श्रीमानसँग घरको छतमा बसेर चियाको चुस्की लगाउँदै गर्दा मेरो नजर पर्छ जामाचोको श्वेत गुम्बामा। उहिल्यैदेखि हो मलाई जामाचोमा पाइला टेक्न मन लागेको। ‘नजिकको तीर्थ हेला’ भनेझैँ भइरहेथ्यो। जागिर र घरायसी काम। छोराछोरीको स्याहारसुसार। सधैँको व्यस्त दैनिकी। भन्नेबित्तिकै कहाँ निस्किन पाइन्छ र! जाऊँला नि त भन्दा भन्दै १६ वर्ष पो भइसकेछ। सोच्छु– खाना खाइसकेपछि खासै काम छैन। आज उपयुक्त दिन हो।
‘ऊ त्यो टुप्पोमा जाऔँ न आज!’ जामाचो गुम्बालाई देखाउँदै श्रीमानसँग प्रस्ताव राख्छु म।
‘हुन्छ नि!’ सकारात्मक जवाफ आउँछ।
हाइकिङ गर्ने हठात् योजना बन्छ हाम्रो।
आज महाअष्टमी। हिन्दूहरूको विशेष दिन हो यो। दसैँ मनाएर जाने सल्लाह हुन्छ। दसैँ अर्थात् मासु–भात। म फुर्तिले भान्छा तयार गर्छु। मासुको मीठो बास्नाले भन्दा पनि मलाई प्रियसँग जामाचो जाने कुराले तरङ्गित बनाउँछ। कुनै पनि कामको लागि दिन जुर्नुपर्छ भन्थे। हो रहेछ। खुसीले गद्गद् हुन्छु म।
हामी दुई मात्र जान लागेकोमा छोराछोरीले गरेको मौन विद्रोहलाई पनि वास्ता गरिनँ मैले।
हतार-हतार काममा लाग्छु, हतार-हतार खान्छौँ सबैले र हतार-हतार निस्कन्छौँ। तैपनि फूलबारी गेट पुग्दा मध्याह्न भइसक्छ। फूलबारी गेट अर्थात् जामाचोको प्रवेशद्वार।
अरू बेला व्यस्त रहने काठमाडौँका सडक सुनसान छन् आज। नत्र वनस्थलीबाट यहाँसम्म आउन १५ मिनेटमा कहाँ सम्भव हुन्थ्यो र।
राष्ट्रिय निकुञ्ज भएकोले सेनाको कडा सुरक्षा छ, नागार्जुन पर्वत। नेपालको कान्छो निकुञ्ज नागार्जुन राष्ट्रिय निकुञ्ज र शिवपुरी राष्ट्रिय निकुञ्जलाई गाभेपछि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज भएको छ नयाँ नाम।
सूचना पाटीमा नेपालीका लागि लाग्ने प्रवेश शुल्क सूचित गरिएको छ– ‘रू. १००।– मात्र’।
‘आज पदयात्री कमै होलान् है?’ प्रवेश टिकट काट्दै गर्दा सुरक्षाकर्मीलाई सोध्छु म।
‘दसैँको बेला हो। कमै हुने भए नि,’ उनी मन नलागी नलागी बोले जस्तो लाग्छन्।
पीडाका तरङ्ग उठेको प्रतीत हुन्छ उनको मुहारको सतहमा। दसैँ जस्तो महान् चाडको बेलामा पनि परिवार भेट्न नपाएकोले होला भन्ने ठम्याइ हुन्छ मेरो।
उकालो चढ्ने काम सुरु हुन्छ हाम्रो।
प्रवेशद्वारमा राखिएको पाटीले ध्वाँसे चितुवा, सालक, चरी बाघ, आसामी बाँदरसहित २२ भन्दा बढी प्रकारका स्तनधारी चौपाया, ३११ किसिमका पन्छी र १०२ प्रजातिका पुतली भएको जानकारी दिन्छ।
जङ्गलमा ध्वाँसे चितुवा पनि भएको बोध भएपछि भय उत्पन्न हुन्छ मेरो मनभित्र। तर श्रीमान्को साथ भएको भरोसा हुन्छ मलाई। त्यसो त पदयात्रामा निस्कँदा सधैँजसो लट्ठी लिएर हिँड्थेँ। आजको यात्रामा श्रीमान् नै साथमा हुने भएपछि लट्ठीलाई बिर्सिदिएँ मैले। श्रीमान् सँगै हुनु र नहुनुमा यति फरक हुँदोरहेछ।
साँच्चै यो हात मात्र नभएर प्रेमको दरिलो साथ पनि लाग्यो। भर्खर बिहे भएर हात समाउँदाको जस्तो प्रेमिल स्पर्श शरीरभरि छायो। प्रेमको गहिराइ महसुस गर्न पनि एकान्त ठाउँमा दुई प्रेमी हिँड्नु पर्ने रहेछ। घर, छोराछोरी, जागिर भन्दाभन्दै दाम्पत्यप्रेमको चमक मुर्झाउँदै गएको के पत्तो पाउनु र?
