आजभोलि बुझिने गरेको इन्टरनेट भन्ने चिज र म दुवै सँगसँगै जन्मेका हौँ। सन् १९८० को दशकमा। इन्टरनेट आएको झण्डै २० वर्षपछि सन् २००४ मा फेसबुक आएको रहेछ अनि युट्युब चाहिँ सन् २००५ मा। टिकटक त झन् त्यसको पनि दशकपछि सन् २०१६ देखि शुरुवात भएको रहेछ। अहिले एकछिन नभई नहुने यस्ता सामाजिक सञ्जाल आउनुभन्दा पहिलेको दिनचर्या सम्झिँदाको सुखानुभूति साँच्चै अद्भुत छ।
गाउँदेखि नै बस चढ्नु त धेरै परको कुरा भयो। पोखरा सहरको छेउछाउ आइपुगेपछि बल्ल ठूला बस चढ्न पाइन्थ्यो। बसमा प्रायः चर्को आवाजमा लोकप्रिय गीतहरू बज्थे। पोखरा आउने जाने क्रममा संयोगवश दुई/तीन पटकसम्म सरुभक्तले रचना गरेको र ब्रो सिस ब्यान्डले स्वर/संगीत भरेको 'चाइना कम्पनी' भन्ने गीत पूरा सुनियो। यात्रामा सुनिएका गीतहरूले मलाई अलि छिटो प्रभाव पार्थे। हृदयलाई कम्पन गराउँथे।
नबोले नि माया लाग्ने रैछ सान्नानी
दिलको कसम दिलैमा नत्र जान जानी
चाइना कम्पनी, चाइना कम्पनी।।
लोकपप शैलीको यो मिठो गीत मुखैमा झुन्डिन थाल्यो। गीत मात्रै मन परेर त के हुन्थ्यो र! मनले त हुँदै नभएकी सान्नानीको खोजी गर्न थाल्यो।
मनका ती सान्नानीहरू बसमा कहिल्यै भेटिइनन्। आजको समय हुँदो हो त आफूले चिताएजस्ती सान्नानी एआईले पनि बनाउँदो हो। तर त्यतिबेला एआई भने पनि इन्टरनेट भने पनि उही आफ्नो कल्पनाशक्ति थियो। कल्पनाका सान्नानीहरू एकैछिन आउँथे अनि उतिबेलै हराउँथे। बिजुली चम्केजस्ता सान्नानीहरू हराए पनि मेरो दैनिकी त थियो नै। फुर्सद भए क्याम्पस जानेआउने नत्र नागरिकता बनाउने, पासपोर्ट निकाल्ने, सवारी चालक अनुमति पत्र निकाल्ने, आयश्रोतको कागज बनाउने, बैंक, नोटरी, एम्बेसी, भिसा, टिकट आदि इत्यादि।
गाउँ कता हो त नि भन्नुहोला। तपाईंको गाउँ नै मेरो गाउँ हो। मेरो गाउँ नै तपाईंको गाउँ हो। अझै चिन्नुभएन भने पनि भन्छु। उनै सरुभक्तको 'पागल बस्ती' कै सेरोफेरो हो मेरो गाउँ।
गाउँबाट पोखरा सहर अनि पोखरा सहरबाट सात समुद्रपारिको अझ ठूलो मेलबोर्न सहर आइपुगेको पनि दुई दशक भएछ। धर्ती उही हो, आकाश उही हो तर समुन्द्रको छेउछाउमा हावा अर्कै बहन्छ। परिवेश ब्यान्डका तिलक बम मल्लले गाए जस्तै लुम्लेको हावाले मुटु छुन्थ्यो। फेदी, सुइखेत, मिलनचोक, यम्दीको हावाले त लजालु मायाले जस्तै मनै छुन्थ्यो। आफ्नो मन। आफ्नोपन।
मेलबोर्नको हावाले के लिएर आउँछ कुन्नि। न मुटु छुन्छ, न मन। शरीरको स्पर्श गरेर जान्छ। धन्न प्राण भने धानेको छ। लुम्लेदेखि हरीचोकसम्मको हावाको अत्यास लागेको बेला दुई दशकमा आधा दर्जन पटक त्यो मनै छुने हावाको स्पर्श गर्न फर्केको छु। यसपालि आउँदा चाहिँ 'चाइना कम्पनी' ताकाका स्मृतिका चिन्हहरू सबै हराएछन्। तर स्मृतिहरू भने झन् जुर्मुराएर आए।
