, जसबाट सजिलै वार्षिक स–साना परियोजना निर्माण गर्दै जान सकिन्छ।
देशको अविकसित अवस्था र उद्योगधन्दाको अभावले गर्दा खाडीको भुङ्ग्रोमा पिल्सिँदै आएका नेपालीहरू देशमा अलिकति मात्र पनि सुव्यवस्था, उत्कृष्ट शिक्षा र सुलभ स्वास्थ्य सेवा भएमा नेपाल नफर्कने भन्ने त कुरै हुँदैन।
नेपाल सरकार एवं नेपालबाहिर जे–जुनसुकै कारणले रही बसेका जन्मजात नेपाली दुवैले देश सम्झाउने र सम्झने अवस्थाको प्रादुर्भाव निकट भविष्यमै होस्। गैरआवासीय नेपालीसहित झण्डै ४ करोड नेपाली एकअर्कामा आलिङ्गन गर्दै शान्त भएर नेपालमै निर्वाध रहन सकियोस्! अब योजना गर्दै सबै नेपाली क्रमशः नेपाल फर्कौं। जय देश!