उकालो बाटो। ढुङ्गेनी सिँढी। यस्तै थियो फागुन महिनामा सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्दा मैले चढेको नाम्चेको उकालो। मैले बिर्सिसकेको त्यो यात्राका प्रत्येक उकाली र ओरालीको स्मरण हुन्छ मलाई। यही बेला मलाई याद आउँछ कवि आरएम डङ्गोलको कवितांश–
‘बिर्सिसकेको जिन्दगीको उकालो
उकालोमै पुगेपछि सम्झिएँ’
धन्न घामको किरणलाई नागार्जुनका अग्ला रुखहरूले छेकेको छ। नत्र के हविगत हुन्थ्यो होला।
सुनसान जङ्गलभित्र पदयात्री हामी दुई। प्रणयसूत्रमा बाँधिएको पच्चीसौँ वर्षगाँठ पार गरिसक्दा पनि हामी दुई यसरी पदयात्रा गर्ने अवसर जुरेको थिएन। एउटा नवीन अनुभूति भइरहेको छ। साँच्चै भनुँ भने यसरी यात्रा गरौँला भन्ने सोचेकै थिइनँ मैले। सोचेको नहुनु र नसोचेको भइदिनु नै जीवन रहेछ।
उकालोको यात्रा आफैँमा रोमाञ्चकारी यात्रा हो। उकालोले नै सिकाउँदो रहेछ पहाडको कोमलता, सामर्थ्य र कठोरता। उकालाले स्वाँ-स्वाँ बढ्दा प्राणायाम गर्दाको अनुभूति हुन्छ। यात्रा भनेकै अनुभूति न हो!
अप्ठ्यारा बाटो आउँदा उहाँको हात छुट्छ। अनि त पछि पर्छु म।
‘कति ढिलो हो तिमी त! अलि छिटो हिँड न!’ ठट्टाभावमा उहाँ भन्नुहुन्छ।
म भन्छु– ‘यसरी नै गएर आइयो सगरमाथाको आधार शिविर। बिस्तारै उक्लिहाल्छु नि। अवलोकन पनि त गर्नुपर्यो नि। कहाँ घोडा कुदेजस्तो कुद्ने हो त!’
म पनि आफूलाई कमजोर देखाउन पनि कहाँ चाहन्थेँ र!