त्यसबेला 'चाइना कम्पनी' गीत सुन्दा सान्नानी सिर्जना हुन्थिन्। तर अहिले त्यही गीतका शब्दहरू आफ्नै जीवनको जीवन्त दस्तावेज बनेजस्तो लाग्छ। आज मसँग सबै कुरा छ। तर एउटा कुराको अभाव छ: 'चाइना कम्पनी' गीतको समयका जीवन्त अनुभूतिहरू र आफ्नो मौलिक पहिचानको सुवास। यम्दीको साँघुरो र चिसो घुम्ती पनि चौडा र फराकिलो भइसकेछ। हावा अर्कै बहन थालेछ। एक तमासले पर्खेर बसेको यो मन त्यसै अमिलियो। अर्कै मन। अर्कै पन।
पोखरामा बस्दा र गाउँ आउँदा जाँदाका भन्दा बेजोड स्मृतिहरू त गाउँको बसाइका छन्। धेरै कोठा नभएको तर लामो पिँढीसहितको ढुंगामाटोले बनेको घरले एउटा ठूलो परिवारलाई ढुक्कको आश्रय दिएको थियो। परिवारमा सबै साइनोहरू जीवन्त थिए: हजुरबुवा, हजुरआमा, बा, आमा, दाइ, दिदी, बहिनी, अंकल, अन्टी, भतिजा, भतिजी आदि। यसो सोच्दा लाग्छ, कसरी अटियो होला? अहिले भए कति वटा कोठा भएको घर चाहिँदो हो!
त्यो बुढो घरमा के थिएन र! घरको एउटा सम्पूर्ण प्याकेज थियो त्यो। कहिलेदेखि हो पत्तै भएन तर ठूलो खिर्राको बोटमा आश्रित भएर फैलिएको रातो फुल्ने पलाँसको फूलले तगारोबाट सधैं स्वागत गर्थ्यो। फराकिलो आँगन, तुलसीको मठ, कपडा सुकाउने साटो, भाँडा माझ्ने जुठेल्नो, माटो राख्ने मडकेल्नो, ढिकी, जाँतो, कटेरो, धन्सार, मलखाद, मकैको सुली, परालको टौवा, गाई, गोरु, भैंसी, बाख्रा; आरु, बेलौती, नास्पती र क्युँ काफलका बोटहरू; कर्कलो, इस्कुस, साग, मुला, अदुवा, बेसार आदि लगाउने बारी आदि इत्यादि।
मेरा स्मृतिहरूको एउटा बलियो खम्बा हजुरबुवा र हजुरआमा हुनुहुन्थ्यो। उहाँहरूसँग बिताएका पलहरू, माया र संस्कारको ओत लागेको त्यो पुरानो बुढो घर समयसँगै छिन्नभिन्न भयो। एउटा साँघुरो भान्सामा एउटै ठूलो कसौडी र कालो कराईले सबैको पेट भरेको थियो। हजुरबुवा हजुरआमाको स्वर्गको बसाइ त कस्तो छ कुन्नि। अलौकिक संसारमा जानुभयो। बाँकी हामी सबै यही लोकमा छौँ तर प्रत्येक साँझ बिहान छुट्टाछुट्टै दस ठाउँमा खाना पकाएर खान बाध्य छौँ।
सायद समयको चपेटामा पर्यो। त्यो बुढो घर पछि आफैँ भत्कियो। घर मात्र भत्किएन, त्यससँगै बाल्यकालको एउटा स्वर्णिम अध्याय पनि ढल्यो। त्यसबीचमा बा-आमाले परानको टेको लगाएर बुढो घरको नजिकै अर्को घर बनाउनुभयो। त्यो घरले हजुरबुवा हजुरआमालाई फिर्ता त ल्याएन तर बुढो घरले जस्तै एउटा सम्पूर्ण प्याकेजको आश्रय दियो।
अष्ट्रेलिया जाने भनेर हिँड्ने बेलामा गलाबाट केही पनि आवाज नआएपछि त्यही घरको आँगनबाट बा, आमा, बहिनी र आफन्तजनलाई बिदाइको हात हल्लाएको थिएँ। जन्मेदेखि हरबखत सँगै भएकी एउटी मात्र बहिनी पञ्चे बाजाको साथ त्यही घरको आँगन छोडेर जाँदा डाको छोडेर रोएकी थिई।
त्यो बा-आमाले बनाएको घरले पनि अब गाउँमा आफ्नो उपयोगिता सिद्ध गर्न सकेन। गाउँघरमा पनि धमाधम पक्की घरहरू बन्न थाले। छरछिमेकीहरूबाटै बाटोबाट 'ए गुरुबा', 'क्यार्न लाउनुभछ, काइली आँ?' भन्दै ह्वात्तै मझेरीसम्म पुग्न सकिने गहन आतिथ्यता बोकेका घर अब पुराना भएछन्। जीर्ण देखिन थालेछन्। त्यसैले अब ढुङ्गा माटोको होइन, फलाम र कंक्रिटको घर बनाउनु पर्ने भयो।
