पहिलाको गाउँघरको प्रसंग कोट्याउँदा बेलुकीको खाना खाइसकेपछि र तत्पश्चात् जुठा भाँडा सफा गर्नुअघि भान्साको भुइँ मुठीभरिको गोबर ओल्ट्याइपल्ट्याई गरेर चोख्याउने गरिन्थ्यो। गोबरलाई डोलो आकार दिएर हत्केलाको सहायताले जुठो भुइँ सफा गर्ने कार्यलाई ‘लोटाउने’ भनिन्छ राप्ती भेगतिर। यो चलन पछिल्लो समय गाई पाल्न छाडेपछि हराउँदै गएको पाइन्छ।
उहिले बेलुकीको खाना खाएर सुत्नुअघि हाम्री आमाले अगुल्टोको टुप्पोमा रहेको आगोको भाग खरानीले पुर्नुहुन्थ्यो। आमा बिहानै कुखुराको भाले बास्नुअघि अर्थात् चिबेचरा बासेपछि उठ्नुहुन्थ्यो। पधेरामा नुहाइधुवाई गरेर गाग्रोमा पानी भरेर डोकोमा गाग्रो राखेर अनि नाम्लोले बोकेर घर आएपछि मूल ढोकाको चौकोसको ठाडो दुई भाग दुई हातले समातेर बिस्तारै संघारमा बसेर डोकोबाट गाग्रो झिकेर गग्रेटोमा बसाल्नुहुन्थ्यो।
गग्रेटोमा गाग्राहरू सन्तुलित भएर बसोस् भन्नका लागि पराल वा खरबाट बनाइएको बिँडा (रबरको खेल्ने रिङ आकारको) माथि बसाल्नुहुन्थ्यो। त्यसपछि उज्यालो नहुँदैको बिहान अगेनामा आमाले खरानी खोतल्दा अघिल्लो रातमा घुसारेर राखिएको आगो जस्तातस्तै देखिन्थ्यो। घुस्यान अर्थात् पराल वा खरको गुजुल्टो अगुल्टोको अंश रहेको आगोमा जोडेर फु.. फु.. गरेर आगो बाल्नुहुन्थ्यो। सुकेका पातपतिङ्गर थपेपछि आगो बल्थ्यो र साना आकारका दाउरा (झिक्रा) जोडेपछि आगोको आकार बढ्दै जान्थ्यो भने ठुला खालका दाउरा थपेपछि आगो अझै राम्रोसँग बल्दथ्यो।
त्यसपछि आमाले बिहान गाई-भैँसीका लागि कुँडो पकाउनुहुन्थ्यो। कुँडोलाई हाम्रो भेगतिर ‘दाना’ भनिन्छ। अनि बल्ल पिताजी उठेर पितलको बाल्टिन बोकेर निम वा सजिवनको सानो डालोले दाँत माझ्दै पधेरा पुग्नुहुन्थ्यो। त्यसपछि मात्र हामी छोराछोरीहरू ओछ्यानबाट उठ्थ्यौँ। पिताजीले नुहाइसकेपछि पधेरामा रहेको कुवा र धाराको छेउमा समीको बोटमुनि बसेर केही बेर जप गरेपछि मात्र बाल्टिनमा पानी भरेर नुहाउँदा फेरेर धोएका लुगा काँधमा राखेर घर आउनुहुन्थ्यो।
हजुरबाले झैँ पिताजीले हरेक बिहान पूजा गरेको चाहिँ मलाई याद छैन। सायद ठुलो परिवार भएका कारण व्यस्तताले गर्दा नै त्यसो भएको होला। मातापिताका चौध सन्तानमध्ये हामी आठ भाइबहिनी जीवित छौँ भने बाँकी छ जना भाइबहिनी बालकैमा बितेका थिए।
साउने संक्रान्ति अनि बलेको दियालो र अगुल्टो