शारदीय घामको न्यानो आइरहेछ रुखका छिद्रहरूबाट। मन्द वायुले स्पर्श गरिरहेको छ। चराचुरुङ्गीको कलरवले झनै आनन्द दिलाउँछ। यो मधुर सङ्गीत सुन्ने अझै केही भेटेका छैनौँ हामीले।
चराहरू पनि देखिन्छन् कि भनेर चारैतिर आँखा डुलाउँछु। हाँगाहरूको छेल परेर बसेका ती, आफ्नो स्वरको जादु देखाउँछन् तर रूप देखाउँदैनन्।
हाम्रो गन्ध पाएर ओसिलो झाडीबाट उठेका लामखुट्टेले लखेट्छन् हामीलाई। तर विनसिटरमा ठोक्किएपछि फर्कन्छन् फेरि झाडीतिरै।
अर्को चेक पोस्ट आइपुग्छ।
यहाँ पुगेपछि ‘नाम दर्ता गर्नू’ भनेका थिए प्रवेशद्वारका सेनाले।
दसैँको बेलामा दुई जनालाई मात्र देख्दा सायद अचम्म लाग्यो होला सुरक्षाकर्मीलाई।
चेक पोस्ट अगाडिको बेन्चमा टुक्रुक्क बस्छु।
‘यस्तै उकालो हो माथिसम्मै?’
‘होइन। यति सारो छैन।’
उनको भनाइले अझै उकालो छ भन्ने प्रस्ट हुन्छ।
हामीले पनि राम्रोसँग बुझेका नै कहाँ थियौँ र।
हाम्रो नाम, ठेगाना र मोबाइल नम्बर टिप्छन् उनीहरू।
‘जामाचोको बारेमा केही थाहा छ भने बताइदिनु न,’ अनुरोध गर्छु म।
उनी भन्छन्– ‘धेरै थाहा छैन दिदी, किंवदन्ती भने सुनेको छु।’
‘के होला?’
‘स्वयम्भू पुराण अनुसार ९१ कल्पअघि काठमाडौँ उपत्यका ठूलो ताल–नागदहको रूपमा रहेको थियो। सप्तबुद्ध मध्येको पहिलो रूप विपश्वी बुद्धले जामाचोबाट कमलको बीज विशाल तालमा प्रक्षेपण गर्दा स्वयम्भू उत्पत्ति भयो रे। यही कारणले प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिनलाई वज्रयान बौद्ध परम्परामा ‘ल्हुतिपुन्ही’ मान्ने गरिन्छ। यो दिन बिहानै उठी बालाजु बाइसधारामा स्नान गरेर यहाँ आई पूजा, पाठ र एक सय आठ दीप प्रज्ज्वलन गर्ने परम्परा छ। कोरोनाले दुई साल मेला लागेन यो साल लाग्छ’ बेलीविस्तार लाउँछन् उनी।
चैत्रको मेलामा आइएछ भने छोराछोरीलाई पनि सँगै ल्याउनु पर्ला। बाबुआमासँग सँगै जान पाइएन भनेर बिहानभर गम्म फुलेर बसेका थिए।
महाभारत प्रसङ्गअनुसार पाँच पाण्डव वनवास रहेका बेला यही जङ्गलमा थिए। दुर्योधन पक्षले पाण्डवलाई मार्नका निम्ति नागलाई पठाएका थिए। यो कुरा अर्जुनले थाहा पाएर पछाडि फर्की हेर्दा फणा उठाएर आफूलाई डस्न लागेको देखेछन्। उनले तत्कालै नागको शिरच्छेदन गरिदिएछन् यसरी नाग र अर्जुनको कथा जोडिएकोले पहाडको नाम नागार्जुन रहन गएको भन्ने छ। आफूले जानेका कुरा हामीलाई सुनाउन पाउँदा सैनिक भाइको अनुहार उज्यालियो।
नजिकैको थलीबाट देखिन्छ चार भन्ज्याङभित्र लमतन्न सुतिरहेको उपत्यकाको सुन्दर दृश्य। त्यही उपत्यकालाई चकटी बनाएर टुपुक्क बसेको स्वयम्भूनाथ। ऊ बेला पानीले भरिएको ताल। अहिले कङ्क्रिटले भरिएको सहर। वनस्पतिको जङ्गलबाट कङ्क्रिटको जङ्गललाई धित मर्ने गरी हेर्छौँ हामी।
धेरै कुरा लुकेका छन् यो सहरमा– इतिहास, कला, धर्म, संस्कृति र संस्कार। दसैँले सुनसान लाग्छ काठमाडौँ। सवारीहरू नचलेपछि धुलोको तह देखिएको छैन। मनले भन्छ– सधैँ यस्तो भइदिए पो!