अरूले जस्तै घरको अगाडि अग्लो पर्खाल र ठूलो गेट बनाएर मानिसहरूलाई बाहिरै रोक्नु पर्ने भयो। तसर्थ त्यही ठाउँमा आधुनिक घर बनाउने योजना बन्यो। बा-आमाले रगत र पसिना बगाएर बनाएको त्यो दोस्रो घर पनि हामीले भत्कायौँ। अहिले त्यहाँ एउटा आधुनिक शैलीको कङ्क्रिटको भवन ठडिँदै छ।
हुन त आज मेलबोर्न सहरमा मेरा दुई वटा घरहरू छन्। हालसालै किनेको दोस्रो घर त झन् आलिशान छ। संसारको जुनसुकै कुनाबाट एउटा रोबोटलाई विद्युतीय निर्देशन दिएर घरको कुना-कुना सफा गराउन मिल्छ। म अर्को गोलार्धमा पुगेको बेला पनि घरका गतिविधिहरू छिनछिनमा रिपोर्ट गरिरहन्छ। घर सजाउनका लागि चल्तीका र आधुनिक सामग्रीहरूको कुनै कमी छैन। तर यो विलासिताका बीचमा पनि मेरो मन भने सधैं कता कता अतृप्त रहिरह्यो। रोबोटिक र कङ्क्रिटको सञ्जालभरि मेरो बाल्यकाल र किशोरावस्थाका दुईओटा घरहरूको सुवास थिएन।
त्यसैले, बा-आमाले बनाएको हाम्रो 'घर' भत्काउने योजना भएपछि मेरो मनमा एउटा इच्छा जाग्यो— मेलबोर्न सहरको रोबोटिक घर र गाउँमा अहिले बन्दै गरेको कंक्रिटको घरका बैठक कक्षमा त्यो पुरानो बुढो घर, बा-आमाले बनाएको घर र ती दुई घरहरू वरिपरिको सबै परिवेशलाई सकेसम्म एउटै भव्य क्यानभासमा उतारेर जीवन्त राख्ने। एउटै चित्र दुई वटा बनाउने। एउटा मेलबोर्नको घरमा राख्ने अनि अर्को गाउँको नयाँ घरमा राख्ने।
यही इच्छालाई मनमा लिएर यसपटक छोटो छुट्टी मिलाएर नेपाल आएँ। परिवारका साथ। नेपाल आउने औपचारिक र पारिवारिक कारणहरू अरू नै भए पनि छिटोभन्दा छिटो मेरो मानसपटलमा रहेका स्मृतिहरू एउटा क्यानभासमा उतार्नु भावनात्मक ध्येय थियो।
गाउँ आइपुगेको दुई दिनपछि पोखरा झरेँ। मेरो मानसपटलमा रहेको तस्बिरलाई क्यानभासमा दुरुस्त उतार्न सक्ने कुशल कलाकारको खोजी गर्नु थियो। बुझ्दै जाँदा मेरो भेट 'नेपाल आर्ट्स तथा मूर्ति केन्द्र' का बाबुराम बस्ताकोटीजीसँग भयो। कला वास्तवमै कति अद्भुत र शक्तिशाली विधा रहेछ भन्ने कुरा मैले उहाँसँग संवाद गर्दा राम्रोसँग महसुस गरेँ।
मैले आफ्नो बाल्यकाल, त्यो पुरानो घर, गाउँको वातावरण र मेरा भावनाहरू उहाँका अगाडि पोखेँ। उहाँले मेरो भावनालाई गहिरोसँग बुझ्नुभयो। तर मैले सोचे जस्तो सहज थिएन कला सिर्जना। मैले भनेअनुसारको चित्र पूर्ण रूपमा तयार गरेर लैजान यो छोटो समयमा सम्भव हुने देखिएन। यद्यपि तयार गरेर राखिरहनको लागि मैले मेरा स्मृतिहरू उहाँलाई बताएँ।
यसका लागि उहाँलाई दुई पटक भेटेर संवाद गरेँ। केही अन्तरंगहरू भए। एउटा प्रसंगमा उहाँले बडो सहज ढङ्गले भन्नुभयो, 'पृथ्वी चोक मैले बनाएको हो नि!' पृथ्वी चोक अर्थात् तत्कालीन पोखराको प्रवेश विन्दु। पृथ्वी चोक बनाउने भनेको के होला? मैले बुझिनँ। 'भन्नाले?' मैले प्रश्न गरेँ। 'पृथ्वी चोक भनेर नाम राखेको मैले हो' उनले स्पष्ट पारे।
