क्यान्सर एक प्राणघातक रोग हो, जसले प्रत्येक वर्ष करिब एक करोड मानिसको ज्यान लिन्छ। तथ्याङ्कअनुसार, प्रत्येक पाँचमध्ये एक जना व्यक्तिलाई आफ्नो जीवनकालमा कुनै न कुनै क्यान्सर हुने सम्भावना हुन्छ। त्यसैले यो केवल स्वास्थ्य समस्या मात्र नभई, विश्वव्यापी रूपमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती हो।
यो कुनै नयाँ रोग होइन; यसको उत्पत्ति बहुकोषीय जीवहरूको विकाससँगै जोडिएको मानिन्छ। जब जीवहरू जटिल बने, तब कोषहरूको वृद्धि र नियन्त्रणबिच सन्तुलन कायम राख्न आवश्यक भयो। यही सन्तुलन बिग्रँदा क्यान्सरजस्तो अवस्था उत्पन्न हुन्छ। प्राचीन इजिप्टका ममीहरूमा गरिएको अध्ययनले पनि यसको इतिहास हजारौँ वर्ष पुरानो भएको देखाउँछ, जहाँ विशेष गरी उत्खनन गरिएका अवशेषका हड्डीमा क्यान्सरका स्पष्ट प्रमाणहरू फेला परेका छन्।
क्यान्सर उपचारको विकास
शताब्दीयौँदेखि मानव जातिले क्यान्सरलाई बुझ्न र उपचार गर्न निरन्तर प्रयास गर्दै आएको छ। शल्यक्रिया यसको सबैभन्दा पुरानो उपचार विधिमध्ये एक हो, जुन विभिन्न रूपमा सयौँ, नत्र हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको छ। तर क्यान्सर उपचारको आधुनिक युग भने धेरैपछि सुरु भयो। उन्नाइसौँ शताब्दीको अन्त्यतिर मेरी क्युरीले रेडियोधर्मिताको खोज गरेपछि विकिरण उपचारको आधार तयार भयो, जसले बिसौँ शताब्दीको सुरुवातमा उपचारको महत्त्वपूर्ण साधनको रूप लियो। आज हामीले बुझ्ने औषधिजन्य क्यान्सर उपचार भने बिसौँ शताब्दीको मध्यतिर मात्रै स्पष्ट रूपमा विकसित हुन थाल्यो।
१९४० को दशकमा एउटा निर्णायक मोड आयो, जब सिड्नी फार्बरले बोस्टनमा रगतको क्यान्सर भएका बालबालिकामा परीक्षण उपचार गरे। उनले रासायनिक औषधिहरूले रोगलाई कम्तीमा केही समयका लागि नियन्त्रणमा ल्याउन सक्ने देखाए। १९७१ मा अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले ‘क्यान्सरविरुद्ध युद्ध’ घोषणा गरे, जसले अनुसन्धानमा व्यापक लगानी र तीव्र गति ल्यायो।
‘ह्युमन–जीनोम प्रोजेक्ट’को समापनसँगै क्यान्सरलाई जीन र अणुस्तरमा बुझ्ने नयाँ ढोका खुल्यो, जसले लक्षित उपचार (टार्गेटेड थेरापी)को युगलाई अघि बढायो। यस प्रकारका उपचारमा क्यान्सर उत्पन्न गराउने विशेष आनुवंशिक परिवर्तनहरू लक्षित औषधि प्रयोग गरिन्छ, जसले क्यान्सर कोषहरूलाई चयनात्मक रूपमा नष्ट पार्दछ। यद्यपि, यो पूर्ण रूपमा केवल क्यान्सर कोषमै सीमित हुँदैन, तर पारम्परिक केमोथेरापीभन्दा बढी सटीक हुन्छ। अझ पछिल्ला वर्षहरूमा, हाम्रो आफ्नै प्रतिरक्षा प्रणालीलाई सक्रिय पारेर क्यान्सरसँग लड्ने इम्युनोथेरापीले क्यान्सर उपचारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। विशेष गरी मेलानोमा जस्ता क्यान्सरमा यसले दीर्घकालीन र शक्तिशाली प्रतिक्रिया देखाएको छ, जसको विकासलाई २०१८ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो।
क्यान्सरमुक्त: एक भ्रम?