यहीबाट देखिन्छ नागार्जुन दरबार र त्योसँगै रहेको हेलिप्याड। यो त्यही दरबार हो जहाँ हामी हरेक साँझ बत्ती बलेको देख्छौँ आफ्नै निवासबाट।
‘बेलुका फर्किन ढिला होला, गइहाल्नुस्!’ अल्मलिएको देखेर हामीलाई सचेत गराउँछन् सेना।
हामी उक्लँदै गर्दा पहिलो पटक दुई विदेशी ओर्लिरहेका थिए।
विदेशीहरू कहाँदेखि घुम्न आउँछन्। हामी भने घरैबाट देखिने यति सुन्दर ठाउँमा आउन पनि समय मिलाउन सक्दैनौँ।
यस्तै डाँडाको टुप्पोमा थियो मेरो मामाघर। बाल्यकालमा मावली जाँदाको याद झल्झली छाउँछ। त्यो हरियो डाँडा। त्यहीँ अवस्थित ‘फोक्सिङ’। मरिहत्ते गर्थ्यौँ हामी मामाघर जान। झोलीको देउता भनेर खुब माया गर्नुहुन्थ्यो मामाले।
झ्याउँकिरी कराएको आवाज बिहेको बाजा बजेजस्तो लाग्थ्यो। उडेका पुतली समाउन तँछाडमछाड हुन्थ्यो।
‘पुतली समाउन हुन्न भान्जी। यसको पखेटाको विष आँखामा पर्यो भने अन्धी हुन बेर छैन’ भनेर एक दिन मामाले भन्नु भएको कहिल्यै बिर्सन्नँ म।
त्यसपछि मैले पुतली कहिल्यै समाउने कोसिस गरिनँ। उडेको मात्र हेरेर रमाउन थालेँ। अहिलेको कुरा सम्झँदा पनि हाँसो लाग्छ आफैँलाई।
अहिले पुतली उडिरहेको देख्दा बाल्यकालमा मैले देखेका तिनै पुतलीका सन्ततिहरू यहाँ आएर उडेजस्ता लाग्छन्। पुतलीहरू उडेको देख्दा म आफैँ पुतली जस्तै भएको महसुस गरिरहेकी छु। एउटा बिल्कुल पृथक् अनुभूति।
यही बेला उहाँ भन्नहुन्छ– ‘यताउति हेर्दै अगाडि आऊ! म भिडियो खिच्छु।’
त्यसै गर्छु म।
प्रकृतिको माझ भिडियो खिचेको फेरि नवीन अनुभूति हुन्छ मलाई। अनुभूति नै अनुभूतिहरू सङ्गाल्दै छु म।
राजधानी नजिकको यति सुन्दर वनकुञ्जमा कति जनाले पाइला हाले होलान्। प्रश्नका पेटारा आफैँ खुल्न थाल्छन्।
सल्लाको रुखैरुखको स्थानमा पुग्छौँ। बाटोभरि सल्लीपीरलाई प्रकृतिले गलैँचा बनाएर बिछ्याए जस्तै लाग्छ। चिप्लिएला कि भनेर सजगता अपनाउँछु म।
अलि अगाडि बढेपछि रुखमा पहेँला टिनका साना पाता देखिए। राष्ट्रिय निकुञ्जको संरक्षित वन भएकोले विशेष रुखहरूमा नाम अङ्कित गरिएको होला। सुरिला रुखहरू लप्सी, सौर र पैयुँका नाम लेखिएका छन्। यिनको लम्बाइ मात्रै एउटै छैनन्। चौडाइ र गोलाइ पनि समानका लाग्ने छन्।
रुखहरू निकै छाँट पारेर लगाइएका जस्ता छन्। रुखैरुखको बगैँचा देखेपछि प्रकृतिको पौरखमाथि गर्व गर्छु म।
एउटा रुखमा टिनको पातो मुन्टिएर तल जोतिएको अवस्थामा देख्छु। त्यसलाई अलिकति घुमाएर सोझ्याउँदा सही अवस्थामा आउँछ। ठीक ठाउँमा बसेपछि चिटिक्क देखिन्छ। यही ठाउँ भएर हजारौँ मान्छेहरू हिँडिसके। यति गर्ने होश पनि कसैलाई आएको रहेनछ।