पोखरा सहरको एक महत्त्वपूर्ण व्यापारिक तथा यातायात केन्द्रको रूपमा रहेको र नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको सालिक राखी उनैको नामबाट नामकरण भएको 'पृथ्वी चोक' नाम राख्ने मानिस यति साधारण हुन सक्छ र? अनि त्यो बेला नाम राख्ने मानिस भर्खरको आजको बाबुराम त झन् कसरी हुन सक्छ? म अझै अल्मलिएँ।
बाबुराम भन्छन्: सरकारी लिखतका कुनै कागजातमा 'पृथ्वी चोक' भनेर लेखियो कि लेखिएन थाहा भएन तर स्थानीय स्तरमा लेखिने साइनबोर्डदेखि बोलीचालीमा 'पृथ्वी चोक' कहीँकतै भनिँदैनथ्यो। 'चाइना चोक' नै भनिन्थ्यो।
आधुनिक पोखराको चाइना सम्बन्ध बुझ्न अलि अगाडि जानुपर्छ। विसं २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आए। पोखराको सुन्दरता देखाउन प्रधानमन्त्री बिपी कोइरालाले आफ्ना चिनियाँ समकक्षीलाई आफैँले पोखरा लिएर आए। पोखराको सुन्दरताबाट मोहित भएका चिनियाँ प्रधानमन्त्रीको यो भ्रमणले पृथ्वी राजमार्ग निर्माणको आधार तयार गर्यो।
उनको भ्रमणको पाँच वर्षपछि विसं २०२२ देखि २०३१ सम्म नौ वर्ष लगाएर चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालको राजधानी काठमाडौँलाई पोखरा सहरसँग जोड्ने पृथ्वी राजमार्गको निर्माण सम्पन्न भयो। धादिङको नौबिसेबाट सुरु हुने १७३.४३ किलोमिटर लामो पृथ्वी राजमार्गको पश्चिमतर्फको अन्तिम विन्दु हो पृथ्वी चोक।
चिनियाँ सरकारको पोखरा सम्बन्ध यतिमै सीमित भएन। पछि विसं २०३८ सालतिर सिङ्गो पोखरालाई सिँचाइ गर्ने गरी चिनियाँ सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सेती सिँचाइ योजना सुरु भयो। पोखराको टुँडिखेल नजिकै पर्ने जौबारीमा बाँध बनाई विद्युत उत्पादन र सिँचाइ दुवै हुने गरी करिब साढे सात किलोमिटर लामो सेती नहर निर्माण भयो र २०४२ सालदेखि नहर सञ्चालनमा आयो। उक्त परियोजनाले पोखराको कृषिमा ठूलो योगदान गर्यो।
यसरी २०२२ सालबाट २०४२ सालसम्म २० वर्षको अवधिमा चिनियाँ सहयोगमा पोखरालाई केन्द्रमा राखेर निर्माण गरिएका ऐतिहासिक दुई विकास परियोजनाहरू सम्पन्न हुँदा ‘चाइना कम्पनी’का चिनियाँ प्राविधिक र कामदारहरूको पोखरामा बाक्लो उपस्थिति भयो। पोखराको जनजीवनको हिस्सा बन्यो चाइना कम्पनी। हालको पृथ्वी चोकलाई बोलीचालीमा 'चाइना चोक' भनियो। चोकको नजिकै राजमार्गकै हिस्साको रूपमा रहेको पुललाई 'चाइना पुल'।
मायाप्रेम चाहिँ भूगोल र भाषाको सीमाभन्दा माथि हुँदो रहेछ। यही चाइना कम्पनीको कामको सिलसिलामा गिट्टी अनि बालुवासँगै झ्याङ्गिएको प्रेम कथालाई टपक्क टिपेर 'चाइना कम्पनी' गीत बनाएका रहेछन् सरुभक्तले। पोखराको चाइना सम्बन्ध बुझ्दै गएँ। राष्ट्रप्रमुखहरूको औपचारिक विदेश भ्रमणले ल्याउनसक्ने परिवर्तन र विकास देखेर दङ्ग परेँ। शीर्ष राजनीतिज्ञहरूको भिजनको महत्त्व बुझेँ। अनि फेरि एकपटक मनमनै गुनगुनाएँ उही 'चाइना कम्पनी' गीत।