पहिले क्यान्सरको निदान प्रायः मृत्युदण्डसरह मानिन्थ्यो। तर आज त्यो धारणा धेरै हदसम्म बदलिएको छ। धेरै क्यान्सरहरू अब प्रभावकारी रूपमा उपचार गर्न सकिन्छन्, र केही अवस्थामा पूर्ण रूपमा निको पनि हुन सक्छन्। शल्यचिकित्सकहरूले ट्युमरका किनारालाई सूक्ष्म रूपमा पहिचान गरी अत्यन्त सटीकतासाथ ट्युमर हटाउन सक्छन्। विकिरण उपचारले आँखाले नदेखिने बाँकी रोगलाई पनि लक्षित गर्छ र औषधिजन्य उपचारले शरीरभर फैलिएका क्यान्सर कोषहरूलाई नष्ट गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
पेट–स्क्यान जस्ता निदान प्रविधिहरूले शरीरमा देखिने रोग नदेखिएको अवस्थामा ‘रोग नियन्त्रण’ भएको संकेत दिन्छन्। त्यसपछि बिरामीलाई प्रायः प्रत्येक छ महिनामा निगरानीमा राखिन्छ। यस प्रक्रियासँगै डर बिस्तारै आशामा रूपान्तरण हुन थाल्छ र बिरामीले आफू क्यान्सरमुक्त भएको अनुभूति गर्न थाल्छ। बिरामी र परिवारमा खुसीका क्षणहरू पलाउन थाल्छन्। तर यो आशा प्रायः स्थायी हुँदैन।
‘रिल्याप्स’को झट्का
केही बिरामीहरू पूर्ण रूपमा निको भएजस्तो देखिए पनि धेरै अवस्थामा क्यान्सर फेरि फर्किन सक्छ— जसलाई ‘रिल्याप्स’ भनिन्छ। यो कहिले महिनौँपछि, कहिले वर्षौँपछि र कहिलेकाहीँ त दशकौँपछि पनि देखा पर्न सक्छ। फर्किएको क्यान्सर पहिलेको स्थानमै वा शरीरका टाढाका अंगहरूमा फैलिएको (मेटास्टाटिक) अवस्थामा देखिन सक्छ।
यसरी पुनः देखापरेका ट्युमरहरूमा पहिले प्रभावकारी रहेका औषधिहरू प्रायः काम गर्न गर्दैनन्। क्यान्सर कोषहरूमा समयसँगै भएका आनुवंशिक तथा जैविक परिवर्तनहरूले उपचारबाट बच्न र अझ आक्रामक रूपमा फैलिन सक्षम बनाउँछ। त्यसैले एक पटक जितिसकेको जस्तो लागेको लडाइँ पनि अचानक फेरि सुरु हुन सक्छ— लुडो खेलमा उनान्सयमा पुगेपछि सर्पले एकैचोटि शून्यमा झारेजस्तै।
यस विनाशकारी रिल्याप्सको मूल कारण प्रायः सुतिरहेका तर ‘टाइम बम’ झैँ लुकेर बसेका ‘सुप्त क्यान्सर कोषहरू’ हुन्। यी कोषहरू वर्षौँ निष्क्रिय अवस्थामा बाँचिरहन सक्छन् तर अनुकूल अवस्था पाएपछि अचानक ज्वालामुखीझैँ कुनै पनि समयमा विस्फोट हुन सक्छन्। जनावरका नमुनामा गरिएका अध्ययनहरूका अनुसार यस्ता कोषहरू मुख्य ट्युमर पत्ता लाग्नुअघि नै त्यहाँबाट छुटेर शरीरका टाढाका अंगहरूमा पुगिसकेका हुन्छन् जहाँ लामो समयसम्म सुप्त अवस्थामै लुकेर बस्न सक्छन्।
के हुन् 'सुप्त' क्यान्सर कोषहरू?
