कक्षा १२ को अन्तिम परीक्षा सकिएको त्यो क्षण। अब आउने समयमा के गर्ने होला, कुन विषय रोज्ने होला र भविष्यमा म के बन्ने होला जस्ता सयौँ प्रश्नहरूले घेरिएको त्यो मन र मस्तिष्क। अहिले सम्झिँदा लाग्छ, ती प्रश्नको जवाफ पाउन नसक्नु नै मेरो जिन्दगीको सबैभन्दा ठुलो चुनौती थियो। आफ्नो 'करियर' को सवाल जो थियो।
कक्षा १२ बाट पासआउट भएको पाँच वर्ष भइसक्यो। पाँच वर्ष बितिसक्दा के मैले आफ्नो करियर बनाउन सफल भएँ त? त्यति बेला मैले जे कुरालाई चुनौतीको रूपमा लिएको थिएँ, के ती सबैको सामना गर्न म सफल भएँ? या सफलताको परिभाषा नै बद्लियो? यी सबै प्रश्नको जवाफ म आफ्नै कथामार्फत दिन चाहन्छु।
स्कुल लेबलदेखि प्लस-टु सम्म आइपुग्दा म राम्रो विद्यार्थीमा गनिन्थेँ। सधैँ आफ्नो होमवर्क गर्ने, परीक्षामा राम्रो अंक ल्याएर पास हुने एक आज्ञाकारी विद्यार्थी। म कहिल्यै फेल भइनँ। त्यसैले मेरो अभिभावक लगायत नजिकका आफन्तलाई मबाट धेरै अपेक्षा थियो। मलाई पनि सबैथोक मैले सोचेको जस्तै सरल र सहज हुन्छ जस्तो लाग्थ्यो। सुरुवात त्यसरी नै भएको पनि थियो।
मैले ब्याच्लर्समा टिचिङ अस्पतालमा बिपिएच विषयमा एडमिसन पाएँ। नयाँ अध्याय सुरु हुँदै थियो, त्यसैले म एकदमै उत्साहित थिएँ। सुरुका केही दिनहरू ठिकठाक बित्दै थिए। नयाँ साथीहरू बनाउने, शिक्षकहरू चिन्ने र कलेजको वातावरणमा घुलमिल हुने जस्ता कुराहरू भइरहेका थिए।
केही महिना बितिसकेपछि मैले आफूमा केही परिवर्तन महसुस गर्ने थालेँ। म पहिले जस्तो रमाउन छाडेकी थिएँ। साथीहरूबाट टाढा हुँदै गएँ। पढाइमा ध्यान जान छाड्यो। मलाई पहिले मनपर्ने कुराहरू मन पर्दैन थियो। आफूलाई कोठाभित्र बन्द गरेर राख्थेँ र खाना पनि खान छाडिदिएँ। यो सबै कुरा एक-एक गर्दै भइरहेको थियो त्यसैले म आफैँबाट अलग्गिँदै थिएँ। खुसी हुँदा कस्तो महसुस हुन्छ, त्यो कुरा म बिर्सिँदै थिएँ।
मैले मेरो अवस्था बारे घरमा जानकारी दिएकी थिएँ। मैले धेरै बल जुटाएर डाक्टरकहाँ जाँदा डिप्रेसन र एन्जाइटीका लक्षणहरू देखियो। डाक्टरको सल्लाहअनुसार औषधी लिन थालेँ र हप्तैपिच्छे मनोचिकित्सककहाँ गएर थेरापी लिएँ।
केही कुराको पर्बाह नगरीकन हिँडिरहेको बेला अचानक माथिबाट पर्खालले आफूलाई थिचेको र त्यहाँबाट निस्किन असम्भव झैँ लागिरहेको बेलामा मैले एउटा कठिन निर्णय लिएँ। मैले टिचिङ अस्पतालको पढाइ छाडिदिएँ। यो कुराले गरेर मलाई भन्दा बढी पिर मेरा बा-आमालाई पर्यो।
‘कहिल्यै फेल नभएकी छोरी आफ्नो जीवनको लक्ष्य पूरा गर्ने क्रममा फेल भई।’
त्यति बेला म आफ्नो लागि अब केही पनि गर्न सक्दिनँ जस्तो लागेको थियो। मेरो मनोबल पुरै घटेको थियो। म कुनै आफन्तकहाँ गएँ भने मलाई अर्कै नजरले हेरिन थालियो, मानौँ मैले गर्नै नहुने काम गरिदिएँ। ‘अब तैँले पढाई छाडिहालिस्, केही पनि गर्न सक्दिनस्’ जस्तो अभिव्यक्ति सुनाइयो। मेरो मानसिक स्वास्थ्य कमजोर भइरहेको बेलामा यस्ता कुराले मलाई झन् बढी असर गर्थ्यो।
म असफलताको पहिलो खुड्किलो चढ्दै थिएँ जसले मलाई सफलताको मार्गमा डोर्याउँदै थियो।
मेरो परिवारको साथ, सहयोग, आफैप्रतिको विश्वास र सही उपचारले गर्दा म बिस्तारै ठिक हुँदै गएँ। मेरो आत्मबल बढ्दै गयो। मैले कसैको पर्बाह नगरी आफूलाई मन लाग्ने कुरामा रमाउन थालेँ र मलाई फेरि आफ्नो पढाइमा निरन्तरता दिन मन लाग्यो।
मानसिक स्वास्थ्यको बारेमा अझै जान्न र बुझ्न मन भएर मैले मनोविज्ञान विषय रोजेँ। मलाई यही क्षेत्रमा केही गर्नु थियो, त्यसैले भर्ना भएको पहिलो वर्षमा नै आफ्नो नाममा कम्पनी दर्ता गरेँ।
तेस्रो वर्षमा आइपुग्दासम्म मैले धेरै कुरा सिक्ने मौका पाएँ। आफूबाट भएका गल्तीलाई स्विकार्न सिकेँ र त्यसलाई सुधार्ने विभिन्न तरिकाहरू अपनाएँ। वर्तमान समयमा आफू माथिको विश्वास र काम प्रतिको लगाव देखेर म सन्तुष्ट महसुस गर्छु। आफूले जस्तै मानसिक रूपमा संघर्ष गरिरहेका धेरै जनालाई सेवा दिन पाएकोमा म आफैप्रति गर्व गर्छु।
विगतको समयमा फर्किएर हेर्दा म यहाँसम्म आइपुग्नेमा त्यही एउटा असफलताको ठुलो हात छ। यहाँसम्म आइपुग्दा मेरो लागि सफलताको परिभाषा फेरिएको छ। मेरो लक्ष्य भनेको जागिर खाएर आफ्नो लाइफ सेट गर्नु हैन। दिनदिनै नयाँ कुरा सिकेर र चुनौतीको सामना गरेर त्यहाँबाट केही सिक्नु नै मेरो लक्ष्य हो। मलाई अहिले केही कुरा देखि डर लाग्दैन। म जस्तोसुकै अवस्थामा पनि खुसी भएर बस्न सक्छु।
त्यो कठिन परिस्थितिबाट आफूलाई उठाएर यहाँसम्म ल्याउनु नै मेरो लागि सफलता हो। त्यसैले असफलतालाई अँगाल्न सक्नु नै सफलताको एक मात्र उपाय हो।