त्यो दिउँसो जलाशय असाध्यै शान्त थियो। पानीको सतहमा हल्का हावा चल्दा बन्ने तरङ्ग, किनारमा हल्लिने घाँस र टाढाबाट सुनिने चराहरूको आवाज सबै मिलेर प्रकृतिको एउटा मौन संगीत जस्तो लाग्थ्यो।
म त्यही शान्तिमा हराइरहेको थिएँ, जब उनी आइन्।
सानो नानी; नाङ्गो खुट्टा अलि माटो लागेको, आँखामा अनगिन्ती जिज्ञासा बोकेकी। उनले न परिचय दिइन्, न औपचारिक कुरा गरिन्। केवल पानीलाई हेर्दै एकदम सरल तर गहिरो प्रश्न गरिन्- ‘के पानीले पनि सास फेर्छ होला?’
त्यो प्रश्न सुन्दा म केही बेर रोकिएँ। किनकि त्यो केवल बालकको कल्पना थिएन, त्यो एक अनुभूति थियो।
उनले फेरि भनिन्, ‘यो कहिल्यै रोकिँदैन, सधैँ बगिरहन्छ… यो त जिउँदो जस्तो लाग्छ।’
त्यही क्षणदेखि मेरो पानीलाई हेर्ने दृष्टि बदलियो। वैज्ञानिक रूपमा पानी आफैँले सास फेर्दैन। तर पानीसँग जोडिएको सम्पूर्ण पारिस्थितिक प्रणाली निरन्तर ग्यास आदान–प्रदानको प्रक्रियामा चलिरहेको हुन्छ।
नदी, ताल र जलाशयहरूले वातावरणसँग अक्सिजन र कार्बनडाइअक्साइडको आदानप्रदान गर्छन्। पानीभित्र रहेका माछा, शैवाल, सूक्ष्म जीवदेखि सम्पूर्ण जैविक प्रणालीले यसलाई जीवन्त बनाइरहेका हुन्छन्।
नेपालका नदीहरू- कोशी, गण्डकी, कर्णाली र बागमती केवल जलधारा होइनन्। यी हिमालदेखि तराईसम्म जोड्ने जीवनरेखा हुन्। वर्षामा फैलिने, हिउँदमा संकुचित हुने, कहिले स्वच्छ त कहिले धमिलो हुने , यी सबै परिवर्तन पानीको प्राकृतिक ‘सास’ जस्तै देखिन्छन्।
नेपालका सिमसार क्षेत्र चराहरूको आश्रय, माछाको प्रजनन स्थल र भूमिगत पानी पुनर्भरण गर्ने अत्यन्त महत्त्वपूर्ण प्राकृतिक प्रणाली हुन्।तर यही नदीहरूको अर्को यथार्थ अझै गहिरो छ।
आज धेरै ठाउँमा नदीहरू हेर्दा पानीभन्दा पहिले प्लास्टिक देखिन्छ। बोतल, झोला, खानेकुराका खोल, घरेलु र बजारका फोहोर यी सबै मिलेर नदीको सतह ढाकिएको देखिन्छ।
कतै कतै त पानी नै फोहोरको तहले छोपिएको हुन्छ।
बागमतीजस्ता ऐतिहासिक नदीहरू जसले एक समय सभ्यता, संस्कृति र जीवनलाई दिशा दिएको थियो, आज धेरै ठाउँमा प्रदूषित नालीजस्तै बनेका छन्। नारायणी लगायत अन्य नदी प्रणालीमा पनि प्लास्टिक फोहोर तीव्र रूपमा बढ्दै गएको देखिन्छ।
साना खोला र सिमसार क्षेत्रहरू पनि अव्यवस्थित फोहोर व्यवस्थापन, सहरीकरण र मानवीय लापरबाहीका कारण संकटमा छन्। पानी प्रदूषण अब केवल नदीको समस्या मात्र होइन, सम्पूर्ण जैविक प्रणालीको संकट बनिसकेको छ।
दूषित पानीका कारण वन्यजन्तुहरूको मृत्युका घटनाहरू पनि रिपोर्ट भएका छन्। त्यस्तै, घडियाल जस्ता दुर्लभ जलचर प्रजातिहरू, माछा, कछुवा र अन्य वन्यजन्तुहरू पनि बासस्थान विनाश, प्रदूषण र नदीको प्रवाह परिवर्तनका कारण संकटमा परेका छन्।
नदी केवल पानीको धारा होइन, यो जीवनलाई सन्तुलनमा राख्ने एक आधारभूत प्रणाली हो, जसले हामी सबैलाई एकसाथ जोडेर राख्छ।
त्यो नानीले फेरि सोधिन्, ‘यो त बग्छ, तर किन यति थाकेको जस्तो देखिन्छ?’
पानीमा ‘डिजल्भ्ड अक्सिजन’ घट्दा जलचर जीवन कमजोर हुन्छ। प्लास्टिक र रसायनले पानीको प्राकृतिक प्रवाह, शुद्धता र जीवनचक्रलाई बिगार्छ। अन्ततः यसको असर हामीमै फर्किन्छ, किनकि हाम्रो जीवन नै पानीमा निर्भर छ।
त्यही बेला अर्को अनुभूति पनि आउँछ- नदीहरू केवल प्रदूषित मात्र होइनन्, उनीहरू बिस्तारै मौन हुँदै गएका छन्। एक समय थियो, जब नदीहरूको आवाज टाढाबाटै सुन्न सकिन्थ्यो, ढुंगासँग पानी ठोक्किँदा आउने ध्वनि, किनारका बालुवामा बग्ने धाराको संगीत।
तर आज धेरै नदीहरूलाई सुन्नुपर्छ किनकि उनीहरूको आवाज कमजोर हुँदै गएको छ। सायद नदीहरू थाकेका होइनन्। सायद हामीले सुन्न छोडेका हौँ। त्यो मौनताबिच नदीहरू अझै पनि बगिरहेका छन्, तर उनीहरूको जीवन्तता हराउँदै गएको जस्तो लाग्छ।
त्यो नानीको अन्तिम प्रश्न अझै पनि मनमा गुन्जिरहन्छ- ‘त्यसो भए सायद हामीले नै पानीलाई सास फेर्न नदिइरहेका छौँ होला?’
सायद पानीले सास फेर्छ कि फेर्दैन भन्ने प्रश्नभन्दा ठुलो प्रश्न यो हो- हामीले उसलाई सास फेर्न दिएका छौँ कि छैनौँ?
किनकि अन्ततः पानी केवल प्राकृतिक स्रोत होइन, हाम्रो आफ्नै जीवन हो।
र जब नदीमा पानीभन्दा प्लास्टिक बढी देखिन थाल्छ, जब दूषित पानीका कारण वन्यजन्तुहरूको मृत्यु हुन्छ, जब दुर्लभ जलचर प्रजातिहरूले आफ्नो बासस्थान गुमाउँछन् , त्यो बेला समस्या पानीको होइन, हाम्रो व्यवहारको हुन्छ।
त्यो दिनको जलाशय, त्यो नानीको प्रश्न, र आजका नदीहरूको यथार्थ सबै एउटै कथामा गाँसिएका छन्।
पानी बगिरहन्छ तर अब प्रश्न यो हो, के हामी पनि त्यससँगै सचेत भएर बगिरहेका छौँ?