सुप्त क्यान्सर कोषहरू त्यस्ता कोषहरू हुन्, जसले सक्रिय रूपमा बढ्नुको सट्टा लामो समयसम्म निष्क्रिय वा ‘सुतिरहेको’ अवस्थामा टिकिरहन सक्छन्। यस अवस्थालाई कोषीय सुप्तता भनिन्छ, जहाँ कोषहरू जीवित त रहन्छन् तर विभाजन गर्दैनन् वा अत्यन्तै धीमा गतिमा मात्र विभाजन गर्छन्। यसैले यो क्यान्सरको एक प्रकारको अदृश्य वा ‘निद्रित’ चरण हो।
यो अवस्था एकल कोषको रूपमा हुन सक्छ, जहाँ एउटा कोष लामो समयसम्म विभाजन नगरी बसिरहन्छ; वा साना कोष समूहहरूमा देखिन सक्छ, जहाँ कोष विभाजन र कोष मृत्युबिच सन्तुलन कायम रहन्छ, जसले समग्र ट्युमर वृद्धि हुन दिँदैन। यस्तो सन्तुलित अवस्था बाहिरबाट स्थिर जस्तो देखिए पनि भित्र सूक्ष्म जैविक गतिविधि भइरहेका हुन्छन्। यही कारणले गर्दा, यस चरणमा रोगका स्पष्ट क्लिनिकल संकेतहरू देखिँदैनन् र परम्परागत निदान विधिहरूबाट यस्ता कोषहरू पत्ता लगाउन कठिन हुन्छ।
सुप्त क्यान्सर कोषहरूको चतुर खेल
सुप्त क्यान्सर कोषहरू अहिले उपलब्ध उपचारहरूको एक आधारभूत कमजोरीलाई उपयोग गर्दै शरीरमा लामो समयसम्म टिकिरहन सक्षम हुन्छन्। अधिकांश औषधिजन्य (केमोथेरापी) र विकिरण उपचारहरू छिटो विभाजन भइरहेका कोषहरूलाई लक्षित गरी नष्ट गर्न बनाइएका हुन्छन्। तर सुप्त क्यान्सर कोषहरू सक्रिय रूपमा विभाजन गरिरहेका हुँदैनन्, जसका कारण ती यस्ता उपचारको प्रभावबाट प्रायः जोगिन्छन्।
यससँगै, यी कोषहरूले प्रतिरक्षा प्रणालीबाट पनि चतुराइपूर्वक उम्किन सक्छन्। तिनीहरूले प्रतिरक्षाले पहिचान गर्न प्रयोग गर्ने जैविक संकेतहरू घटाएर वा परिवर्तन गरेर आफूलाई प्रतिरक्षा कोषहरूको नजरबाट टाढा राख्छन्। साथै, तिनीहरू पुगेका अंगहरूको सूक्ष्म वातावरणले पनि तिनीहरूलाई प्रतिरक्षा आक्रमण र उपचार दुवैबाट जोगाउन सहयोग पुर्याउँछ। यसरी उपचारप्रतिको प्रतिरोध, प्रतिरक्षाबाट लुक्ने संयन्त्र र सहयोगी वातावरणको संयोजनले सुप्त क्यान्सर कोषहरूलाई कहिलेकाहीँ वर्षौँसम्म टिकिरहन सक्षम बनाउँछ— जबसम्म कुनै परिवर्तनले तिनीहरूलाई फेरि सक्रिय बनाउँदैन।
सुप्त क्यान्सर कोषहरू कसरी ब्युँझिन्छन्?
अनुसन्धानहरूका अनुसार ‘सुप्त’ क्यान्सर कोषहरू ब्युँझिनुमा तिनीहरू पुगेका अंगको सूक्ष्म वातावरणमा हुने सूजन (इन्फ्लामेसन) महत्त्वपूर्ण हुन्छ। चोट, संक्रमण वा अन्य कारणले शरीरका विभिन्न अंगमा दीर्घकालीन सूजन उत्पन्न हुन सक्छ। जस्तै प्रदूषित वातावरणमा सास फेर्दा फोक्सोमा सूजन बढ्न सक्छ, वा अत्यधिक प्रशोधित खाद्य पदार्थको सेवनले पाचन प्रणालीका अंगहरूमा सूजन बढाउन सक्छ। यस्तो अवस्थामा सुप्त क्यान्सर कोष वरपर रहेका गैर-क्यान्सर कोषहरूबाट कोष विभाजन र वृद्धि गराउने संकेत अणुहरू उत्सर्जित हुन्छन्, जसले ‘सुतिरहेका’ कोषहरूलाई फेरि सक्रिय भई बढ्न प्रेरित गर्न सक्छ। त्यसैगरी, उमेरसँगै तन्तुको सूक्ष्म वातावरणमा सूजन क्रमशः थुप्रिँदै जान्छ, जसले यस्ता कोषहरूको पुनः सक्रियतालाई थप सहज बनाउँछ।
