म यहाँ बिरालोको बात गर्नेछु। यदि तपाईँलाई नाथे कुकुर बिरालाका कुरा के पढ्नु जस्तो लाग्छ भने तपाईंको लागि यो लेख बेकार हुन सक्छ अथवा तपाईँले पशु अधिकारका ठुला कुरा आशा राख्नु भएको छ भने पनि निराशा हात पार्नुहुनेछ। बरु जनावरहरूसँगखेल्न /रमाउन मनपर्छ; उनीहरूसँग कुनै जादु वा ठुला कुराको अपेक्षा नराखेरै खुसी हुनुहुन्छ भने थोरै समय दिएर पढ्न सक्नुहुनेछ।
यो कुनै हाचीको जस्तो आफ्नो मालिकलाई उसको मृत्युपछि नौ वर्ष पर्खेर बसेको अविश्वसनीय कुकुरको कुरा होइन। न यो भारतीय चलचित्र ‘७७७ चार्ली’को जस्तो अद्भुत लाब्राडोरसँगको रोचक सम्बन्धको कथा हो। 'मिस्फिट लायन कब' वा जापानी बाँदर 'पन्च' को जस्तो इमोशनल प्रसङ्ग पनि आउन लागेको होइन। परदेशबाट छुट्टीमा आउँदा कोठामा बहिनीले बिरालोको एउटा बच्चा ल्याएर राखेकी रहेछिन् र त्यो बच्चासँग कसरी मेरो आत्मीयता बढ्यो भन्ने बडो सामान्य किसिमको गन्थन म यहाँ गर्नेछु। अर्थात् चुन्टेसँग मेरो हात मिसामिसदेखि चाटाचाटसम्मको स्मृति संगाल्ने छु। उसो त उसको हेल्थ रेकर्ड फाइलमा उसको नाम 'स्पार्क' दाखिला छ तर ऊ हाम्रो लागि चुन्टे बेसी हो।
काठमाडौँको एउटा प्रख्यात स्कुलमा संगीत पढाउने बहिनी जान्कीले एक दिन स्कुल नजिकै सडकमा केही बच्चासहित आमा बिरालो देखिन्। बहिनीकै भाषा सापट लिने हो भने आमा बिरालो 'ग्याङ्ग्स्टर' जस्ती थिई। अर्थात् चोटैचोटले भरिएकी, धुस्रेफुस्रे र हेर्दै झगडालु। त्यस्ती रिसाहा आमाका बच्चाहरूमध्ये एउटा बच्चाले बहिनीको ध्यान मात्र खिचेन, हृदय हल्लायो। ऊ सबैभन्दा दुब्लो थियो। खुट्टा खोच्याएर हिँड्थ्यो र म्याउँ म्याउँ गरिबस्थ्यो।
बहिनीले उसलाई उठाउने निर्णय गरिन्। अस्पताल लिएर गइन् र त्यसको सम्पूर्ण स्वास्थ्य परीक्षण, खोप आदि इत्यादि सकाइन्। कोठामा लिएर आएपछि त्यो रहरलाग्दो पाराले बढ्दै गयो। र जब म छुट्टीमा आएँ मैले ९ महिनाको 'हेन्डसम' चुन्टेलाई भेट्न पाएँ। ऊ रहरलाग्दो चिल्लो बिरालो भइसकेको थियो।
चुन्टे एउटा छोटो भुत्ला भएको स्थानीय घरपालुवा प्रजातिको बिरालो हो। दिशा/पिसाब लाग्यो भने उसले बाथरुमको ढोका गएर कोतर्न थाल्छ। ढोका खोलिदिएपछि पानी बग्ने जालीदार ढक्कनमा गएर हलुका हुन्छ र पछि त्यसको मलमूत्र बगाइदिन्छौँ। उसको शरीर आधारभूत रूपमा सेतो भुत्लाले ढाकिएको छ जसमध्ये कानको भाग, ढाड र पुच्छरमा भने खैरो-सुन्तले रंगको मिश्रण छ। उसको पहेँलो स्वर्णिम आँखा, गुलाबी नाक र धर्के पुच्छर बडो आकर्षक छन्। उसलाई मन छैन भने दश पटक बोलाए पनि ऊ नजिक आउनेछैन र यदि उसको मुड छ भने थपक्कै काखमा आएर बसिदिनेछ। मैले मेरो तीन दशकमाथिको उमेरमा यति नजिकबाट बिरालोलाई कहिले बुझेको रहेनछु।