हरेक वर्ष साउन एक गते अर्थात् साउने संक्रान्तिका दिन लुतो फाल्ने पर्व मनाउन उहिले हामी किशोरावस्थामा गाई चराउन वनमा गएका बखत करिब तीन फिट लम्बाइका चार वटा खामाखुट्टी (टुप्पोतिर काप परेका हाँगाहरू), जरै सितको खर, भलायोका पातहरू लिएर गोधुली साँझमा गाईगोरु लिएर घरमा फर्कन्थ्यौँ। चौपाया अघिअघि र हामी लौरो समाएर पछिपछि घर आएपछि गाईगोरु गोठतिर लाग्दथे र आफू नियमित बाँधिने खाँबो वा किलोनिर उभिन्थे।
आफू बाँधिने स्थान पहिचान गर्ने चौपायाको स्मरण शक्ति अहिले सम्झिँदा अचम्म लाग्छ। बारी जोत्दा गोरु दायाँ र बायाँ भनेर छुट्टाइन्थ्यो/छुट्टाइन्छ। दुई गोरुको काँधमा जुवा मिलाएर राख्दा दायाँ गोरु बायाँ र बायाँ गोरु दायाँ भयो भने जोत्न सकिँदैन। गोरुलाई त्यसरी उल्टोपाल्टो पारेर नारिएमा खेतबारीको जोताइ असन्तुलित हुन्छ। त्यसैले नयाँ-नयाँ जोत्नेवाला (हली) ले दायाँ गोरु कुन हो र बायाँ गोरु कुन हो भनेर सोधेर पहिचान गरेर मात्र जुवामा गोरु नार्नुपर्छ।
मकै पोलेर खाने समय
मेरो जन्मथलो रोल्पाको खुंग्रीमा रहेको गोधुङ खेतको फाँटमा सधैँ जडन धान रोप्ने चलन थियो। खेतमा चैतमा मकै रोपेर साउनमा भित्र्याउने गरिन्थ्यो। घरनिरको बारीमा भने वैशाख-जेठमा मकै रोपेर भदौमा मात्र भित्र्याइन्थ्यो/भित्र्याइन्छ। भदौको दोस्रो हप्तादेखि हरियो मकै पोलेर खाने भइसकेको हुन्थ्यो। घरका मान्छे विशेष गरी हामी साना बालबालिका र किशोरकिशोरीहरू अगेनाको वरपर बसेर मकै पोलेर खाएको र मही सननन पिउँदाको आनन्द कहिल्यै पनि बिर्सिने कुरा भएन।
हाम्रो गाउँघरमा एक दिन छोडेर मही पार्ने चलन थियो। मही पार्नका लागि काठको ठेकाको प्रयोग हुन्थ्यो भने दही जमाउनका लागि साना खालका ठेकीको प्रयोग हुन्थ्यो। मही मथ्नका लागि गाउँमा हाल सिलेबरका ठेका देखिदा नमजा लाग्ने गर्छ। पछिल्लो समय सजिलो भाँडाकुँडाको प्रयोग बढ्दै गएको पाइन्छ।
दियालो बाल्दा नाकको प्वाल बाहिर कालो जम्ने
उहिले हाम्रो गाउँघरमा मट्टितेल किन्नका लागि दाङको कोइलाबास आउजाउ गर्नुपर्दथ्यो। पिताजीले २०२५/२६ सालतिर शिक्षण पेसा छोडेर व्यापारमा लाग्नुभएपछि मट्टितेल लगायतका उपभोग्य सामग्रीहरू किन्न हामीलाई अन्त जानुपरेन। त्यस सालदेखि गाउँमा चलेको त्यति बेलाको पसल हाम्रो मात्र थियो। मट्टितेल प्रयोग हुने टुकीमा बल्ने आगोको उज्यालोमा पढ्दा कहिलेकाहीँ हाम्रो निधारमाथिको कपालको टुप्पो नै जल्थ्यो। त्यसै गरी अँध्यारोमा घरको भित्रबाहिर गर्दा बालिएको दियालोको कार्बन नाकभित्र पस्दथ्यो र नाकको प्वालको वरिपरि कालो ध्वाँसो देखिन्थ्यो। उहाँको आँगनको डिलमा सिन्दूरे आँपको बोट थियो भने आँपको बोट निरैबाट हाम्रो घरतिर बग्ने सानो कुलो थियो।