यस प्रक्रियामा प्रतिरक्षा प्रणालीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। स्वस्थ प्रतिरक्षा प्रणालीले सुप्त क्यान्सर कोषहरूलाई नियन्त्रणमा राखेर तिनीहरूको वृद्धि रोक्न सक्छ। तर उमेर, तनाव, रोग वा अन्य कारणले प्रतिरक्षा प्रणाली कमजोर हुँदा यो नियन्त्रण घट्न थाल्छ। एक पटक यो निगरानी कम भएपछि, निद्रित कोषहरू उम्किन सक्छन् र पुनः सक्रिय भई रोगलाई अघि बढाउन थाल्छन्।
सुप्त क्यान्सर कोषहरूलाई लक्षित गर्ने उपचारात्मक रणनीति
उपचारको दृष्टिले सुप्त क्यान्सर कोषहरू एक गम्भीर चुनौती हुन्, किनकि तिनीहरू अदृश्यजस्तै हुन्छन् र परम्परागत उपचारप्रति प्रायः प्रतिरोधी रहन्छन्। अहिलेका निदान विधिहरूले यस्ता दुर्लभ र विभाजन नगर्ने कोषहरूलाई सजिलै पत्ता लगाउन सक्दैनन् र तिनीहरूको सङ्ख्या अत्यन्त कम हुने भएकाले नमुना लिएर अध्ययन गर्न पनि कठिन हुन्छ। त्यसैले बिरामी ‘क्यान्सरमुक्त’ देखिन सक्छन् तर शरीरभित्र लुकेका यस्ता साना कोषहरूको समूह टाइम-बमझैँ मौन रूपमा टिक–टिक गरिरहेको हुन सक्छ।
यस्ता कोषहरूलाई लक्षित गर्न दुई प्रमुख उपचारात्मक रणनीतिहरू अवलम्बन गर्न सकिन्छ। पहिलो, तिनीहरूलाई सुप्त अवस्थाबाट बाहिर ल्याएर (जागृत गराएर) त्यसपछि उपलब्ध उपचार वा प्रतिरक्षा–आधारित उपायद्वारा नष्ट गर्ने। दोस्रो, ती कोषहरूलाई दीर्घकालीन रूपमा सुप्त अवस्थामै नियन्त्रणमा राख्ने, ताकि तिनीहरूले फेरि सक्रिय भई ट्युमर नबनाउन्।
तर दोस्रो रणनीतिसँग स्पष्ट जोखिम पनि जोडिएको छ। यसले क्यान्सरलाई पूर्ण रूपमा हटाउने होइन, बरु शरीरमा नियन्त्रित अवस्थामा थामेर राख्ने प्रयास मात्र गर्छ— जहाँ अनुकूल अवस्था पाउँदा यी कोषहरू फेरि सक्रिय हुन सक्ने ‘टाइम बम’ जस्तै रहन्छन्।
त्यसैले भविष्यका प्रयासहरू सुप्त क्यान्सर कोषहरूलाई लक्षित गर्दै रोगको पुनरावृत्ति (रिल्याप्स) रोक्न केन्द्रित हुनुपर्ने देखिन्छ। यसका लागि प्रतिरक्षा निगरानीलाई सुदृढ बनाउने, ट्युमर–सहयोगी सूक्ष्म वातावरणलाई लक्षित गर्ने, सूजनजस्ता ब्युँझाउने कारकहरूलाई नियन्त्रण गर्ने जस्ता रणनीतिहरू महत्त्वपूर्ण हुन्छन्। साथै, यी दुर्लभ कोषहरूको बारेमा अझ धेरै बुझ्न आवश्यक छ। त्यसैले यस्ता सुप्त कोषहरूलाई पहिचान गर्ने, अलग्याउने र तिनीहरूको जैविक कमजोरीको फाइदा उठाएर नष्ट गर्न सक्ने उन्नत निदान तथा उपचार प्रविधिहरू विकास गर्ने कुरामा विशेष जोड दिनुपर्ने देखिन्छ।
(लेखक डाना–फार्बर क्यान्सर इन्स्टिच्युट, हार्वर्ड विश्वविद्यालयमा कार्यरत क्यान्सर वैज्ञानिक हुन्।)