बाटोमा टेक्ने मिल्ने ठिक्कको लट्ठी भेटिन्छन्। पैदल यात्रुले फालेका होलान्। एक-एक वटा लिन्छौँ।
हातमा लट्ठी भएपछि थोरै भए पनि ढुक्क हुन्छ मन। यही बीच कसैले ख्याक्क ख्याक्क खोकेजस्तो आवाज आउँछ। यताउति कोही देखिन्न। रुखतिर हेर्दा एक बथान बाँदर रहेछन्। टुसुक्क टुसुक्क हाँगामा बसेका।
मानिसका पुर्खा हुन् भन्छन् बाँदरलाई। पुर्खाहरूले खोकेर हाम्रो स्वागत गरेका होलान् भन्ठान्छु म।
एउटा सानो सूचना बोर्डले जामाचो अब २ किमी पर रहेको जानकारी देखाउँछ। आधाभन्दा बढी बाटो काटिसकेको अर्थमा मक्ख छौँ। सेल्फी र एकअर्काको फोटो खिच्न कन्जुस्याइँ गरेनौँ हामीले। फोटोजति बलियो चिनो अरू के हुन्छ र!
हाडे काफल र कटुसका रुखहरू हेर्दैहेर्दै हामी अघि बढिरहेका छौँ। त्यही बेला केही मान्छे ओरालो लागिरहेका देख्छौँ।
हाम्रो नजिकै आइपुगेपछि एउटी किशोरी मलाई देखेर मुस्कुराउँदै बोल्छिन्– ‘ए म्याम पनि आउनु भएको रहेछ, नमस्ते!’
म उनलाई प्रतिनमस्कार गर्छु तर ठम्याउन सक्दिनँ।
म घोरिन लागेकोले होला उनी भन्छिन्– ‘म्याम म एलिना भट्ट।’
मैले सैनिक महाविद्यालयमा पढाएकी विद्यार्थी रहिछिन् उनी।
‘कोसँग आएकी नि?’ स्नेहले उनको हात चपक्क समाउँदै सोध्छु।
परिवारसँग आएकी रहिछिन् उनी। सबैसँग परिचय गराउँछिन् उनी मलाई।
उनीहरू बिहानै ८ बजे खाना बोकेर गएका रहेछन्। उनीहरूलाई देख्दा हामी चाहिँ ढिलो भएको हो कि भन्ने भान हुन्छ।
ठीक साढे एक बजे काँसैकाँसै सप्रिएको फाँटमा आइपुग्छौँ। खुला ठाउँ। देउराली जस्तो। टिनले छाएको सानो छानोमुनि आमनेसामने पारेर दुई वटा बेन्च राखिएका छन्। ज्यानको भारीलाई एकछिन त्यसैमा बिसाउँछु म।
मेरा नजर पश्चिमपट्टि नागार्जुन जामाचोको चुचुरोमा पुग्छ। त्यहाँ रङ्गीन लुङ्दरहरू फरफराइरहेका छन्। अन्तिम उकालो बाँकी छ त्यहाँसम्म पुग्न।
‘त्यो टुप्पोमा पुग्न महाभारत नै हुँदोरहेछ है?’ माथिबाट तल ओर्लदै गरेका सैनिकलाई सोध्छु।
‘पौने दुई यही भइसक्यो। तपाईंहरू त्यहाँ पुग्दा अबेला होला। फर्के हुन्छ,’ हाम्रो अनुहारसमेत नहेरी जवाफ फर्काउँछन् उनी।
उनको कुरा सुनेर अक्क न बक्क हुन्छौँ हामी।
म भन्छु– ‘छिटोछिटो जाऔँ। तिनले भनेर हुन्छ र!’ जोशका साथ पाइला चाल्छौँ हामी।
‘सक्दैनौ’ भन्नेलाई ‘किन नसक्ने’ भन्नेजस्तो लाग्दो रहेछ। प्रकृतिको यो उकालोसँग जिन्दगीका उकालोहरू पनि तुलना गर्न मन लाग्छ। चुनौतीहरूसँग सामना गरेर नहिँडी कहाँ गन्तव्य छिचोलिन्छ र!