अरिङ्गालको गोलो जलाउने
कसै-कसैले अरिङ्गालको गोलोमा आगो लगाउने र अरिङ्गालका लार्भा-प्युपा खाने चलन अहिले पनि यथावत् छ। अरिङ्गालको बच्चालाई ‘छोरा’ भन्ने चलन छ हाम्रो गाउँतिर। कसैले त्यो पोलेकै खान्थे त कसैले घिउमा भुटेर पनि खान्थे। त्यस्तै बारुलोको गोलो पनि पोल्ने गरिन्थ्यो पहिले पहिले। साथै पखेटा उमारेको धमिरा अर्थात् छिचिमिरा समेत खाने चलन थियो गाउँघरमा। भुइँको प्वालबाट पखेटा सहितका धमिरा (छिचिमिरा) हुलका हुल सँगसँगै निस्कने गरेको मलाई राम्ररी सम्झना छ। छिचिमिरा तत्कालै उड्छन् र आकाशमा रहेका चराचुरुङ्गीहरूले आकाशमै चुच्चोले समातेर आहारा बनाउँछन्। बेलुकी अँध्यारो हुनुअघि अर्थात् सन्ध्याकालमा निस्कने गर्छन् धमिराका साथमा छिचिमिराहरू।
मुखबाट मट्टितेल फुरुरुरु पारेर आगोको ज्वाला निकाल्दा
मैले मुखभित्र मट्टितेल राखेर मुखबाट हावासँगै मट्टितेलका कणहरू (सूक्ष्म थोपा) बाहिर निकाल्थेँ र सलाई कोर्दा आगोको ज्वाला आफ्नो अनुहार अगाडि डरलाग्दो किसिमले गोलाकार भएर ठुलो देखिन्थ्यो अनि केटाकेटीहरू रमाउने गर्दथे। तर त्यो काम भने जोखिमपूर्ण नै थियो।
पटाका सल्काउँदा कचौरा नै रुखमा अड्कियो
हामी सानो छँदा घरको आँगनको छेउमा बाटोतिर एउटा फोर्सोको रुख थियो। त्यस रुखको मुनि छेउमा एक पटक पिताजीले इस्कुसको बिउ रोप्नुभयो, मंसिर लागेपछि मात्र फल्यो त्यो इस्कुस। एक दिन कसैले पटाका लिएर हाम्रो घरअगाडि पड्काउन खोजे। पटाकालाई कचौराले छोपियो र पटाकाको फ्युजको टुप्पो भने बाहिरै देखिने गरी राखियो। फ्युजको टुप्पोमा सलाई कोरेर आगो सल्काएपछि एकछिनमा विस्फोट भएर कचौरा निकै माथि पुग्यो। कचौरा आकाशबाट भुइँतिर झर्ने क्रममा फोर्सोको रुखको हाँगामा अड्किदा हामी छक्क परेका थियौँ।
परालको आगो र मकैको फूल
मंसिरतिर दाङमा ढुँडी (हुस्सु) लाग्ने गर्छ। हामी सानोमा दाङमा गएको बखत परालमा बलिरहेको आगोमा मकैका गेडा हालेपछि फुल उठ्थ्यो र खाने गर्थ्यौँ। किशोरावस्थामा मंसिर पुसको महिनामा दाङ गएको समयमा बेसाही, बुधौरा, पहरुवामा त्यसरी मकैको फूल खाने गरेको अहिले पनि सम्झना छ।
पोलेको गहुँको उभी वा वाह्रा