चुन्टेसँगको पहिलो भेट मेरो निम्ति उति प्रीतकर रहेन। भनौँ न हात मिसामिसै पर्यो। उसलाई समाउन खोज्दा उसले मेरो हातमा कोतरिदियो। रिसाएर मैले उसको पुच्छर निमोठिदिएँ। त्यसपछि बिजुलीको रफ्तारमा मेरो अर्को हातमा टोकेर ऊ सजिलै भाग्यो। धारामा रगत पखाल्दै म फतफताएँ। भोलिपल्ट दिउँसोको खाना खाँदै गर्दा टेबलमुनिबाट उसले मलाई थाहा नपाई एक पन्जा हिर्कायो र खुरुरु भाग्यो। यो पटक मलाई दुखेन बरु हाँसो लाग्यो। मैले महसुस गरेँ मलाई ऊ मन पर्न थाल्यो।
दिन बित्दै जाँदा मैले ऊसँग मित्रता कायम गरेँ। उसले मसँग सुरक्षित महसुस गर्न थाल्यो र हाम्रो झगडा मित्रवत् हुँदै गयो। म उसको मनोविज्ञान बुझ्छु र घरीघरी हारिदिएको नाटक गर्छु। उसलाई जित्न मन पर्छ र स्थिति उसको पक्षमा छ भने आक्रमण गरिहाल्छ नत्र फुत्त भाग्छ। म पुस्तक पढ्न मस्त हुन्छु, ऊ खाटमुनिबाट मलाई ढाडमा हिर्काएर भाग्छ। ऊ निद्रामा मस्त हुन्छ, म उसलाई खुट्टामा समाएर उल्टो झुन्ड्याइदिन्छु। हाम्रो यो खेल खेलाइमा उसले कयौँ पटक मेरो हात कोपरिदिन्छ, नाक टोकिदिन्छ र उसका नङ्ग्राले पारेका डोबहरू मेरा नाडीभरि छन्। घरका प्रत्येक सदस्यहरूका हात खाली छैन। हामी ती दागहरूलाई 'लभ बाइट' भन्छौँ।
ऊ यति क्युट छ कि ऊसँग नजिस्की बस्न असम्भव छ। उसलाई नचलाउन असम्भव छ। उसलाई त झनै दिनभर जिस्कन मन पर्छ। बहिनीले बेलाबेला उसको नङ्ग्रा नकाटिदिएको पनि होइन तर भुत्ते नङ्ग्राले भए पनि जिस्कँदा अलिअलि चोट लगाइहाल्छ। आखिर ऊ अबोध जनावर जो हो। हामीलाई उसको स-साना चोट प्रेमपूर्वक स्वीकार्य छ।
एक साँझ ऊ हरायो। झमक्क साँझमा ऊ कति बेला फ्ल्याट छोडेर निस्कियो कसैलाई पत्तै भएन। हामी बेस्सरी अत्तालियौँ। बहिनी जान्कीको त धड्कन रोकिएला झैँ भो। सबका आँखा रसाए। त्यसो त ऊ उपत्यकाका तीनै जिल्ला पुगेको छ। रामेछाप पनि गएको छ। तर ती सब घरकारहरूको साथमा गएको हो। आज अचानक जाली खापा र सिसाको झ्याल समेतको दोहोरो सुरक्षा तोडेर आखिर ऊ एक्लै कता गयो? चिन्ता घनिभूत हुँदै गयो।
हामी ५ जनाको खोजी टोली पाँचै दिशा फैलियौँ। छरछिमेक टोल सबैतिर 'म्याउँ चुन्टे... चुन्टे म्याउँ... ' भन्दै आवाज दियौँ तर ऊ भेटिएन। बाटोमा भेटिएका जति सबैलाई सोध्यौँ तर कसैले देखेको पाइएन। हाम्रो हल्लाखल्ला सुनेर टोलका कुकुरहरू जोडजोडले भुक्न थाले तर उसको नाम निशानी भेटिएन। मेरो मनमा चिसो पसिसकेको थियो- 'कतै यी खुला कुकुरहरूले एकै गाँस त पारेन?'
