मलाई प्रस्ट थाहा हुन्छ— म कुन बाटो जाँदैछु। मेरो हातमा कलम र कापी आउनु भनेको मैले ठुलो संघर्ष गरेर आफूलाई जित्नु हो।
अस्ति, ११ नोभेम्बर २०२५ मा म एक्लै टौदह पुगेकी थिएँ। एक्लै हिँड्न, नयाँ मान्छेसँग अनकनाउँदै बोल्न, अपरिचित ठाउँमा केही समय हराउन मलाई निकै मन पर्छ। त्यस्तो बेला लाग्छ— म कुनै अर्को दुनियाँमा पुगेकी छु, जहाँ कसैले मलाई चिन्दैन। म यसै पृथ्वीमा छु भन्ने कुराको समेत भेउ हुँदैन।
तर टौदह त्यस्तो अनजान ठाउँ भने होइन। यसको नाम सबैले सुनेका छन्— कहिले किताबमा, कहिले पत्रपत्रिकामा यसको प्रशंसा पढ्न पाइन्छ। एउटा तालले आफ्नो अस्तित्वलाई यति सम्मानित र माननीय बनाउनु सायद यसको आफ्नै संघर्षको कथा होला। तर आज म त्यो संघर्षको कथा होइन, यसको शान्त सौन्दर्यलाई महसुस गर्न चाहन्थेँ— एकदमै कमलो, फ्रेजाइल हृदयले।
त्यो दिन टौदह पुग्दा झन्डै चार बजेको थियो। साँझ पानी पर्ला–पर्ला जस्तो थियो। आकाशका बादलहरूले आफ्नो आकृति तालको पानीमा स्पष्ट पारिरहेका थिए। हल्का तातो र चिसोको मिश्रणले मौसम पनि निकै सुहाएको थियो। तालको छेउमा बसेर चिया पिउनु नै मानौँ मेरो लागि बनाइएको जस्तो लाग्थ्यो।
केही दिनअघि मात्रै मैले हंस किताब पढेकी थिएँ। त्यस दिनदेखि नै टौदहलाई आफ्नो स्मृतिमा कैद गर्ने इच्छा पलाएको थियो। मनभित्रको हताश र उल्लास एकैचोटि जुराएर मलाई ताल वरिपरि चक्कर लगाउन प्रेरित गरिरहेको थियो।
आधा बाटो हिँडिसकेपछि माछालाई दाना खुवाउने ‘स्टेसन’ जस्तै ठाउँहरू देखिन थाले। ‘नानी, दाना लिनुहोस् न’ भन्दै आमाहरूको विनम्र आवाज सुनिन्थ्यो। उनीहरूको बोलीको मान राख्दै म हरेक ठाउँबाट दाना किन्दै अघि बढेँ।
जब ६००–७०० रुपैयाँ बराबरको दाना किनेपछि पर्स छामेँ, त्यहाँ एटिएम कार्ड र पाँच रुपैयाँ मात्रै बाँकी थियो। तब पो थाहा भयो— आज त मैले निकै खर्च गरिसकेछु। तर के भन्ने, त्यो दाना सायद टौदहका दुई प्रतिशत माछालाई पनि पुगेको थिएन।
टौदहको आफ्नै कथाहरू छन्— एउटा ताल, तर अनेक कथा।
हाँसको कथा, माछाको कथा, नागदेवताको कथा र मान्छेको कथा। माछालाई दाना छर्किँदै गर्दा त्यही आमासँग गफ पनि चलिरह्यो। उहाँ भन्नुहुन्थ्यो— ‘नानी, यहाँको माछा कसैले खानु हुँदैन। यहाँ मान्छेको जनसंख्या जत्तिकै माछा छन्। यिनीहरूको पेट कहिल्यै भरिँदैन। यहाँ नागदेवता बस्छन्। अनि हाँसहरू पनि अजर–अमर जोडी भएर बाँच्छन्।’
उहाँले पर एउटा हाँसको जोडी देखाउँदै भन्नुभयो— ‘हेर्नु नानी, यिनीहरू सधैँ एकअर्कालाई पछ्याइरहन्छन्। जस्तो कि एकअर्काकै लागि बाँचेका छन्।’
आमाको अनुहारमा त्यो दृश्य देखेर आएको खुसी स्पष्ट देखिन्थ्यो। तालको बिचमा एउटा टापु पनि देखिन्थ्यो। उहाँले त्यहीतिर औँला देखाउँदै अर्को कथा सुनाउनुभयो—
‘यो ताल सत्ययुगको ताल हो रे। पहिले हाम्रा पुर्खाले राति खाली भाँडा टापुमा लगेर राख्दा बिहान नाग भगवानले प्रसाद भरिदिनु हुन्थ्यो। तर एकदिन कसैले गल्तीले जुठो भाँडा त्यहाँ राखेछन्। त्यसै दिनदेखि नाग भगवान् रिसाएर प्रसाद दिन छोड्नुभयो रे।’
कथाहरू साँच्चै शक्तिशाली हुन्छन्। यी कथाले मान्छेलाई गलत बाटोबाट फर्काउन सक्छन्।
सायद यही कथाकै कारण टौदहका माछाहरू आजसम्म मान्छेको सिकार बनेका छैनन्। मान्छेको अस्तित्वभन्दा उनीहरूको अस्तित्व पूजनीय बनेको छ। यही कथाले हाँसको जोडीलाई पनि आफ्नो प्रेमकथा बाँच्न दिएको छ।
त्यो बेला मलाई लाग्यो— समय यही पलमा रोकियोस्।
सायद यही त्यो क्षण थियो, जसको म धेरै दिनदेखि प्रतीक्षा गरिरहेकी थिएँ। साँचो भन्नुपर्दा, त्यो क्षणमा मलाई यस्तो लाग्यो— म सपनामा होइन, वास्तविकतामै सपना बाँचिरहेकी छु।
अब माछाको पेट अर्को कुनै दिन भर्नेछु।
ए टौदह, तिमीले मलाई केही समयका लागि भए पनि आफूलाई बिर्सिन सिकायौ।