हाम्रो गाउँघरमा उहिले गहुँ काट्ने बखत गहुँको हरियो तर छिप्पिएको बालालाई अलग्गै टिपेर मुठा पारेर आगोमा पोलेर खाने चलन पनि थियो। पोलेको गहुँलाई राप्ती भेगतिर ‘उभी’ वा ‘वाह्रा’ भनिन्छ। अहिले गाउँघरमा पनि चाउचाउ र कुरकुरे जस्ता खाद्यवस्तु भित्रिएका कारण पुराना चलनचल्तीका खाजा खाने चलन हराउँदै गएको पाइन्छ। म कहिलेकाहीँ गाउँघरमा गएको बखत कतै पाहुना लाग्दा जाँदा ‘खाना के बनाऊँ’ भनेर कसैले सोधेमा मैले ‘मकैको आँटो (ढिँडो) र सिस्नो’ नै भन्ने गरेको छु। मेरो जवाफ सुन्दा र सबै छक्क पर्दा म आफै अचम्ममा पर्ने गर्छु। आधुनिक जीवनशैलीतिर ढल्किँदा मान्छेहरूको स्वास्थ्यमा जटिल रोगहरूको सामना गर्नु परिरहेको कुरा मैले अनुमान गरिहाल्छु।
जथाभाबी खोटो संकलन र सल्लोको फेदमा अग्निदहन
रोल्पातिर व्यावसायिक किसिमले खोटो संकलनका कामहरू भएको देखिन्छ। सल्लोको फेदमा ठुलै घाउ पारेर घाउको मुनितिर सोली टाँसेर खोटो संकलन गरिन्छ र टिनमा भरेर टर्पेन्टाइन उद्योगहरूमा आपूर्ति गरिन्छ। फेदमा ७५ प्रतिशत भागसम्म भ्वाङ पारेर दियालो काढ्ने र त्यसैमा आगो लगाउने चलन पहिले देखिकै हो, जुन पर्यावरणीय हिसाबले राम्रो होइन। सल्लो कमजोर हुने र बोटै सुक्ने हुँदा यसरी फेदमा आगो लगाउनु उपयुक्त ठानिँदैन। हाम्रो भेगतिर धेरै खोटो भएको सल्लोको दाउरालाई ‘दियालो’ र खोटो नभएकोलाई ‘कत्तर’ भनिन्छ।
ठोस्ने (चकमक) र झुलो
उहिले कसै कसैले धूम्रपानका लागि पटुकामा ठोस्ने (चकमक) र झुलो बोक्ने गर्दथे, अहिले सलाई वा लाइटर बोके झैँ। हामी सानो छँदा काटिएको केराको बोटको भित्री भाग अर्थात् गुभोलाई टुक्रा पारेर मादल झैँ बनाएर डोरीले घाँटीमा झुन्ड्याएर बजाए झैँ गर्थ्यौँ। त्यही गुभोबाट झुलो बनाएर सुकाएर राख्थ्यौँ पनि। साढे तीन दशक अघिसम्म गाउँघरमा मट्टितेल प्रयोग गरेर बालिने लाइटर प्रचलनमा थियो।
सुल्फा वा चिलिममा भरिँदाको आगो
२०३०/३२ सालसम्म हाम्रा पिताजीले पनि चिलिममा सुर्ती भरेर आगो सल्काएर धूम्रपान गर्नुहुन्थ्यो। त्यस सालपछि उहाँले धूम्रपान गर्न छोड्नुभएको मलाई राम्ररी सम्झना छ। गाउँघरका मान्छे जम्मा हुने र धूम्रपान गर्ने चलन एक प्रकारले सामाजिक चलन नै बनेको थियो। पिताजीले धूम्रपान गर्न छाडेपछि हामीहरू पनि खुसी भएका थियौँ। ‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सन्देशहरू हामीहरूले त्यति बेलादेखि नै रेडियो नेपालबाट सुन्ने गरेका थियौँ। ‘धूम्रपान’ भनिने वा उल्लेख गरिने त्यो शब्दलाई पछि आएर ‘धूमपान’ भनिन वा लेखिन थालियो।