धेरै बेर खोजेर थाकिसकेका थियौँ। झिनो आशाका बिच सानी बहिनी सिमूले अन्तिम पटक जस्तो गरेर अन्तिम आवाज लगाइन्- 'म्याउँ!' कतै टाढा अँध्यारोबाट चुन्टेको जवाफ आयो 'म्याउँ!' तत्कालै हामीले उसको गलाको घण्टीको आवाज पनि सुनिहाल्यौँ र आवाज आएको दिशातर्फ लाग्यौँ। आखिर म्याउँ म्याउँ गर्दै पछ्याउँदै जाँदा ऊ नयाँ बन्दै गरेको एउटा घरको चार तलामाथि फेला पर्यो। अँध्यारोमा डरले ऊ काँप्दै बसेको थियो र हामीलाई देखेर बहिनी सिमूको अंगालोमा झ्याप्पै हामफाल्यो। हामी सबै रमायौँ र उसलाई लिएर फर्कियौँ। कोठामा आएपछि मैले उसको निधारमा औँलाले ठुँगेँ र उसले पनि मलाई एक पन्जा हान्यो। यसरी खुसीको माहौलमा फेरि हाम्रो एक घच्ची परिगयो।
चुन्टेलाई न्यानो घाम, कुर्सी र राँगाको भुटन मन पर्छ। मुसाको भुटन उसले चाख्नसम्म पाएको छैन। हिटर बाल्दा सबैलाई छेकेर बस्नु उसको जीत हो। बार्दलीमा बसेर पुतली धपाउनु उसको सौख हो। झिँगालाई खेदाउनु उसको टाइम पास हो। आकाशमा उडेका भँगेरा समाउनु उसको सपना हो। उडेका गौँथलीहरू देखेर चुन्टे हावामा हात हल्लाउँछ। पत्याउनु हुन्छ? पछाडिबाट छुनु भो भने उसलाई, ऊ कंगारूले झैँ किक हान्छ।
केही दिन अगाडि उसको डाक्टरले उसलाई बन्ध्याकरण गर्नु पर्छ भन्ने सल्लाह दिए। हामीले हुन्न भन्न सकेनौँ। घरमा आएर स्टाफहरूले उसको बन्ध्याकरण गरिदिए। आजभोलि ऊ निको हुने प्रक्रियामा छ। उसलाई सन्चो छैन तैपनि ऊ मसँग भिडिरहन्छ।
म निदाएको मौका छोपेर ऊ कहिलेकाहीँ मेरो छातीमाथि आएर गुँडुल्किन्छ। म थाहा नपाए जस्तो गरेर यो ४ केजीको अबोध प्राणीलाई थामेर बस्छु। उसले मेरो छातीमा सास फेरेको थाहा पाउँछु। उसका स-साना चालहरूलाई महसुस गर्छु। र छिनभरमै ऊ पनि निदाएर घुर्न थाल्छ। एउटै बेडमाथि हामी दुई अलग-अलग जातिका जैविक यन्त्रहरू फूँ.. फूँ.. सास फेर्छौँ।
उसलाई चल्नु छैन भने मैले उसको पुच्छर निमोठ्दा पनि सहेर बस्छ र मलाई डेडो हेर्छ। उसलाई चल्नु छ भने दूध भात खाइसकेर अलिअलि जुँगामा लागेको दूध मेरो ट्राउजरमा आएर पुछ्छ। मलाई उसको यो स्वार्थी बानी झनै मन पर्छ।
कस्तो अचम्म! एउटा बिरालोको मायाले मलाई यति बेला गाह्रो पारिरहेको छ। मैले बहिनी जान्कीलाई भन्ने गरेको छु- 'म उता गएपछि तिमीहरूभन्दा चुन्टेलाई बेसी मिस गर्नेछु।' यो कुरा मैले साँचो बोलेको हुँ। मेरो डेढ/दुई महिनाको यो पटकको बिदाले मलाई एउटा बिरालोको मायामा पारेको छ। भनूँ? सम्पूर्ण बिरालो जातिलाई माया गर्ने मान्छेमा म झन्-झन् झन्-झन् परिवर्तित हुँदैछु।