अबको वन झन् घना छ। बाक्ला रुख। बाटो नै अँध्यारो। जङ्गली जनावर अगाडि नै आउला जस्तो। भयभीत हुन्छौँ हामी। छ न त हातमा एक एक वटा लट्ठी छन् नि। जनावर आइहाले के गर्नु यो जाबो लट्ठीले! दृढसङ्कल्प बोकेर आएपछि गन्तव्यमा पुग्नैपर्छ। मुख नबोले पनि मन बोल्छ मेरो।
नबोली सुइँसुइँ हिँडेको आधा घण्टामा बाँसै बाँस भएको ठाउँमा पुग्छौँ। पहिरो नजाओस् भनेर यहाँ निगालो बाँस रोपिएको रहेछ। निगाले सुन्दर बगैँचा जस्तै भान हुने।
अलिकति उठेको अनि मुन्तिर भिरालो परेको ठाउँ। एकछिनसम्म उभिएर यो सुन्दर ठाउँमा अडिन्छौँ। त्यहाँबाट यसो दक्षिण पश्चिम हेर्दा सेतो गुम्बाको भित्तो टलक्क टल्किएको देख्छौँ। शान्तिको प्रतीकस्वरूप सुन्दर लुङ्दा फरफराइरहेका छन्।
‘ए आइसकेछ, यो नाकै ठोकिने जस्तो उकालो दस मिनेट हिँडेपछि आइहाल्यो त।’ के-के न नयाँ कुरा थाहा पाए जस्तो गरेर कराउँछु म।
मेरो आवाजले जङ्गलका जनावर पनि तर्सेर भाग्लान् जस्तै गरी। बच्चाजस्तै फुरुक्क परेर माथितिर जोसिला पाइला उठाउँछु। करिब ४०/५० वटा ढुङ्गाका सिँढी उक्लेपछि सुन्दर गुम्बा आउँछ।
गुम्बाकै अगाडि छ, फलामे भ्यूटावर थियो। यी सबैले हामीलाई स्वागत गरेझैँ लाग्छन्।
चारैतिर हेर्छु। खुलेको उपत्यका। मनोरम वातावरण। उक्लँदाखेरि दुखेका गोडा एकाएक सन्चो भएजस्तो हुन्छ। जामाचोमा जेलिएका रङ्गीन लुङ्दर देखेर अचम्मित हुन्छु। हावामा हल्लिँदाको अवस्थामा यिनको सौन्दर्य अवर्णनीय हुँदोरहेछ।
अघि सिपाहीले हामीलाई ‘भ्याउनुहुन्न’ भनेको पैँतालीस मिनेटमै हामी आइसकेका थियौँ। उसले भनेको पत्याएर त्यहीँबाट फर्केको भए यति सुन्दर दृश्य कहाँ देख्न पाइन्थ्यो र! पोखराको सराङ्कोटको टुप्पोमा गएझैँ महसुस हुँदोरहेछ यहाँ आइपुग्दा।
बूढानीलकण्ठ, तारेभीर, ककनी, नगरकोट, फूलचोकी, चन्द्रागिरि, दहचोक आदि डाँडाका थुम्काहरू देखिन्छन्। क्षितिजमा टाँसिएझैँ लाग्ने गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर लगायतका लामै शृङ्खला देखिन्छन्।
उपत्यकाको यति फराकिलो स्वरूप अन्त कहाँबाट देखिएला र? समुद्र सतहबाट २१२८ मिटर उचाइमा अवस्थित जामाचो अद्भूत ठाउँ पो रहेछ।
भ्यूटावरबाट झरेर बौद्ध स्तूप अगाडि पुग्छौँ। यस स्तूपमा ध्यानमग्न महाकाल, वसुन्धरा, श्वेत तारा, पद्मपाणि, हरिततारा तथा वज्रपाणिका मूर्तिहरूको अवस्थिति छन्। हरेक बुद्ध पूर्णिमामा मेला लाग्ने पवित्र यो ठाउँ देखेर मनै प्रसन्न हुन्छ। स्तूपको पूर्वतर्फ नागदेवता सिन्दूर, अक्षता र सेता फूलहरूले पूजा गरिएको रहेछ। हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको साझा आस्थाको धरोहरमा टेक्न पाउँदा मनै पवित्र भएको महसुस भयो। धार्मिक सहिष्णुताका दृष्टिले महत्त्वपूर्ण शिखर हो यो। बलिरहेका मैनबत्तीको प्रकाशले मनै खिच्यो। दुईवटा मैनबत्ती किनेर शान्तिको लागि प्रज्वलन गर्छु म।
बत्ती बेच्ने पसलेसँग संवाद गर्न मन लाग्छ।
‘तपाईँ यहीँ बस्नुहुन्छ?’
‘होइन। यहाँ रात बस्न नपाइने नियम छ। बिहान ७ बजे आएर बेलुका पाँच बजे फर्किन्छु।’
‘खानलाई केही कुरा किन्ने पसल छैन यहाँ?’
‘छैन। चाउचाउ, कुरकुरे, पानी र जुस छ मसँग।’
‘कहाँ छ?’
‘मेरो झोलामा।’
झोलामै रहेछ उनको पसल।
दुइटा चाउचाउ र दुइटा रियल जुस किन्छौँ हामी।
चाउचाउ खाँदै गर्दा सोच्छु– केबलकारको व्यवस्था भए राष्ट्रिय निकुञ्जका जनावरलाई बाधा पुग्थेन होला।
आन्तरिक पर्यटनको विस्तार गर्ने माध्यम कति छन् कति। सरकारी संयन्त्र फितलो भएपछि सजिलै गर्न सकिने काम पनि यसरी ओझेल पर्छन्।
केही युवायुवती समूह–समूह बनाएर बसेका छन्। कोही आफूले बोकेर ल्याएको खानेकुरा खाँदै त कोही टिकटक बनाउँदै। अनेक पोजको फोटो खिच्नमा पनि तल्लीन छन् उनीहरू। उनीहरूको चालढाल हेर्न लायक छ।
हठात् मेरो मोबाइलको घण्टी बज्छ। म उठाउँछु। प्रवेशद्वारका सैनिकले गरेका रहेछन्।
उनी भन्छन्– ‘बेलुका भएपछि मान्छे हिँड्ने बाटोमा चितुवा आउन सक्छन्। तिनीहरूको पानी खाने डुँड त्यतै छ। दुई जना मात्र देखेमा आक्रमण पनि गर्न सक्छ। अब ओर्लनु हुन्छ कि?’
सैनिकका कुराले खङ्ग्रङ्ग हुन्छौँ हामी। अघि काँसघारीमा भेटिएको सैनिकले ‘नजानु’ भनेको सही रहेछ। बल्ल पो कुरो बुझियो। एक्लैदुक्लै भन्दा पनि साथीहरूसँग बेलैमा आउनु पर्ने रहेछ जामाचो आउँदा। जुरुक्क उठेर हतार-हतार फूलबारी गेट झर्छौँ हामी।
-1773655213.jpg)
-1773655212.jpg)
-1773655212.jpg)
-1773655211.jpg)